ज्ञानका अन्वेषक मणि अर्थात् चक्रपाणि

ज्ञानका अन्वेषक मणि अर्थात् चक्रपाणि

अनेक प्रतिभा आआफ्ना क्षेत्रमा सक्रियतापूर्वक जुटेका छन्। यसैमा खोजमूलक एवम् विद्वत्तापूर्ण वाङ्मयिक साधना र उपलब्धिका कारण राष्ट्रव्यापी रूपमा समस्त नेपालीका माझ चर्चित र प्रतिष्ठित बन्न पुगेका अन्वेषक एवं प्राज्ञ ज्ञानमणि नेपालका बारेमा चर्चा गरिँदै छ। यद्यपि आफ्नो पुख्र्यौली मूल घर भोजपुर, सिक्तेल हुँदाहुँदै पनि प्रसंगवश मामाघर खोटाङ, पुराना गाउँमा १९८९ सालको श्रीपञ्चमीका दिन जन्मन पुगेका ज्ञानमणि नेपालको न्वारनको नाम चक्रपाणि हो।

पूर्वी नेपालको भोजपुर शैक्षिक, साहित्यिक, सामाजिक, सांस्कृतिक गतिविधिको अग्रसरताका कारण चर्चित जिल्ला/क्षेत्र हो। बालागुरु षडानन्दले बालेको शिक्षाको ज्योति तथा प्रखर क्रान्तिचेतयुक्त नारी योगमायाले चालेको सुधारवादी कदमका कारण अनि राष्ट्रिय हतियारको मान्यता पाएको सिरुपाते खुकुरीको निर्माण जस्ता टड्कारा सन्दर्भले भोजपुरलाई पूर्वी नेपालको उल्लेखनीय जिल्लाको पहिचान दिनेगरेका छन्। फलस्वरूप त्यस क्षेत्रमा साहित्य, कला, संस्कृतिका सृजना र अनुसन्धानका पक्षमा विगत लामो समयदेखि प्रभावकारी कार्यहरू हुँदैआएका छन्।

उनी पिता पं.भानुभक्त नेपाल तथा माता अम्बिकादेवी (अन्नपूर्णादेवी) नेपालका प्रथम सन्तान हुन्। जेठी आमाको प्रसूति व्यथाका कारण घरमा निधन भएको हुनाले पुनः त्यस्तो घटना नदोहोरियोस् भन्नाका खातिर उनकी आमालाई माइतीमा पठाइएको थियो। एउटी बहिनी जन्मिएपछि वि.सं.२००० मा आमाको पनि निधन हुनगयो अनि किशोरावस्थामा उनी मातृविहीन बन्नपुगे। समयक्रममा कान्छी आमा विष्णुमायाबाट ५ छोरा र २ छोरी जन्मिएपछि ८ जना भाइबहिनीका आदरणीय दाजुको प्रतिष्ठासहित उनको जीवनको सुखद समय व्यतीत हुँदै गयो। 

ज्ञानमणि नेपालको पढाइ पाँच वर्षकै कलिलो उमेरदेखि प्रारम्भ भएको थियो। आफ्नो घर परिवेश सिक्तेल, बतासेमै रहेर उनले पहिला किताब, रुद्री, चण्डी, भानुभक्तीय रामायण अनि आफ्ना पितामह वैयाकरण नेपालका रचना पढ्न थाले। आठ वर्ष लाग्नासाथ उनको व्रतबन्ध गरियो र तत्पश्चात् दाजु पं. वासुदेवसँग उनले वेद, लघुकौमुदी, अमरकोश, चाणक्यनीति दर्पण र हितोपदेश मित्रलाभ पढे।

अनि पछि गोगने पाठशालामा गएर गुरु पं.जयदेव अधिकारीसँग मध्यकौमुदी, रघुवंश, श्रुतबोध, तर्कसंग्रह जस्ता विषयको पढाइ पूरा गरे। त्यसपछि उच्च अध्ययनका लागि काठमाडौं जाने कि काशी (बनारस) जाने भन्ने प्रसंगमा घरसल्लाह हुँदा काठमाडौं जाने तय भएपछि पिताजीले पं. लक्ष्मीप्रसाद पोखरेलका साथ लगाएर पाठशाला र अन्य क्षेत्रको अन्नपानी नखानू, तीर्थको दान नलिनू भनेर सल्लाह दिएका थिए भने हजुरआमा पद्मादेवी नेपालले सबै कुरामा सानैदेखि सचेत गराउँदै जीवनमा अगि बढ्न प्रेरणा दिएकी थिइन्।

