पात्रलाई जीवन्त बनाउने सरिता

पात्रलाई जीवन्त बनाउने सरिता

अभिनयको साक्षात् प्रतिमूर्ति, सिंगो नेपाली कला क्षेत्रले गर्वसाथ लिने नाम हो, सरिता लामिछाने। जीवन्त अभिनयका कारण देशको ठूलो पंक्तिलाई सम्मोहित गर्न सफल सरिताको अभिनय यात्रा २०५६ सालबाट सुरु भएको हो।

नेपाली टेलिभिजनमा प्रसारण हुने टेलिसिरियलमध्ये सबैभन्दा लोकप्रिय सिरियलहरू उनकै खातामा छन्। ‘परिचय’, ‘मुक्ति’, ‘सपनाको महल’, ‘माइती’, ‘चाहना मनको’, ‘गहना’, ‘दुई दिनको जिन्दगानी’, ‘दृष्टि’, ‘भूमिका’जस्ता सिरियलमा काम गरेकी सरितालाई अभिनयप्रतिको समर्पण, निरन्तरता, साधना, मेहनत अनि इमान्दारिताले नै सफल अभिनेत्रीका रूपमा स्थापित गराएको हो।

एउटा कलाकारले कुनै पात्रलाई तब मात्र न्याय गर्न सक्छ, जब उसले त्यो पात्रलाई गहिरोसँग बुझेको हुन्छ। सरिता आफूले अभिनय गर्ने हरेक पात्रमा डुब्ने गर्छिन्। उनी भन्छिन्– ‘पात्रको ब्याक स्टोरी, मनोदशा, पारिवारिक तथा सामाजिक सम्बन्ध, भविष्यको लक्ष्यजस्ता कुराले उसको हाउभाउ तथा शैली निर्धारण गर्न सहज हुन्छ।’ सायद दर्शकले पर्दामा नदेखे पनि सरिताले अफ द क्यामरा गर्ने यस्तो मेहनतले नै उनले निभाएका पात्रमा प्राण भर्न सफल छिन्।

एक अर्थमा भन्ने हो भने सरिताले अभिनयमा सिंगो नवरस नै घुलाइदिन्छिन्। त्यसैले त उनले गरेको अभिनय हेर्दा उनी हुन् भन्ने नै लाग्दैन, त्यहाँ त उनले अभिनय गरेको पात्र नै प्रतिबिम्बित भइरहेको हुन्छ। एउटा कलाकारका लागि सबैभन्दा ठूलो सफलता नै कुनै पनि पात्रमा आफू नभई सोही पात्र नै देखिनु हो। यस अर्थमा पनि सरिता सफल कलाकार हुन्।

सरिताको अभिनयमा गाउँका झुप्राझुप्रादेखि सहरका चम्किला दृश्यहरूको प्रतिबिम्ब पाइन्छ। नेपाल भौगोलिक विविधताको देश हो। जहाँ जहाँ टेलिभिजन पुगेको छ, ती सबै भूभागमा सरिता पुगेकी छन् भन्दा अन्यथा हुँदैन। उनले पर्दामा कयौं जीवन जिएकी छन्। कहिले छोरी, कहिले बुहारी, कहिले नन्द, अमाजू त कहिले आमा, यस्तै यस्तै।।।।

यतिमात्र होइन, विभिन्न भाव र संवेगका जीवनहरू दुरुस्तै उतारेकी छन्। कहिले सुखी त कहिले दुःखी जीवन जिएकी छन्। विभिन्न भूगोलको प्रतिबिम्ब आफ्नै अभिनयमा देखाएकी छन्। यसैले त उनी हरेक वर्ग, उमेर र समुदायका दर्शकमाझ उत्तिकै लोकप्रिय छन् उनी।

वास्तवमै उनको अभिनयमा आममानिसको मर्म, दुःख, सुख, खुसी र जिन्दगानी भेटिन्छ। त्यसैले त जुनसुकै परिस्थितिका दर्शकले पनि उनको अभिनयलाई रुचाएको पाइन्छ। टेलिसिरियलबाट चर्चा र सफलता पाए पनि सरितालाई यसमा मात्र सीमित राख्न मिल्दैन। उनी फिचर चलचित्रमा पनि उत्तिकै सफल अभिनेत्रीका रूपमा परिचय बनाउन सफल छन्। संख्यात्मक रूपमा कम चलचित्रमा काम गरे पनि उनले गुणात्मक चलचित्रमा काम गरेकी छन्।

‘सन्तानको माया’, ‘श्रीमान् श्रीमती’, ‘हबल्दार सुन्तली’, ‘मंगलम्’, ‘फिङ्गर प्रिन्ट’, ‘म’, ‘सीता’जस्ता चलचित्रमा काम गरेकी सरिता गुणात्मक चलचित्रमा काम गर्न रुचि राख्छिन्। त्यसो त सरिताका लागि चलचित्रमा काम गर्ने समय नै कहाँ मिल्यो र १ टेलिसिरियलमा उनको माग यति थियो कि उनले चाहेर पनि अन्य टेलिसिरियल र चलचित्रको अफरलाई स्वीकार्न सकिनन्।

