नेपालीले कोरियामा सिकेको सीप स्वदेशमा उपयोग गर्न सक्छन्

नेपालीले कोरियामा सिकेको सीप स्वदेशमा उपयोग गर्न सक्छन्

राज्यले ठूला लगानीलाई प्राथमिकतामा राखेको छ। एकद्वार प्रणाली लागू गरिएको छ। लगानी बोर्ड पनि छ तर, साना लगानीकर्तालाई बेवास्ता गरिएको छ।

तपाईं कोरिया बस्न लागेको तीन दशक पूरा भएछ। त्यहाँको र यहाँको विकासलाई कसरी हेर्नुभएको छ ?

कोरियामा तीन दशक अवधिमा धेरै रुपान्तरण भएको छ। देश निकै विकसित भएको छ। कोरिया धेरै रूपले अघि बढेको छ। तर, नेपाल जहाँको तहीँ छ। विकासमा अघि बढ्न सकेको छैन। राजनीतिक खिचातानी र अस्थिरताका कारण नेपालले प्रगति गर्न नसकेको हो। 

कोरियाबाट हामीले के सिक्न सक्छौं ? त्यहाँको विकास मोडेल कसरी नेपालमा ल्याउन सकिन्छ ?

कोरियाबाट हामीले धेरै सिक्न सक्छौं। त्यहाँको पर्यटन क्षेत्र राम्रो छ। विकास निर्माणमा उल्लेख्य प्रगति भएको छ। नेपालको राजनीतिमा स्थायित्व आउन सके रूपान्तरण सम्भव छ। पर्यटनकै माध्यमबाट देशको रूपान्तरण गर्न सकिन्छ। त्यसतर्फ राज्यले ध्यान दिन अत्यावश्यक भइसकेको छ। 

तर, नेपालको पूर्वाधारमा विकास हुन सकेन। खिचातानीमै रुमलिएको स्थिति छ। कसरी यसबाट पार पाउन सकिएला ?

कोरोनाअघि कोरियाबाट नेपालमा धेरै पर्यटक आउने गरेका थिए। कोरोनापछिको ट्रेन्ड हेर्दा ठ्याक्कै रोकिएको अवस्था छ। कोरियन एयरलाइन्सको फ्लाइट छ, एउटा मात्र निजी क्षेत्रको फ्लाइट हुँदा असर पुगेको छ। ईपीएसमा जानेहरू महिनामा २/३ हजार जना हुन्छन्। दशौं हजार व्यक्ति त कोरिया जान फ्लाइटको पर्खाइमा छन्। सातामा तीन फ्लाइट हुन्छ। प्रत्येक फ्लाइटमा ८० प्रतिशत ईपीएसले ओगट्छ। सबै सिट होल्ड छ। 

महँगो भएकाले पर्यटक नेपाल आउन मान्दैनन्। नेपाल आउने योजना बनाएका पनि अन्यत्र सिफ्ट हुन थालेका छन्। जबकि, ६ सय डलरमा जान पाउने अवसर हुँदाहुँदै दोब्बर तिर्नुपर्ने बाध्यकारी व्यवस्था गरियो। त्यही १२ सय डलरको कारणले हाम्रो टुरिजम सकिने भयो। एयरलाइन्सलाई तिर्नुपर्ने शुल्कले अरु देश घुमेर आउन पुग्छ भन्दै कोरियनहरू सिंगापुर, मलेसिया, युरोपलगायत देशमा जान थालेका छन्। नेपालमा पर्यटक ल्याउन कठिन भएको छ। 

नेपाल एयरलाइन्सका फ्लाइट पनि हुन जरुरी छ। त्यसो भएमा प्रतिस्पर्धा हुन्छ, कोरियन पनि रेट परिमार्जन गर्न बाध्य हुन्छन्। ईपीएसमा आफ्नो हिसाबले जताबाट गए पनि हुन्छ भनेर छोडिदिने हो भने सस्तो टिकटमा जान पाउँछन्। अरु एयरलाइन्सले ५ सय डलरमा लगिदिन्छन्। यात्रु भएकाले उसले नघटाएको हो। भाडा घटेमा पर्यटक बढ्छन्। 

तपाईं पर्यटन व्यवसायी पनि हुनुहुन्छ। पर्यटनबाटै छलाङ मार्न राज्यले के कुरामा ध्यान दिनुपर्छ ? निजी क्षेत्रले कसरी काम गर्न सक्छन् ?