काठमाडौं आएपछि ज्ञानमणिका सामु तीन ओटा विकल्प देखापरे– रानीपोखरी संस्कृत प्रधान पाठशालामा भर्ना भएर पढ्ने कि शेषराज गुरुसँग पढेर चाँडै परीक्षा उत्तीर्ण हुने अथवा नयराज पन्त गुरुसँग परीक्षा नदिने पद्धतिको अष्टाध्यायी पढाइ गर्ने ? यस परिस्थतिमा पाठशालाको पढाइ सन्तोषजनक नरहेको सूचना आफूलाई प्राप्त भएको अनि दोस्रो विकल्प छान्न लक्ष्मीप्रसादको अनुमति हुँदाहुँदै पनि निजको आफ्नै छोरो भने नयराज गुरुकहाँ पढ्दैगरेको बुझिएकाले र अष्टाध्यायी नपढी संस्कृत व्याकरणमा पारङ्गत हुन नसकिने यथार्थता बुझेपछि केही दिनको चिन्तनपश्चात् उनले तेस्रो विकल्प रोजे र गुुरुकुलीय पद्धतिअनुसार आफ्नो ज्ञान क्षितिजलाई फराकिलो बनाउँदै लगे।

नयराज गुरुकहाँ मूलतः चार पुस्तक अष्टाध्यायी, अमरकोश, रघुवंश र भट्टिकाव्य तथा हर्षचरित, संस्कृतका अन्य काव्यनाटकका एकसय पुस्तक अनि इतिहास र भूगोल पनि पढ्नुपथ्र्यो। इतिहास विषयमा मूल स्रोत पहिल्याएर गुणदोष परीक्षण गरी सत्यासत्य जाँचेर पढ्नेपढाउने चलन थियो। खाली समयमा आफूभन्दा तल्लो तहका विद्यार्थीहरूलाई पनि पढाउनुपथ्र्यो। यसरी दिनको ७–८ घण्टा परिश्रमपूर्वक खट्नुपथ्र्यो। उनले आफ्नो अध्ययन–अध्यापनलाई सहजतासाथ उपलब्धिमूलक बनाएर अगि बढाए। आठ वर्षसम्म नियमित रूपमा पढेर सकिएपछि उनी घर फर्किए।

ज्ञानमणि नेपालको पहिलो विवाह ९ वर्षमै पं. धु्रवलाल खतिवडाकी छोरी लक्ष्मीदेवीसँग भएको थियो। परन्तु २००५ सालमा लक्ष्मीदेवीको असामयिक निधन हुनपुग्यो। पछि लक्ष्मीप्रसाद पोखरेलकी छोरी जयन्तीदेवीसँग उनको दोस्रो विवाह भएको थियो। तत्पश्चात् जन्मेका ५ छोरामध्ये पहिलो र कान्छो शिशु अवस्थामै तथा काइँलो (स्यमन्तमणि) बाल्यकालमा परलोक भएपछि धर्मपत्नी जयन्तीदेवी तथा दुई छोरा (सन्तोषमणि र शेखरमणि) साथ रहेको अवस्थामा अढाई दशकअगि धर्मपत्नी जयन्तीदेवीको निधन (२०५५) पश्चात् उनी एकाकी जीवनमा प्रवेश गर्न बाध्य भए र छोराबुहारीको हेरचाहमा रहे। उनको स्थायी बसोवास काठमाडौंको कलंकीमा रहेको थियो। 

आफ्नो अध्ययनकार्य समाप्त गरेपश्चात् उनलाई समाजसेवा, शिक्षासेवा, अनुसन्धान र इतिहास विषयमा रुचि बढ्नगयो। भोजपुर फर्किएपछि उनले बतासेमा संस्कृत पाठशाला स्थापना गरे र आठ वर्ष पढाए। समाज सुधारका पक्षमा चेतना छरे। तर तत्कालीन ग्रामीण परिवेशमा चेतनाको प्रचार, प्रसार गर्नेहरूले अनेक आरोप र सजाय खेप्नुपथ्र्यो। केही वर्षपश्चात् त्यस भेगमा सञ्चालित सबै संस्कृत पाठशाला बन्द गरिए। अनेक झन्झट, झमेला आइलागे। उनले गाउँमा बसेर आफ्नो प्राज्ञिक उन्नयन हुन नसक्ने बुझे र अन्ततः काठमाडौं आए। भोजपुरमा रहँदा अनुसन्धानमा केन्द्रित हुने लक्ष्य राखी नेपाल इतिहास विकास समिति नामको संस्था खोलेर पनि उनी क्रियाशील बनेका थिए। 

