चार्वाक दर्शनको चारू वाक्

चार्वाक दर्शनको चारू वाक्

चार्वाकको वैचारिक भावधारा भन्छ– दुःख छ र त सुखको महत्तव छ। दुःख छ र त सुख खोजिन्छ। दुःख छ र त त्यसको निराकरणका लागि परिश्रम गरिन्छ। दुःख छ र त आनन्दको साधन खोजिन्छ।

ईश्वर छैन। परलोक छैन। आत्मा छैन र परमात्मा पनि छैन। चार्वाक अर्थात् शुद्ध भौतिकवाद। चार्वाक अर्थात् निक्खर देहवाद। चार्वाक परापूर्वकालदेखि नै समानान्तर रूपमा लोकमा प्रचलित नास्तिक विचारधारा हो। यसलाई लोकायत दर्शन पनि भनिन्छ। लोकायतको तात्पर्य हो लोकको हितमा ध्यान दिने विचारधारा।

प्रत्यक्षलाई मात्र मान्ने हुँदा यो प्रत्यक्षवाद पनि हो। यस दर्शनले आँखाले देखेर, कानले सुनेर, नाकले सुँघेर, हातले छामेर र जिब्रोले चाखेर अनुभव गरेको कुरालाई मात्र सत्य मान्छ। चार्वाकको अभिमतअनुसार ‘इन्द्रिय नै ज्ञानको माध्यम हो। मृत्यु नै मोक्ष हो। वेद धूर्तहरूको रचना हो।’

विवेक र तर्कमा आधारित हुँदा यसलाई विवेकवाद पनि भनिन्छ।

जीवनलाई महŒव दिने हुँदा यो जीवनवाद हो। सुखलाई प्राथमिकता दिने हुँदा सुखवाद पनि। संस्कृतमा एउटा लोकोक्ति छ– ‘वरमद्य कपोतः श्वो मयूरात’ अर्थात्् भोलिको काल्पनिक मयूरभन्दा आज हातमा रहेको परेवा मूल्यवान् हुन्छ। यसरी वर्तमानलाई विश्वास गर्ने हुँदा यो वर्तमानवाद पनि हो।

वास्तविक र तथ्यगत यथार्थलाई मान्ने हुँदा यो यथार्थवाद हो। अनुभवमा आधारित ज्ञानमा विश्वास गर्ने हुँदा यसलाई अनुभववाद भने पनि हुन्छ। लोकले मन पराउने कुरा गर्ने हुँदा यो लोकायत हो। चार्वाक शब्द चर्व धातुबाट बनेको मानिन्छ। चर्वको अर्थ हो चबाउनु। अध्यात्म, ईश्वर, आत्मा, परमात्मा, स्वर्ग, नरक, पाप र पुण्य सबैलाई चबाएर निलेको हुँदा यसलाई चार्वाक भनिएको हो। अर्को अर्थमा यो चारु वाक् अर्थात् सुन्दर वचन हो। मधुर, मनोहर, रमणीय र मनपर्दाे।

पण्डितले पुराण भन्दै जाँदा जब संगीत, मदिरा, प्रेम, अनुराग र नाचगान आदिको कुरा सुनाउन थाल्छन्, तबमात्र श्रोताहरू रमाउँछन्। लौकिक जीवनसँग जोडिएका कुरा कर्णप्रिय हुन्छन्। यस्ता कुरा सर्वसाधारणले सहज रूपमा बुझ्छन्। स्वर्ग, नरक, आत्मा, परमात्मा, पाप, पुण्य, आदि कुरा सुन्दा श्रोतालाई उराठ लाग्छ। अधिकांश श्रोता निदाउन थाल्छन्। लोकले मधुरता चाहन्छ। रसिलो र मिठो वचन चाहन्छ। जीवनोपयोगी कुरा मन पराउँछ।

लोकायत दर्शन रहस्यवादबाट टाढा छ। संयोगले पाएको जीवन हो। यो नश्वर शरीरलाई सकभर सुख देऊ। प्राचीन लोकोक्ति भन्छ, ‘शरीरमाद्यं खलु धर्म साधनम्’ (शरीर नै सबै कर्मको साधन हो।) बितेको शरीर फेरि फर्केर आउने होइन। म¥यो कि सबै सकियो। कताको स्वर्ग, कताको नरक ? कताको आत्मा र कताको परमात्मा ? शरीर नै आत्मा हो। शरीरलाई बलियो र स्वस्थ राख।