पर्यटन क्षेत्रलाई आमूल परिवर्तन गर्न सरकारले योजना बनाउनुपर्छ। पूरानो सोचाइ बोकेका कर्मचारी र मन्त्रीबाट रुपान्तरण संभव छैन। पर्यटनको आमूल परिवर्तन गर्न विशेषज्ञबाट सल्लाहअनुसार अघि बढ्ने हो भने परिवर्तन संभव छ। मुलुकले २–४ वर्षमा मजाले फड्को मार्न सक्छ। फास्ट ट्रयाक, रेल मात्र नभई पर्यटनमै जोड दिनुपर्छ। एकैचोटी केही गर्न नसकिए पनि पर्यटनलाई प्राथमिकता दिए छिटो लाभ लिन सकिन्छ।

सुविधाजनक रुट बनाइदिने हो भने ६ महिनामै परिवर्तन आउँछ। गोजीमा पैसा बोकेर खर्च गर्ने ठाउँ नपाएर धेरै व्यक्ति त्यतिकै बसेका छन्। सजिलोसँग आउने वातावरण र यहाँ खर्च गर्ने अवसर दिनुपर्छ। नेपाल एयरलाइन्स (आरए) ले २ प्लेन मात्रै लिएर हुँदैन। उसले पाँच बोइङ ल्याएर चलाउनुपर्छ। आरएले २ प्लेन मात्रै चलाउँदा न उसका २ सय कर्मचारीको धान्न सक्छ न उसले सस्तोमा पर्यटक नै ल्याउन सक्छ। सरकार बारम्बार परिर्वतन हुन्छ। देशको फाइदाका लागि भन्दा पनि पार्टी र व्यक्तिगत लाभमा सबै लागिरहेका छन्। 

हाम्रो त देश बनोस् भन्ने चाहना मात्रै हो। म कोरियाको मानार्थ नागरिक पनि हुँ। पहिलो नागरिकता पाउने नेपाली हुँ। त्यहाँ धेरै कदर भएको छ। तर, आफ्नै देशमा हुँदैन। हरियो पासपोर्ट लिएर लाइन लाग्नुपर्दा पीडा हुन्छ। हरियो पासपोर्ट फाल्ने पनि छन्। कर्म अर्को देशमा गरे पनि जन्म यहीँ देशले दिएको हो। त्यहाँको पासपोर्टले २ सय देश घुम्न सक्ने भए पनि यहाँकै पासपोर्ट बोकेको छु। 

तपाईंले पर्यटनदूत भएर पनि काम गर्नुभएको छ। नेपाललाई पर्यटनका रूपमा चिनाउन के भूमिका खेल्नुभयो ?

म २३ वर्षदेखि पर्यटनदूत भएर काम गरिरहेको छु। म जोडिएपछि अरू कोही जोडिनुभएको छैन। म पनि टाडिएको छैन। तर, नेपालको पर्यटन विकासका लागि राज्यले उच्च प्राथमिकता दिन नसकेको अनुभव गरेको छु। पर्यटन क्षेत्रमा साना–साना काम गर्न सक्दा पनि पर्यटक भिœयाउन सकिने आधार छ। तर, राज्यले पर्यटनको अथाहा संभावना भएको क्षेत्रमा पर्यटक बढाउन आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थपनमा ध्यान दिन सकेको छैन। 

लगानीको वातावरण बनाउन राज्यले के–के कुरामा ध्यान दिनुपर्छ ?

राज्यले ठूला लगानीलाई प्राथमिकतामा राखेको छ। एकद्वार प्रणाली लागू गरिएको छ। लगानी बोर्ड पनि छ तर, साना लगानीकर्तालाई बेवास्ता गरिएको छ। लगानीबोर्डभन्दा तल्लो निकाय गठन गर्न आवश्यक छ। एक लाख डलरको किन नहोस्, लगानी गर्न आउँछु भन्ने मान्छेलाई लगानीसम्बन्धी एउटै निकायले सबै काम गर्ने हो भने अहिले पनि लगानी आउन सक्छ। यो भएन, त्यो भएन, वर्षमा यति ल्याउनुपर्ने, दुःख दिने गरिन्छ र फर्काइन्छ। पहिला लोडसेडिङका कारण फर्केर जान्थे। पूर्वाधारमा विशेष ध्यान दिनुपर्छ। ऊर्जा र पूर्वाधार चाहिन्छ। आइटी हब बनाउन सकिन्छ। विकसित देशमा पैसा फालाफाल छ। बैंकले एक प्रतिशत मात्र ब्याज दिन्छ। यहाँ १५ प्रतिशत पाउँदा उता अचम्म मान्छन्। यहाँ उत्पादन हुनुप¥यो। रोजगारी थपिनु प¥योे। 