काठमाडौं आएपछि आफ्ना अनुसन्धान र लेखनका गतिविधिलाई तीव्रता दिए। प्रारम्भमा उनी कविता रचनामा पनि रुचि राख्थे। भोजपुरमै रहँदा केही कृतिहरू प्रकाशनमा ल्याउने काम गरेका थिए। आफ्नो राष्ट्रको सम्झना (१ र २) रचना र प्रकाशन तथा भोजपुरका आफ्ना पितामहलगायतका अन्य प्रतिभाहरूको खोजी गरी रचना सङ्कलन, सम्पादन र प्रकाशन गरेका थिए। पछि काठमाडौंमा पनि आफ्ना पूर्ववत् कार्यलाई निरन्तरता दिइरहे। राष्ट्रको सम्झना (२०२४) मा प्रयुक्त लोकलयको कविताको सन्देशमूलक नमुना यस प्रकार छ : 
नेपाली भाइ ! नेपालको सानो गर्दछु बयान 
ध्यानले सुन, मनले गुन पुर्खाको बखान। 
ती हाम्रा पुर्खा थिए रे कस्ता ? यी हामी कस्ता छौं 
हामीले अब हुनुछ कस्तो के गरे सप्रन्छौं ? 
यो सब गुनी देशको छिटो गर्नुछ उद्धार 
ठुलो छ काम, थाम्नु छ नाम, राख है विचार। 

कविले कवितामार्फत् आफ्नो राष्ट्रप्रेमी व्यक्तित्वको चिनारी दिएका छन्। उनले आफ्नो अध्ययनको परिवेश र प्राप्तिलाई मेरो गुरुकुलीय शिक्षा र सहपाठी (२०५४) शीर्षकको ग्रन्थमा सविस्तार वर्णन गरेका छन्। उनले विद्या वा शिक्षाको महत्त्व तथा राष्ट्रिय प्रवृत्ति बारे यस्तो विचार प्रस्तुत गरेका छन्– ‘विद्याको महत्त्वको अभाव, राष्ट्रिय जागरणको कमी, योग्यताको कदर गर्ने प्रवृत्ति विपरीत चाकडी र चापलुसी बढेको कुरा अत्यन्त दुःखदायक छ।

स्वतन्त्र सार्वभौम सत्तासम्पन्न देशका लागि नसुहाउँदो दास मनोवृत्तिको प्रभाव, धनका लागि कर्तव्याकर्तव्यको र विवेकको अभाव देख्दा विचलित बन्नुपर्दछ। विनाआत्मबल, विनाविद्याबल देशको चारित्रिक विकास, आध्यात्मिक तथा भौतिक उत्थान असम्भव छन्। राष्ट्रिय शिक्षाको उन्नति भएर नागरिक मनोबल नउठी राष्ट्रिय जागरण नआई देशको उत्थान हुनैसक्दैन (कौशिकादि सन्तति, २०४५)।’

नेपाली वाङ्मय जगत्मा निरन्तर क्रियाशील रहेका ज्ञानमणि नेपाल नेपाली इतिहास, संस्कृति, भाषा, साहित्य र समाजशास्त्र क्षेत्रका विशिष्ट एवं बहुआयामिक व्यक्तित्व हुन्। उनले आजीवन गरेको यस पक्षको सेवाका मुख्यतः पाँच क्षेत्र छन् – सृजना/लेखन, अनुसन्धान, सम्पादन, अनुवाद र प्रतिभा उत्थान/उत्खनन।
अन्वेषक ज्ञानमणि नेपालको जीवनको लामो समय अनुसन्धान र लेखनमै बित्यो। उनले कविताकाव्य (थोरै), खोजअनुसन्धानमूलक लेखरचना/ग्रन्थ (बहुल) र संस्मरण लेखे। जस्तै : 