सरिताको अभिनयले आमदर्शकको भावनालाई यसरी स्पर्श गरेको थियो कि उनी अभिनीत ‘परिचय’, ‘मुक्ति’, ‘गहना’जस्ता सिरियल प्रसारण हुँदा उक्त टेलिभिजनको टीआरपी नै ‘हाई’ हुने गरेको थियो। सरिता आफ्नो अभिनय क्षमताका कारण आफूमात्र चर्चित बनिनन्, सिंगो सिरियल नै चर्चित हुन पुग्थ्यो। सिरियल हिट हुँदा त्यसमा आबद्ध कलाकार तथा प्राविधिक सबैको चर्चा हुन्थ्यो। यसैले सरितालाई टेलिभिजन सिरियलको ब्रान्डभन्दा अन्यथा हुँदैन।

सरिताले जति चर्चा पाइन्, त्यही रूपमा सम्मान तथा पुरस्कार पनि पाइन्। घरभरि सजाएर राखेका सम्मान तथा पुरस्कार हेर्दा उनी यसले आफूलाई काम गर्न उत्साह थप्ने मात्र नभई अझ बढी जिम्मेवार पनि बनाउने गरेको बताउँछिन्। अभिनय यात्रामा अब उनले पाउन बाँकी सायदै कुनै सम्मान होला। सरिताले ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०२२’, ‘बक्स अफिस टेलिफिल्म अवार्ड २०२१’, ‘नेपाल सर्ट फिल्म अवार्ड २०२३’ जस्ता अवार्ड तथा पुरस्कार प्राप्त गरेकी छन्।

त्यसो त सरिता जति कुशल अभिनेत्री हुन्, त्यत्ति नै कुशल नेतृत्वकर्ता पनि हुन्। सरिताले कलाकारहरूको छाता संस्था चलचित्र कलाकार संघ, नेपालको महासचिवका रूपमा संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेकी छन्। सामाजिक कार्यमा पनि उत्तिकैै सक्रिय सरिता कहिले रक्तदान गर्दै गर्दा भेटिन्छिन् त कहिले वृक्षरोपण। बालआश्रम होस् वा वृद्धाश्रम, मीठोमसिनो खुसी साट्न उनी पुगेकै हुन्छिन्।

अभिनयमा भविष्य बनाउन चाहनेहरूका लागि प्रेरणा बनिरहेकी सरिताले आफूले जानेबुझेको अभिनयको ज्ञानलाई नयाँ पुस्तामाझ साट्दै कयौं कलाकारलाई अभिनयको प्रशिक्षणसमेत दिएकी छन्। एभरेस्ट फिल्म एकेडेमी, कान्तिपुर फिल्म एकेडेमीलगायत कयौं इन्स्टिच्युटमा उनले अतिथि प्रशिक्षकका रूपमा प्रशिक्षण गराउँदै आएकी छन्।

अभिनयको गुरुका रूपमा समेत स्थापित भइसकेकी सरितामा रहेको अभिनयको विशिष्ट ज्ञानका कारण उनी थुप्रै अवार्ड तथा सौन्दर्य प्रतियोगितामा निर्णायकका रूपमा समेत रहिसकेकी छन्। उनले ‘मिसेस नेपाल वल्र्ड २०२३’, ‘मिसेस नेपाल इन्टरनेसनल २०१५’, ‘नेसनल फिल्म अवार्ड २०१५’, ‘नेफ्टा अवार्ड २०१६’, ‘नेपाल आर्मी सर्ट फिल्म प्रतियोगिता’ लगायतका प्रतियोगितामा निर्णायक भई काम गरेकी छन्।

२५ वर्षे अभिनय यात्रा तय गर्दै गर्दा पनि सरिताका पाइलाहरू लर्खराएका छैनन्। न त उनी अभिनयबाट थाकेकी छन्। नयाँ पुस्ताको जोशसँग अनुभव मिसाउँदै काँधमा काँध मिलाएर उनी निरन्तर अभिनयमा जुटेकी छन्। थुप्रै चर्चित कमर्सियलहरूमा समेत अभिनय गरेकी उनले एक दर्जनभन्दा बढी छोटा चलचित्रमा समेत काम गरेकी छन्।

‘प्रवासी जीवन’, ‘मकैको खोसेलो’, ‘पहिलो कदम’, ‘चासो’जस्ता ‘सर्ट फिल्म’मा समेत काम गरेकी सरिता हाल मिलन चाम्सको निर्देशनमा फिचर चलचित्र ‘वर एन्ड वधू’ को छायांकनमा व्यस्त छिन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.