मिल्स गोल्डकपको उपाधि एपीएफलाई

मिल्स गोल्डकपको उपाधि एपीएफलाई
सुन्नुहोस्

विराटनगर : विराटनगरमा शनिबार सम्पन्न चौथो मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले उचालेको छ। 

विराटनगर जुट मिल्सको खेल मैदानमा भएको अन्तिम स्पर्धामा पेमा युवा क्लब विराटनगरमाथि ३–१ गोल अन्तरको सहज जित निकाल्दै एपीएफ पकली सुनसरीले उपाधि रक्षा गरेको हो। खेलमा हाबी बनेर उपाधि कब्जा गरेको एपीएफले नगद २ लाख ११ हजार १ सय रुपैयाँ पुरस्कार पायो। उपविजेतामा खुम्चिएको पेमा १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाउन बाध्य भयो। 

जितको खुसी मनाइरहेको एपीएफले यसअघि २०७७ सालमा सम्पन्न प्रथम संस्करणको उपाधि पनि उचालेको थियो। त्यो प्रतियोगिताबाट पुरस्कारवापत १ लाख ५० हजार रुपैयाँ पाएर पनि जितलाई निरन्तरता दिन नसकिरहेको एपीएफ चौथो संस्करणको च्याम्पियन बनेर पुनः उदाएको छ। साइनो स्पोर्ट्स क्लब रानी मोरङलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै उसले पहिलो उपाधि कब्जा गरेको थियो। 

शनिबार एपीएफको जितमा भरत कपाली, दिसन राई र धनबहादुर श्रेष्ठले समान गोल गरे। सुरुवाती अग्रता जोगाउन नसक्दा स्तब्ध भएको पेमाका मिलन राईले गरेको गोल टिमलाई लक्ष्यमा पुग्न पर्याप्त भएन। मिलनले खेलको ११ औं मिनेटमै टिमलाई अगाडि बढाएका थिए। सुरज सुब्बाको क्रस पासको मद्दतबाट बललाई उनले पोस्टको दिशा दिएपछि एपीएफले दबाब महसुस गर्‍यो। 

तर, पेमाको खुसी २ मिनेट पनि टिक्न सकेन। १३ औं मिनेटमा भरत कपालीले एपीएफलाई खेलमा फर्काए। पेमाका गोलरक्षकबाट ‘रिबाउन्ड’ भएको बललाई भरतले ‘फ्रेम’भित्र पार्दा खेल बराबारीमा पुग्यो। मध्यान्तरसम्म १–१ गोलको बराबरी भयो। 

मध्यान्तरपछि आक्रामक बनेको एपीएफले ६० औं मिनेटमा अग्रता बनायो। एपीएफका हरि कार्कीले दिएको पासलाई सदुपयोग गर्दै दिसन राईले गोल गर्दा खेल २–१ को अवस्थामा पुग्यो। ७४ औं मिनेटमा धनबहादुर श्रेष्ठले गोल थपेर एपीएफको जित निश्चित गरे। दिसन राईको पासमा उनले गोल गरेका हुन्। 

‘फिनिसिङ’ कमजोर हुनु पेमाका लागि घातक बन्यो। बारम्बारको अवसर सदुपयोग गर्न नसक्दा हार स्वीकार्न बाध्य भयो। खेलको ‘प्लेयर अफ दी म्याच’ एपीएफका दिसन राई बने। प्रतियोगिताभर ३ गोल गरेका एपीएफकै हरि कार्कीले सर्वाधिक गोलकर्ताको पुरस्कार पाए। सर्वोत्कृष्ट गोलरक्षक एपीएफका सुजन विक र सर्वोत्कृष्ट खेलाडी पेमाका कोमल खवास घोषित भए। 

वैशाख ७ गतेदेखि सुरु भएको प्रतियोगितामा प्रदेश स्तरीय ‘ए’ डिभिजनका आठवटा टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए। विजेतालाई कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राई, नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेत, मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोल, गोल्डकपका संयोजक मनोज खड्का लगायतले पुरस्कार वितरण गरेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.