  • १. नेपालको प्राचीन इतिहासमा नयाँ प्रकाश (२०१९)
  • २. राष्ट्रको सम्झना (१ र२) (२०२४)
  • ३. मही रावणबध नाटक विवेचनात्मक अध्ययन (२०४०) 
  • ४. नेपाल निरुक्त (२०४०)
  • ५. नेपाल सुखिम सम्बन्ध (२०४३) 
  • ६. पशुपतिनाथको दर्शनस्पर्शनपूजन सम्बन्धमा समीक्षा (२०४३) 
  • ७. नेपाल भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष (२०४५) 
  • ८. नेपालको महाभारत (२०५०) 
  • ९. मेरो गुरुकुलीय शिक्षा र सहपाठी (२०५४) 
  • १०. नेपाल निरुपण (२०५५) 
  • ११. नेपाली साहित्यमा आदिकविको समस्या (२०५९) 
  • १२. नेपालको माध्यमिक कालको इतिहास (२०६२)
  • १३. अतीतका स्मृति र अनुभूति (२०६५) 
  • १४. गणतन्त्रदेखि लोकतन्त्रसम्म (२०६७) 
  • १५. संघीयताको समस्या र समीक्षा (२०६८) आदि।

ज्ञानमणि नेपालले सम्पादन तथा अनुवादका क्षेत्रमा पनि प्रशस्त कार्य गरेका छन्। प्रथमतः आफ्ना पितामह बहुमुखी प्रतिभा पं. वैयाकरण नेपाल (१९१२–१९७९) का सृजनाहरू गाउँसमाजमा पढिने, सुनाउने प्रचलन थियो। ती प्रकाशनमा आएका थिएनन्। नाति जन्मनुभन्दा एक दशकअगि नै हजुरबाको देहावसान भइसकेको थियो। उनले हजुरबालाई भेट्न पाएनन् परन्तु हजुरआमाको प्रभाव र प्रेरणाले हजुरबाका रचना पढ्ने अवसर सानैदेखि प्राप्त गरेका हुनाले काठमाडौंमा पढाइ सकेर भोजपुर फर्किएपछि रचना संकलन, सम्पादन गरी पुस्तक प्रकाशन गरे। पं. वैयाकरण रचित कृतिहरू यस प्रकार छन् : 

  • १. पुराना कविता (२०१८)
  • २. किष्किन्धाकाण्ड र पुण्य शिक्षा (२०३४)
  • ३. वैयाकरण ग्रन्थावली (२०७०)
  • अन्य स्रष्टाका रचनाहरू सम्पादन/अनुवाद यस प्रकार गरेका छन् :  
  • १. वनका फूल (कवि र काव्य, २०२५)
  • २. सङ्गीत लहरी (२०२५)
  • ३. बेताल पच्चीसी (२०५७) 
  • ४. हेमराज शर्मा : उनका कृति र समीक्षा (२०५७) 
  • ५. पृथ्वीन्द्रोदय महाकाव्य (२०६८) 
  • ६. भैरवानन्द नाटक (अनुवाद) आदि। 

ज्ञानमणि नेपालले अन्य स्रष्टासँग मिलेर सहलेखन पनि गरेका छन्। जस्तै :

  • १. कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या (२००९)
  • २. इतिहास संशोधन (१–५) (२००६–१२) 
  • ३. ऐतिहासिक पत्रसङ्ग्रह (व्याख्यासहित) (२०१४) 
  • ४. जयरत्नाकर नाटक (अनुवाद) (२०१४) आदि। 

अन्वेषक ज्ञानमणि नेपालको वाङ्मयिक योगदान ऐतिहासिक दृष्टिले अत्यन्त उपलब्धिमूलक र स्मरणीय रहेको पाइन्छ। विविध सन्दर्भका प्रकाशित ग्रन्थहरूले पनि सङ्ख्यात्मक, गुणात्मक र ऐतिहासिक योगदानको पुष्टि गरेका छन्। नेपालको प्राचीन इतिहासमा नयाँ प्रकाश, नेपाल निरुक्त, नेपालको महाभारत, नेपाल निरुपण जस्ता ग्रन्थले नेपालको इतिहासका विविध पाटाहरूलाई सप्रमाण प्रकाश पार्ने काम गरेका छन्। उपर्युक्त ग्रन्थहरूका अतिरिक्त असंख्य अनुसन्धानात्मक र विचारप्रधान लेखरचनाहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भए। 