स्वर्ग पनि यहीँ, नर्क पनि यहीँ। मरेका बाआमालाई कथित स्वर्ग पठाउने भन्दै पाखण्ड गर्नुको अर्थ छैन। जीवित मातापितालाई यहीँ स्वर्गीय सुख देऊ। मर्नेलाई श्राद्ध होइन, जिउँदालाई श्रद्धाको दरकार छ। मिठो खाऔं, मधुर गाऔं, मनोहर नृत्य गरौं र रमाऔं। समाजमा सबै मिलेर बसौं। वर्ण, जात, ठूलो, सानो सबै झुटो हो। हामी जे जस्तो छौं स्वीकार गरौं। पूर्वीय दर्शनको दृष्टिमा यो संसार दुःखको महासागर हो।

वेदान्तीहरूले यो सागरबाट पार पाउने उपाय मोक्षलाई माने। उनीहरूले भनेको मोक्ष प्राप्त गर्न अनेकौं कष्ट गर्नुपर्छ। किन्तु चार्वाकले सुझाएको बाटो सहज छ। जब मृत्यु नै मोक्ष हो भने अनेक झन्झट गरेर एकबारको जुनीलाई किन दुःखमय बनाउने ?

जो व्यतीत भयो, त्यो अतीत भयो।

चार्वाक दर्शनले वेद मान्दैन। संयोगले पाएको नश्वर जीवनमा बुद्धिवाद र अलौकिक ज्ञानको खोजीमा को लागोस् ? बरु काम गर, कमाइ गर, खाऊ र आनन्द उठाऊ। चार्वाक धर्म, अर्थ काम र मोक्षसमेत चार पुरुषार्थमध्ये अर्थ र कामलाई मात्र अपनाउने सल्लाह दिन्छ। चार्वाकले आजको दुःखलाई पूर्वजन्मको फल मान्दैन। परलोक नै छैन भने त्यहाँ जाने पाथेय (बाटोखर्च) पो किन चाहियो ? यो जगत्को कोही निर्माता छैन, कोही सृष्टिकर्ता छैन। पदार्थको संयोजनबाट बनेको (अकस्मात भूति) यो जगत्बारे धेरै खोजखबर किन चाहियो ?

आस्तिक बरु सन्देहमा हुन सक्छ, किन्तु लोकायत आफ्नो विश्वासमा सन्देहरहित हुन्छ। परापूर्वकालमै पनि आस्तिकहरू लोकायतहरूबाट परपर जान्थे। कतै मधुर वाणीले मोहनी लगाएर आफूतिर तान्ला कि भन्ने डर। कतै भ्रम टुट्ला कि भन्ने डर। कतै अभक्ष खुवाउला कि भन्ने डर। लोकायतले आस्तिकलाई आक्रमण गरेको अभिलेख छैन। बरु उनीहरू सुमधुर वाणीको माध्यमबाट सम्झाउने प्रयत्न गर्दथे। उनीहरू चारु वाक् अर्थात् रुचिकर लाग्ने शब्द बोल्दथे। उनीहरू निकै वाग्मी र मिजासिला थिए।

स्वामी विवेकानन्दले लेखेका छन्, ‘चार्वाकहरू काशी विश्वनाथको दर्शन गर्न पंक्तिबद्ध धर्मभीरुहरूको छेउमा उभिएर भन्ने गर्थे, त्यो पत्थरको मूर्तिलाई ढोगेर के पाउँछौ ?’ लोकायतहरू नास्तिक थिए, तर अनैतिक थिएनन्। उनीहरू कदाचारी र भ्रष्ट भएको भए प्राचीन कालदेखि आजसम्म टिकिरहन सक्ने थिएनन्। साधारण जनतामा उनीहरूको विचारधाराको प्रभाव गहिरो थियो। चार्वाक निन्दा पनि चारू वाणीमा गर्थे।

