मुस्ताङको कागबेनी बस्ती नजिक देखियो दुर्लभ हिउँ चितुवा

मुस्ताङको कागबेनी बस्ती नजिक देखियो दुर्लभ हिउँ चितुवा
सुन्नुहोस्

जोमसोम : पछिल्लो समय हिमालकी रानीको उपमा पाएको दुर्लभ हिउँ चितुवा मुस्ताङका सडक तथा बस्ती नजिक देखिन थालेका छन्। चालु वर्षको वैशाख महिनामा मात्रै मुस्ताङका दुई स्थानमा हिउँ चितुवा सडक र बस्ती नजिक आएको देखे। 

मुस्ताङमा दुर्लभ हिउँचितुवा सार्वजनिक रुपमा देखिन थालेपछि स्थानीयबासीमा थप कौतूहलता बढ्दै जान थालेको हो। वैशाख ९ गते उपल्लो मुस्ताङको लोमान्थाङबाट जोमसोमतर्फ जीप यात्रा गर्दै गरेको अवस्थामा लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छिमी बिष्टले जोमसोम-कोरला सडकमार्गको समर खोला नजिकको सडकमै एकसाथ ४ वटा हिउँ चितुवा आफ्नै आँखाले प्रत्यक्ष देख्न भ्याइन्। 

त्यही मात्र होइन उपाध्यक्ष बिष्टले त्यस समय जीप भित्र बसेर आफूले देखेका हिउँ चितुवाको तस्बिर र भिडियो समेत खिचिन्। उनले उक्त हिउँ चितुवाको फोटो र भिडियो सामाजिक सञ्चालमा राखेपछि सामाजिक सञ्जाल प्रयोगकर्तामार्फत हिम चितुवाको फोटो र भिडियो भाइरल भयो।

यसैगरी शुक्रबार पनि हिमचितुवा बस्ती नजिक देखा परेको छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले एक वटा हिउँचितुवा वारागुङ मुक्तिक्षेत्र-४ कागबेनी श्राद्धस्थलको कालिगण्डकी नदी पारी बस्ती नजिक देखा परेको जानकारी दिए। ‘हिमालकी रानी हिउँ चितुवा कागबेनी गाउँ पारी बस्ती नजिक देखापर्‍यो, मैले त्यसको भिडियो समेत खिच्न भ्याए,’ स्वास्थ्य संयोजक बोहोराले भने,‘ टन्न अघाएको जस्तो देखिन्थ्यो, नजिकका पशु चौपायालाई केही क्षति नगरी देखिएको हिउँ चितुवा विस्तारै हिँडेर पहाडतीर उक्लियो।’

स्वास्थ्य संयोजक बोहोराले पनि मोबाइलबाट खिचेको हिउँ चितुवाको भिडियो सामग्री सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। उक्त भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। समुन्द्री सतहको ३ हजारदेखि ५ हजार मिटरको अग्लो उचाइको क्षेत्र हिउँ चितुवाको मुख्य वासस्थान हो। हिउँ चितुवा छेवैमा भएर पनि नदेखिनी जात हो। यो लुपुक्क बस्ने ,मानिसलाई छल्ने र मानिसलाई झुक्याउन सक्ने जात हो।

यसैका कारण मानिसले सहजै हिउँ चितुवा देख्न सक्ने अवस्था हुँदैन। उच्च हिमाली क्षेत्रमा दुर्लभ संख्यामा रहेका हिउँ चितुवाको मुख्य आहार नाउर नै हो। जैविक विविधता संरक्षण केन्द्र सौराहा चितवनको हिउँ चितुवा विज्ञ मधु छेत्रीले मुस्ताङको सडक तथा बस्तीमा हिउँ चितुवा देखा पर्नु अनौठो नभएको प्रतिक्रिया दिए। ‘हिउँ चितुवा पहिले पहिले पनि तल झर्थे, हामीले नदेखेर अनौठो लागेको हो,’ हिउँ चितुवा विज्ञ छेत्रीले भने,‘मुस्ताङमा सडक सञ्जाल सहज भएको र मानिसको आवतजावत बढेकाले हिमचितुवा बिरलै देख्न सकिन्छ।’


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.