  • सत्यतथ्य इतिहासको खोज गरी त्यसलाई आधिकारिकता प्रदान गर्नु ज्ञानमणि नेपालको इतिहासकार व्यक्तित्वको मूल वैशिष्ट्य हो। उनले आफ्ना प्रतिभाशाली पितामहको सृजनालाई एकीकृत गरी प्रकाशनमा ल्याएर व्यक्तित्व र कृतित्वको प्रचारप्रसार प्रशंसनीय रूपमा गरे।
  • एउटा कर्मशील/साधनाशील प्राज्ञिक व्यक्तित्वको उचाइ प्राप्त गरेका ज्ञानमणि नेपालको बहुपक्षीय योगदानले नेपाल र नेपालीलाई ठुलो गुन लगाएको छ। अतः उनले देखाएको बाटोमा निरन्तर अग्रसर रहेर आफ्नो जातीय, वाङ्मयिक, सांस्कृतिक गौरव, गरिमा र सभ्यतालाई संरक्षण र विकसित गर्दै उन्नतिशील बन्नु आजको आवश्यकता हो।
  • कुनै पनि विषय–सन्दर्भमा आफूलाई लागेका वा यथार्थ कुरालाई निर्धक्कसाथ प्रस्तुत गर्ने स्वभाव ज्ञानमणि नेपालमा थियो। त्यसो हुनाले नेपाली इतिहास, साहित्य, समाज, संस्कृति, राज्यशासन व्यवस्था वा मानवीय व्यवहारका पक्षमा खुलेर आफ्नो दृष्टिकोण राख्न सक्ने निर्भीक र स्पष्टवादी व्यक्ति भएकै कारण धेरैले आधिकारिक कुरा जान्नबुझ्न उनीसित सम्पर्क राख्नेगर्थे।
  • खोजअनुसन्धानलाई मूल अभीष्ट बनाएर जीवन उत्सर्ग गर्ने ज्ञानमणि नेपाल (१९८९–२०८१) लामो समयसम्म त्रिवि नेपाल र एसियाली अनुसन्धान केन्द्रमा सेवारत भए।

सत्यतथ्य इतिहासको खोज गरी त्यसलाई आधिकारिकता प्रदान गर्नु ज्ञानमणि नेपालको इतिहासकार व्यक्तित्वको मूल वैशिष्ट्य हो। उनले आफ्ना प्रतिभाशाली पितामहको सृजनालाई एकीकृत गरी प्रकाशनमा ल्याएर व्यक्तित्व र कृतित्वको प्रचारप्रसार प्रशंसनीय रूपमा गरे। अनि पितामहकै स्मृति र कीर्तिलाई अक्षुण्ण राख्न २०६७ मा वैयाकरण स्मृति प्रतिष्ठान तथा वैयाकरण पुरस्कार स्थापना गरी संस्थापक अध्यक्ष/संरक्षक बनेर संस्थागत नेतृत्व गरिरहे।

महाकाव्यकार भुवनहरि सिग्देलले सृजना गरेको वैयाकरण महाकाव्य’ (२०७०) यसै प्रतिष्ठानले प्रकाशनमा ल्याएको छ। तसर्थ वैयाकरणको व्यक्तित्व–कृतित्वको उत्थानमा ज्ञानमणि नेपालको अहम् भूमिका रह्यो। यस चिरस्मरणीय सत्कार्यबाट एकातिर उनले पितृऋणबाट उऋण हुने सर्वाेत्तम मार्ग अवलम्बन गरे भने अर्कातर्फ सबैलाई यसतर्फ गम्भीरतापूर्वक सोच्न र प्रवृत्त हुन मार्गनिर्देश गरे। वैयाकरण ग्रन्थावली (२०७०) मा वैयाकरणका तपसिलका रचना संकलित छन् :

  • १) रामायण किष्किन्धाकाण्ड,
  • २) शालिहोत्र – अश्वगुणदोषनिरुपण,
  • ३) तरकारीकल्प,
  • ४) टक्सारवर्णन,
  • ५) लङ्कावर्णन,
  • ६) विराट्वर्णन र
  • ७) व्रतमाला– पुण्यशिक्षा। 