चार्वाक उदार हुन्छ। उसले कुनै आस्तिकलाई आक्रमण गर्दैन। मस्जिद र मन्दिर भत्काएर आतंक मच्चाउँदैन। भत्काउने र हिर्काउने जिम्मेवारी त आस्तिकहरूले राम्रैसँग वहन गरिरहेका छन्। चार्वाकले कसैको धर्म परिवर्तन गराउँदैन। परापूर्व समयमा पनि उनीहरू कुनै धर्मभीरुलाई घृणा गर्दैनथे, बरु मूर्ख सम्झेर मनमनै दया गर्थे। उनीहरूको नैतिक दृष्टिकोण गहिरो थियो। युद्ध र हिंसाका विरोधी थिए। मिलीजुली बसौं, बाँडीचुँडी खाऔं। सापटी लिऔं अनि सापटी दिऔं। उनीहरूको त्यही नैतिक आदर्शलाई लिएर बनाइएको कहावत हो, ‘यावज्जीवेत सुखं जीवेद्ऋणं कृत्वा घृतं पिवेत, भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः।’ उनीहरूले हिंसाका कुरा गरेनन्। बरु घिउको कुरा गरे, तर हत्याको कुरा गरेनन्।

चार्वाकको वैचारिक भावधारा भन्छ– दुःख छ र त सुखको महŒव छ। दुःख छ र त सुख खोजिन्छ। दुःख छ र त त्यसको निराकरणका लागि परिश्रम गरिन्छ। दुःख छ र त जीवनमा आनन्दको साधन खोजिन्छ। दुःख सुखी जीवनको तगारो हो। त्यो अवरोधलाई पन्छाउने यत्न गर्नुपर्छ। तथाकथित स्वर्ग पुग्ने हेतुले फजुलमा पैसा खर्च गर्नुको प्रयोजन छैन। कथित मोक्षको साधन खोजेर फेला पर्दैन। परन्तु जीवन र जगतलाई सुखी पार्ने साधन खोज्यो भने अवश्य भेटिन्छ।

चार्वाकको मौलिक दर्शन भेटिएको छैन। जति लेखिएको छ, विरोधीहरूको अभिमतको आधारमा मात्र। उपहास गर्दागर्दै पनि विरोधीहरूले लोकायतबारे धेरै कुरा भनेका छन्। सातौं शताब्दीमा वृहस्पति नामका विचारक थिए। वृहस्पतिले भनेका थिए, ‘भाववाद होइन, देहवाद सत्य हो।’ उनको मौलिक दर्शन सायद पुरानो हुनाले कालक्रममा विलीन भएको हुन सक्छ। विरोधीको आक्रमणमा परेको पनि हुन सक्छ।

चार्वाक वृहस्पतिका चेला र प्रसिद्ध अनिश्वरवादी आचार्य थिए भन्ने भनाइ पनि छ। तर वास्तवमा चार्वाक व्यक्ति नभएर विचार हो। लोकायतहरू अनैतिक र भ्रष्ट थिएनन्। उनीहरू निर्दयी र करुणाहीन पनि थिएनन्। परन्तु विरोधीहरूले उनीहरूलाई मरेपछि स्याल भएर जन्मनेछन् भनेर उपहास गरेको पाइन्छ। तर पुनर्जन्ममा विश्वासै नगर्नेलाई त्यस्तो श्रापको के अर्थ।

कठोपनिषद्मा नचिकेताले यमराजलाई सोध्छन्, ‘येयं प्रेते विचिकित्सा मनुष्येऽस्तीत्येके नायमस्तीति चैके। एतद्विद्यामनुशिष्टस्त्वयाहं वराणामेष वरस्तृतीयः।’ अर्थात््– ‘कोही भन्छन्, मृत्युपश्चात पनि आत्मा जीवितै रहन्छ। कोही भन्छन्, मृत्यु भएपछि सकियो। म तपाईंबाट तथ्य कुरा जान्न चाहन्छु।’ त्यो प्रश्नमा यमराज ‘हो यस विषयमा पहिल्यैदेखि देवताहरूले समेत सन्देह गर्दै आएका हुन्। यो अत्यन्त सूक्ष्म विषय हो।’ भनेर टार्न खोज्दछन्। तर नाचिकेता रहस्य जानेरै छाड्नेमा अड्डी लिइरहन्छन्। यसबाट के स्पष्ट हुन्छ भने त्यस बखतमा पनि अनात्मवादको ठूलो प्रभाव रहेछ।
राजा दशरथको दरबारमा जावाली भन्ने मन्त्री थिए। रामले वनगमन गरेपछि भरत बाटोबाटै फर्काउने प्रयत्न गर्न भनेर गए। भरतले जति नै कोसिस गर्दा पनि रामले फर्कन इन्कार गरिरहे। त्यसपछि ऋषि जावालीले पनि रामलाई सम्झाउन थाले। उनले राजा दशरथ दिवंगत भइसकेको हुँदा उनको जीवनकालमा गरेको प्रतिज्ञाभन्दा लोकहित ज्यादा महŒवपूर्ण हुने बताए। अन्य धेरै कुराका साथै उनले यो पनि भनेका थिए, ‘अष्टकापितृदेवत्यमित्ययं प्रसृतो जनः। अन्नस्योपद्रवं पश्य मृतो हि किमशिष्यति। यदि भुक्तमिहान्येन देहमन्यस्य गच्छति। दद्यात् प्रवसतां श्राद्धं तत्पथ्यमशनं भवेत्।’ अर्थात््– ‘यहाँ दिएको पिण्डपानी उहाँको देहले कसरी पाउँछ ? यदि त्यसो हो भने त परदेश गएको मानिसको लागि सजिलो हुनेभयो। यहाँ श्राद्ध गरिदियो, उहाँ उसको पेट भरियो।’