कोरियाली रोजगारीलाई कसरी हेर्नुभएको छ, अर्थतन्त्रमा यसले के प्रभाव पारेको छ ?

धेरै राम्रो प्रभाव परेको छ। यहाँ बेरोजगार बस्ने, गल्फ र मलेसियामा २५/३० हजार रुपैयाँ कमाउनुको साटो चार लाख रुपैयाँसम्म कमाउने नेपाली कोरियामा छन्। ५ वर्ष बसेर सिकेको सीप यहाँ उपयोग गर्न सक्छन्। धेरै कुराले कोरिया राम्रो गन्तव्य मुलुकमा पर्छ। त्यहाँ सिकेर आएका नेपालीलाई राज्यले बाटो देखाउन सकेको छैन। केही अवसर लिन र सिक्नका लागि जाने हो। फर्केका मान्छेलाई उत्पादनमूलक क्षेत्रमा लगाउन सके आम्दानी बढ्ने हुन्छ।  

  • महँगो भएकाले पर्यटक नेपाल आउन मान्दैनन्। नेपाल आउने योजना बनाएका पनि अन्यत्र सिफ्ट हुन थालेका छन्। जबकि, ६ सय डलरमा जान पाउने अवसर हुँदाहुँदै दोब्बर तिर्नुपर्ने बाध्यकारी व्यवस्था गरियो। त्यही १२ सय डलरको कारणले हाम्रो टुरिजम सकिने भयो। 
  •  हाम्रो त देश बनोस् भन्ने चाहना मात्रै हो। कोरियामा धेरै कदर भएको छ। तर, आफ्नै देशमा हुँदैन। हरियो पासपोर्ट लिएर लाइन लाग्नुपर्दा पीडा हुन्छ। हरियो पासपोर्ट फाल्ने पनि छन्। कर्म अर्को देशमा गरे पनि जन्म यहीँ देशले दिएको हो। त्यहाँको पासपोर्टले २ सय देश घुम्न सक्ने भए पनि यहाँकै पासपोर्ट बोकेको छु। 
  • खाडी र मलेसियामा २५–३० हजार रुपैयाँ कमाउनुको साटो चार लाख रुपैयाँसम्म कमाउने नेपाली कोरियामा छन्। धेरै कुराले कोरिया राम्रो गन्तव्य मुलुकमा पर्छ। त्यहाँ सिकेर आएका नेपालीलाई राज्यले बाटो देखाउन सकेको छैन। 

यहाँ व्यवसाय गर्न सिकाउनुपर्छ। वातावरण दिनुपर्छ। ५ वर्षमा पोख्त भइसकेको हुन्छ। लगानी पनि गर्न सक्छ। सहज व्यवस्था भएमा कम्पनीले पनि लगानी गर्न सक्छ। तर, राज्यले बाटो देखाउनुपर्छ। विशुद्ध लगानी गर्ने वातावरण यहाँ बनेको छैन। विदेशी आएर यहाँ लगानी गर्न सक्ने स्थिति झनै छैन। संयुक्त लगानी गर्दा पनि निकै झन्झट छ। सहज व्यवस्था भए अर्बाै लगानी हामी ल्याउन सक्छौं। 

एनआरएन अभियानमा डलरखाता खोल्ने, लगानी ल्याउने अभियान सुरु भयो। तर, केही पनि भएन नि ?