आफ्ना पितामहका रचना संकलन तथा प्रेरणास्रोत बारेमा ज्ञानमणि नेपालले उक्त ग्रन्थमा यसो भनेका छन् : ‘वैयाकरण बितेका धेरै वर्षपछि मेरो जन्म भएकाले वैयाकरणसँग मेरो प्रत्यक्ष सम्बन्ध हुनसकेन। उनीसँग सम्बन्ध भएका मानिसका मुखबाट सुनेका भरबाट कलम चलाउनुपरेको छ। ...मानिसलाई(ले?) कुनै ठूलो काम गर्न कसैबाट प्रेरणा पाएको हुन्छ। भानुभक्तलाई पनि पूर्ववर्ती कविहरूद्वारा प्रेरणा मिल्यो होला। उनलाई अरूले नाम कमाएको देख्ता आफूलाई पनि कीर्ति कमाउने अभिलाषा पैदा भयो हो (होला?)। यति सत्य मान्नैपर्छ। वैयाकरणलाई पनि उदयानन्द, भानुभक्त जस्ता पूर्ववर्ती कविहरूका काव्यले घचघच्यायो (पृष्ठ : १३०–१३२)।’

 पं. उदयानन्द अज्र्यालरचित पृथ्वीन्द्रोदय महाकाव्यको उत्खननमा अनुसन्धाता ज्ञानमणि नेपालको सर्वोपरि भूमिका रहेको छ। जसरी युवाकवि मोतीराम भट्टले भानुभक्तलाई भेटे, चिनाए, चर्चित बनाए र आदिकविको उपाधि दिए त्यसै गरी ज्ञानमणि नेपालले नेपाली कविता परम्परामा नामोल्लेखसम्म भएका प्रतिभाशाली स्रष्टा पं. उदयानन्द अज्र्याल (१८१२–१८९४) को पृथ्वीन्द्रोदय महाकाव्यको पाण्डुलिपि फेला पारी सम्पादन, विस्तृत व्याख्या र समीक्षासहित प्रकाशन (२०६८) मा ल्याएर उनलाई आदिमहाकविका रूपमा परिचित र प्रतिष्ठापित गराए। यसबाट नेपाली महाकाव्यको इतिहास निकै अगाडि पुग्यो। यो महाकाव्य राष्ट्रनिर्माता पृथ्वीनारायण शाह र उनको एकीकरण अभियानको काव्यिक वर्णनमा आधारित छ। यसले नेपाली प्राथमिक कविताको वीरधाराकालमै महाकाव्य रचिएको पुष्टि गरेको छ। अनि उनको नेपाली साहित्यमा आदिकविको समस्या शीर्षकको ग्रन्थमा भानुभक्तको आदिकवित्व बारे विमर्श गरिएको छ।

धेरै नेपाली समालोचक, अन्वेषकका अवधारणा दिएर भानुभक्त आदिकवि नभएको पुष्टि गरिएको छ। पृथ्वीन्द्रोदय महाकाव्यमा १३ प्रकरण (सर्ग) तथा विभिन्न शास्त्रीय छन्दका कुल ८४२ श्लोक रहेका छन्। यो नेपाली भाषाको प्रथम महाकाव्य हो जो वीररसमा आधारित छ। यस महाकाव्यका बारेमा अन्वेषक/सम्पादक ज्ञानमणि नेपालको टिप्पणी यस्तो रहेको छ : ‘...उदयानन्दको यो एक अद्भुत कार्य थियो। ...उनले त नेपाली भाषा नै काव्यको भाषा रोजे, तात्कालिक अवस्थामा त्यस जागरण युगमा त्यस नेपाली परिवेशमा अत्यन्त आवश्यक महसुस भइरहेको एकताको उद्घोषलाई जनजनमा पुर्‍याउने लक्ष्य लिएर आफ्नो माटोमा जन्मेका, जन्मभूमिलाई नै समुन्नत, समृद्ध, शान्त, विशाल बनाउन कम्मर कसेका वीर पुरुषार्थी पुरुषलाई धीरोदात्त नायक बनाई यस्तो ऐतिहासिक महाकाव्यको रचना गरे। ...यति विस्तारसँग नेपाली विषय, नेपाली नायक, नेपाली परिवेश, नेपालको एकीकरणको विवरण नेपाली वीरहरूकै शौर्यवीर्य गाथा गाइएको एक मात्र मौलिक आदिकाव्य यो हो (पृथ्वीन्द्रोदय, पृष्ठ : ४५४)।’