यस्ता कुरा गरेबापत रामले जावालीलाई निन्दा गरे। जावाली पनि आफू परिस्थितिअनुसार कहिले आस्तिक र कहिले नास्तिक हुने गरेको कुरा बताएर उम्कन खोजे। यति हुँदा पनि रामले जावालीलाई कारबाही गरेनन्। रामलाई थाहा थियो, समाजमा लोकायतहरूको संख्या ठूलो छ। रामले बरु वर्जित साधना गरेर आस्तिक बन्न खोज्ने शम्बुकलाई मारे, तर नास्तिक ब्राह्मण जावालीलाई केही पनि गरेनन्। हलो, कोदालो, किलाकाँटा, भाँडाकुँडा, बाजा, लुगा, जुत्ता आदि बनाउने र खेतीपाती एवं मजदुरी गर्ने मानिस प्रायः लोकायती नै थिए। यस्ता शिल्पी र श्रमजीवीहरूलाई कारबाही गरेर कसरी निर्वाह गर्ने ?

महाभारतको महासमर जिते तापनि युधिष्ठिरको शिर ठाडो थिएन। जसरी युद्ध सुरु हुनुअघि अर्जुन विषादयुक्त भएका थिए, त्यस्तै हालत युद्धपछि युधिष्ठिरको भयो। युधिष्ठिर त वनतिर जान्छु भन्दै थिए, परन्तु सबैले कर गरेर राजकाजमा सरिक हुन राजी गराए। दरबारमा युधिष्ठिरको अभिनन्दन गर्न ब्राह्मणहरूको ठूलो समूह तम्तयार भएर बसेको थियो।

त्यसबीचमा चार्वाक ब्राह्मण उठेर बोल्छन्, ‘हे कुन्तिनन्दन् ! तिमी भाइबन्धुका हत्यारा हौ। तिमी दुष्ट हौ। तिमीलाई धिक्कार छ।’ त्यो सुनेर युधिष्ठिर स्तब्ध भए। अन्य ब्राह्मणहरूले ‘यो त दुर्याेधनको मित्र हो’ भनेर चार्वाकलाई मारिदिए। चार्वाक त्यहाँ एक्लै थिए। उनी पाण्डवहरू विजयी भएर आएका छन् र आस्तिक मतका अनुयायी हुन् भन्ने पनि जान्दथे। तर उनी डराएनन्। चार्वाक युद्धविरोधी जनमतका प्रतिनिधि पात्र हुन्।

पश्चिममा पनि ‘धार्मिक’हरू विज्ञानविरोधी नै थिए। ग्यालिलियोले सौरमण्डलको केन्द्रबिन्दु पृथ्वी नभई सूर्य हो भनेबापत गोता खानुप¥यो। वैज्ञानिक कार्यका लागि उता पनि चर्चको अवरोध नै रह्यो। तथापि पाश्चात्य मानिसहरू खोज र आविष्कारमा लागिरहे। पश्चिमले खोज्न थाल्यो भने पूर्व सोच्नमा मात्र मग्न भयो। हाम्रो शास्त्रले कलियुगमा समुद्रयात्रा वर्जित गरिदियो। उता पश्चिमाहरू सुखका साधन खोज्न समुद्रयात्रामा निस्के। हामी जातपात र छुवाछूतमा लाग्यौं। उनीहरू औद्योगिक क्रान्तिमा लागे। उनीहरू अन्वेषण र अनुसन्धानतर्फ लागे। हामी कन्दरातिर लाग्यौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.