व्यापारिक क्षेत्रमा लागेका व्यक्तिले दुई प्रतिशत ब्याजको लोभमा नेपालको बैंकमा डलर जम्मा गर्दैन। हामीले अवसर हेर्ने हो। ब्याज खोज्ने होइन। रिक्स लिन नसक्ने ब्यक्तिले ब्याज खाएर बस्नलाई त्यो उचित होला। लगानी गरेर कमाउने हो। डलर खाता राख्नुभन्दा जग्गा किनेर छोड्दा डबल हुन्छ। 

यहाँ लगानीको अवसर नै नभएको हो त? 
ब्याज भनेको पैसा फ्रिज हुने विषय हो। रियल स्टेटमा लगानी गर्दा डबल/त्रिपल कमाइन्छ। ब्याज खाने ६० वर्षभन्दा माथिको, केही पनि गर्न रिक्स नलिनेका लागि हो।
 
एनआरएनएमा तीन अध्यक्ष छन्, अर्कै छुट्टै एनआरएन संगठन पनि देखिन्छ, यस्तो किन भयो ?

म एनआरएनए कोरियाको संस्थापक अध्यक्ष हो। सन् २००३ मा एनआरएनए बन्यो। सन् २००५ मा कोरियाले भाग लिएको छ। यसका  ८/१० वटा राष्ट्रिय समन्वय समितिमध्ये कोरिया अग्रभागमै आउँछ। एकताका एनआरएनएले राम्रो इमेज बनाएको थियो। राजनीतिक, आर्थिक, जनमानसमा राम्रो आशा जगाएको थियो। भूकम्प पछाडि एनआरएनएमा पनि विकृति सुरु भयो। खरिद बिक्री सुरु भयो।

नेपाल राम्रो बनाउन अभियान सुरु गरिएको थियो। तर, विकृतिबाट मुक्त हुन सकिएन। जुन बाटोमा हिँड्नुपथ्र्यो, देशले आशा गरेको थियो अहिले ट्रयाक छोडिसकेको छ। अब एनआरएनए पुरानो अभियानमा फर्किनुपर्छ। एनआरएनए हुँ भन्न पनि लाज लाग्ने अवस्था आउन लाग्यो। ८० लाख प्रतिनिधिको संस्थामा एउटा संस्थामा ३/४ जना अध्यक्ष भनेर नाटक देखाइएको छ। यहाँको राजनीति भन्दा एनआरएनएमा फरक भएन। यसले बाटो बिराएको छ। गल्ती नसुधारेसम्म एनआरएनए अभियानको इमेज सप्रिँदैन। संस्था उद्देश्य विमुख भयो। 

अब ६ महिनापछि चुनाव हुँदै छ। यस्तै गन्जागोल रहिरहला कि पुरानै इमेजमा फर्किन सक्ला ?
जुँगाको लडाइका कारण एनआरएन विमुख भएको हो। हामी संस्थापन अभियानकर्ता भएकाले दावाका साथ भन्न सकिन्छ। ८६ देशमा बनेको सञ्जाल ठूलो शक्ति हो। विचलित बनाइयो। लज्जाबोध गर्नुपर्छ। केही गरौं भन्ने मान्छे छोडेर हिँड्छन्। राष्ट्र नपुगेको ठाउँमा एनआरएनए पुगेको छ। तर, पछिल्लो समयमा उद्देश्यबाट विमुख भएकाले म पनि ५ वर्षदेखि अभियानबाट बाहिरिएको छु। 

च्यारिटी सोमा तपाईं पनि जोडिनुभएको छ, एनआरएनएले पनि गर्दै आएको छ। विदेशमा बस्ने नेपालीले नेपाालको लागि के गर्न सक्छन् ?
म तेह्रथुमा जन्मिएँ, ताप्लेजुङमा हुर्किएँ र झापामा पढें। आइएनजिओले पैसा संकलन गर्ने, केही पैसा बाढ्ने तर ठूलो पैसा संस्था चलाउँदा खर्च गरेर सक्छन्। च्यारिटी भन्ने, संस्था सञ्चालनमै खर्च गर्ने गर्नुभएन। तर, मैले शतप्रतिशत लगानी पु¥याउन म पढेको स्कुल झापाको भद्रकाली माविमा कम्प्युटर दिएर सुरु गरेँ। त्यति बेलासम्म स्कुलमा कम्प्युटर थिएन। कतिपयलाई इमेलबारे पनि जानकारी थिएन।