साथै उदयानन्दकृत पूर्वप्रकाशित बेताल पच्चीसी खण्डकाव्य पनि बनारसका प्रकाशकले लेखकको नाम हटाई आफ्नो बनाएको सन्दर्भको सत्यतथ्य पत्तो लगाएर उदयानन्दको नाममा उक्त काव्य पुनः प्रकाशन गरेको तथ्यले ज्ञानमणि नेपालको योगदान अझ उजागर हुनपुग्छ।
खोजअनुसन्धानलाई मूल अभीष्ट बनाएर जीवन उत्सर्ग गर्ने ज्ञानमणि नेपाल (१९८९–२०८१) लामो समयसम्म त्रिवि नेपाल र एसियाली अनुसन्धान केन्द्रमा सेवारत भए। अध्ययन, अनुसन्धानलाई निरन्तरता दिएर प्रशस्त कृतिहरू निर्माण गरे। पछि नेपाल प्रज्ञाप्रतिष्ठानका परिषद् सदस्य/प्राज्ञ पनि बने। एकातर्फ बाल्यावस्थामा मातृविहीन हुनुपरेको असीम पीडा, सोही परिवेशमा प्रथम पत्नीको वियोग, पुत्रवियोग, प्रौढावस्थामा पुनः पत्नीवियोग, ठाहिँली बुहारी कमला नेपाल (२०७८) तथा माहिला भाइ टङ्कमणि नेपाल २०८०)को असामयिक दुःखद निधनबाट उत्पन्न शोकसन्ताप अनि पटकपटकका व्यावहारिक एवम् शारीरिक प्रतिकूलता र अप्ठ्याराहरूलाई सहेर/पचाएर उनी निरन्तर साधनारत भइरहे र नेपाली वाङ्मय जगत्मा अमूल्य उपहार प्रदान गरिरहे।

जस्तोसुकै जटिल परिस्थितिमा पनि उनले आफ्नो धर्म र कर्मलाई छोडेनन्, महानताको पथमा चलिरहे। नेपाली समाज/समुदायले उनको सर्वोपरि योगदानको समुचित कदर/सम्मान गर्ने प्रयत्न पनि गरिरह्यो। उनले जीवनकालमा विभिन्न सम्मान/पुरस्कार प्राप्त गरे। जस्तै : उदयानन्द पुरस्कार (२०४८), इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मान (२०५२), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५९), नयराज पन्त स्मृति पुरस्कार (२०६१), जानकी चन्द्रप्रभा पुरस्कार (२०६२), दण्डपाणि अज्र्याल स्मृति पुरस्कार (२०६३), प्रज्ञा इतिहास पुरस्कार (२०६९)लगायत अनेक पुरस्कार र सम्मानबाट उनी सम्मानीत भए। यस सन्दर्भबाट उनको जीवन अत्यन्त सफल र सार्थक तथा सबैका लागि अनन्य प्रेरणादायी बन्न पुगेको प्रमाणित हुन्छ।

कुनै पनि विषयसन्दर्भमा आफूलाई लागेका वा यथार्थ कुरालाई निर्धक्कसाथ प्रस्तुत गर्ने स्वभाव ज्ञानमणि नेपालमा थियो। त्यसो हुनाले नेपाली इतिहास, साहित्य, समाज, संस्कृति, राज्यशासन व्यवस्था वा मानवीय व्यवहारका पक्षमा खुलेर आफ्नो दृष्टिकोण राख्न सक्ने निर्भीक र स्पष्टवादी व्यक्ति भएकै 
कारण धेरैले आधिकारिक कुरा जान्नबुझ्न उनीसित सम्पर्क राख्नेगर्थे। सबैसित सरल, सहज र सहृदयी व्यवहार गर्ने प्रवृत्ति उनमा थियो।

एउटा कर्मशील/साधनाशील प्राज्ञिक व्यक्तित्वको उचाइ प्राप्त गरेका ज्ञानमणि नेपालको बहुपक्षीय योगदानले नेपाल र नेपालीलाई ठुलो गुन लगाएको छ। अतः उनले देखाएको बाटोमा निरन्तर अग्रसर रहेर आफ्नो जातीय, वाङ्मयिक, सांस्कृतिक गौरव, गरिमा र सभ्यतालाई संरक्षण र विकसित गर्दै उन्नतिशील बन्नु नै उनीप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.