'डक्टर चुटेँ' भन्ने प्रहरी इन्स्पेक्टर निलम्वन

पोखरा : मणिपाल अस्पतालमा डाक्टर र बिरामीका आफन्तबिचको विवाद साम्य पार्न र शान्ति सुरक्षाका लागि खटिँदा भिड उक्साउने अभिव्यक्ति दिएका प्रहरी निरीक्षक 'इन्स्पेक्टर' मदन श्रेष्ठलाई नेपाल प्रहरीले निलम्वन गरेको छ।
अस्पतालमा सोमबार ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि उनका आफन्तले आक्रोश व्यक्त गरेका थिए। अस्पतालमै डक्टरहरुसँग उनीहरुको झडपको वातावरण बनेको थियो। दुवै पक्ष आक्रोशित बनेपछि सुरक्षाका लागि प्रहरी खटिएका थिए।
बिरामीका आफन्तहरूको भीडमा पुगेर प्रहरी निरीक्षक श्रेष्ठले डाक्टरहरूलाई आफूले साफ चुटेर आएको भनेर बोलेका थिए। भीडलाई सम्झाउनुको साटो झन् डक्टरहरूविरुद्ध उनले दिएको उत्तेजित अभिव्यक्ति सञ्चार माध्यममा भाइरल भएको छ। त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीले श्रेष्ठलाई निलम्वनको सिफारिस गरेको थियो। भीड नियन्त्रणका लागि खटाइएका अर्का डिएसपी वेद जोशीलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको छ। उनी वडा प्रहरी कार्यालय बैदामका प्रमुख हुन्।
डक्टर कुटेको आरोपमा पोखरा ५ का विनय गुरुङलाई प्रहरीले पक्रेको छ। उनलाई मंगलबार अदालतको अनुमति लिएर ७ दिनका लागि प्रहरीले थुनामा राखेको हो। तर मृतकका आफन्तहरूले भने चिकित्सकमाथि छानबिन र कारबाहीको माग जारी राखेका छन्। उनीहरूले बुधबार पोखराका मुख्य चोकहरूमा विरोध सभा र प्रदर्शनसमेत गरेका थिए।
उनीहरूले चिकित्सक हुँदैमा अभद्र व्यवहार गर्न नपाइने र घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने माग राखेका छन्। मणिपाल अस्पतालका चिकित्सकहरुले काम गर्ने वातावरण नभएको भन्दै सेवा सुचारु गरेका छैनन्। उक्त अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामी पनि कतिपय अन्त गएका छन् भने कतिपय घर फर्किएका छन्।
प्रतिक्रिया दिनुहोस !