पीडादायी अनुभूति गरेर संस्थागत हिसाबबाट काम सुरु गरेँ। १० वटा कम्प्युर दिएँ। स्कलरसिप पनि सुरु गर्यो। अहिले ११ स्कुलका २ सय १२ विद्यार्थीलाई स्कलरसिप दिएका छौं। सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न सकिन्छ। संसारभर छरिएका नेपालीले आफ्नो क्षेत्रमा सहयोग सुरु गरे धेरै रूपान्तरण हुन्छ। गाउँ, छिमेक, जिल्ला हुँदै देश बन्ने हो। हामीले अभियानको नाममा ल्याएको डोनेसन शतप्रतिशत उपयोग भएको छ। देखिने गरी काम भएको छ। 

कतिपय गैरआवासीयले दोहोरो नागरिकता लिएका छन्। यसले कत्तिको समस्या पारेको छ ?

पछिल्लो रवि प्रकरणले गैरआवासीय नेपाली संशकित छन्। त्यहाँ पनि विकृति छ। समस्या हुन सक्लान्। विदेश गयो भन्दैमा गलत नजरले हेर्नु आवश्यक छैन। विदेशको पासपोर्ट लिए पनि स्वदेश आउँछुभन्दा सम्मान दिनुपर्छ। शत्रुको व्यवहार राष्ट्रले गर्न पाउँदैन। नागरिकता, हरियो पासपोर्ट बोकेको व्यक्तिलाई पनि यहाँ सम्मान छैन। अरु देशको नागरिकता लिने संख्या धेरै छैन। केही होलान्। केही ब्यक्तिका लागि राष्ट्रले सानो मन बनाउनुपर्ने म देख्दैन। राज्यले सकारात्मक ढंगले बुझ्नुपर्छ। उसले अवसर नपाएर हरियो पासपोर्ट नफालेको होइन। भावी सन्तति, देशसँग कनेक्ट नछुटोस् भन्ने हेतुले हो। राष्ट्रको ऋण तिर्नुपर्छ भन्ने भएर यहीँको पासपोर्ट र नागरिकता बोकेका हौं। 

गैरआवासीयको चिन्ता यहाँको सम्पत्तिको सुरक्षामा मात्र देखिन्छ। कसरी सुरक्षित पनि हुने र नेपालको विकासमा पनि लाग्ने ?

सबैले आफ्नो हिसाबले राष्ट्रका लागि योगदान गरेका छन्। व्यक्तिगत रूपमा  र ठूलो मात्रामा नभए मात्र नदेखिएको हो। विदेशमा बसेका सबैले यो देशलाई थाम्ने हैसियत दिएका छन्। तलब होस्, व्यापारबाट होस्, देशको अर्थतन्त्र रेमिट्यान्सबाटै धानेको छ। तीन महिना रेमिट्यान्स आएन भने यो देशको हालत के हुन्छ ?, अनिमात्र थाहा हुन्छ यो देश कसरी चलेको रहेछ भन्ने वास्तविकता। 

भारत र चीनले गैरआवासीयलाई राम्रोसँग उपयोग गरेका छन्। दुःख दिने नियत मात्र सरकारको नीति देखिन्छ। केही गर्न चाहनेकालाई पनि तनाव दिएर उतै फर्किने वातावरण बनाइन्छ। 

मलाई फर्केर समाज कल्याण परिषद् जानै मन छैन। गरिब, दुःखीलाई केही राहत होस् भन्ने सोचेर हामी अभियानमा जोडिएका हौं। ठूलो चिज खोजेर होइन, साना चिजमा पनि सुधार गर्नुपर्छ। ३० वर्षदेखि गैरआवासीय अभियानमा छु। विदेशमा बस्दा त्यस देशले दिएको सम्मान उल्लेखनीय छ। हामीले भोगेका दुःख अब नयाँ पुस्ताले भोग्नु नपरोस्। 

कोरिया तीन दशक अवधिमा धेरै रुपान्तरण भएको छ। देश निकै विकसित भएको छ। धेरै रुपले अघि बढेको छ। तर, नेपाल जहाँको तहीँ छ। राजनीतिक खिचातानीका कारण नेपालले प्रगति गर्न नसकेको हो। हामीले कोरियाबाट धेरै सिक्न सक्छौं। त्यहाँको पर्यटन क्षेत्र राम्रो छ। विकास निर्माणमा उल्लेख्य प्रगति भएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.