महाकुम्भको रामकहानी

महाकुम्भको रामकहानी
जगद्गुरु बालसन्त मोहनशरण देवाचार्य

‘अमृतको तरलाई पिण्ड बनाएर विष्णुले सीधै रुद्राक्ष वनको नजिकै कौशिकी नदीको तटमा जानुभयो जसलाई चतारा भनिन्छ’ भनेर पुराणमै उल्लेख गरिएको पाइन्छ।

प्रत्येक १२ वर्षमा नेपालको पूर्वी भेगमा अवस्थित सुनसरीको चतारामा पूर्ण महाकुम्भ लाग्छ। कौशिकी नदी किनारमा लाग्ने यो कुम्भ मेला २०५९ सालदेखि सुरु भएको हो। जहाँ ६ वर्षमा अर्ध कुम्भ र १२ वर्षमा पूर्ण कुम्भ लाग्ने गर्छ। यस वर्षको चैत्र २७ गते एक महिनाका लागि पूर्ण कुम्भ अर्थात् महाकुम्भ सुरु हुँदैछ। नेपालमा कुम्भ नलागुञ्जेल हजारौं नेपाली भारतका नासिक, उज्वैन, प्रयाग र हरिद्वार पुगेर कुम्भ स्नान गरी फर्कन्थे। शास्त्रीय प्रमाणले भारतका ती चार स्थानमा अमृतका थोपामात्र खसेको तर चतारामा अमृतको छाली (तर) नै खसेको भन्ने पुष्टि भएपछि २१ वर्षदेखि नेपालमै भव्य रूपमा कुम्भ मेला लाग्दै आएको हो। नेपालमा कुम्भ लाग्न सक्छ र यसका शास्त्रीय आधार यी र यस्ता छन् भनेर प्रमाण पेश र शास्त्रार्थ समेत गरी पुष्टि गर्ने नेपालका जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यसँग अन्नपूर्णकर्मी गोपीकृष्ण ढुंगानाले गरेको कुराकानी जगद्गुरुकै शब्दमा।

प्रामाणिक कुम्भ नेपालमै कसरी सम्भव भयो नेपालमा कुम्भ ?

पुराणमा समुन्द्र मन्थनको एउटा प्रसंग छ– दैत्यहरूले स्वर्गको साम्राज्यमा हमला गरे, देवराज इन्द्रलाई पतन गराए। इन्द्र बडो दुःखी भएर हिमालयका कन्दरा र गुफाहरूमा तपस्या गर्न थाले। अब कसो गर्ने ? यत्रो समय भयो आफ्नै राज्यबाट वञ्चित भइयो, जाऔं ब्रह्माजीको शरणमा र इन्द्रादिका सामु ब्रह्माजी जानुभयो। ब्रह्माले भन्नुभयो, ‘यो सबै काम त मबाट सम्भव छैन। जाऔं, बैकुण्ठमा भगवान् विष्णुलाई प्रार्थना गरौं।’

विष्णुका शरणमा पुगे र प्रार्थना गरे। विष्णुले भन्नुभयो– ‘तपाईंलाई तृप्त हुने इच्छा छ, मुक्ति हुने इच्छा छ, अजर अमर हुने इच्छा छ भने तपाईंहरू देवता र दानव भएर मन्थन गर्नुहोस्।’ मन्थन कहाँ गर्ने भन्ने प्रश्न उठ्यो। विष्णुले जवाफ दिनुभयो– ‘उत्तरपट्टि, हिमालयको काखमा समुन्द्र मन्थन गर्नुहोस्।’ अब त्यसको कहाँ ? यो जिज्ञासा नेपालमा लामो समय चल्यो। अनि म भारत गएँ।

भारतका ठूल्ठूला पुस्तकालयहरू पुगें। अध्ययन गरें। किन पनि भारत पुगें भने कुम्भ लगाउने कुरो उठेपछि नेपालमा ठूलो विरोध भयो। पर्चा टाँसेर मन्दिर मन्दिरमा निषेध गर्ने काम भयो। खबरदार ! चतारामा कुम्भ हुँदैन, शास्त्रको आधार र व्याख्या होइन भनियो। नहुँदो कुम्भ नेपालमा लगायो भने शास्त्रविरुद्ध हुन जान्छ भनियो। सबै खनिए, २०५९ सालको सन्दर्भ हो यो।

प्रमाण चाहियो भन्ने आवाज उठेपछि भारत पुगें। एउटा ग्रन्थ भेटें १६० वर्ष पुरानो। त्यो ग्रन्थको पछाडिको पृष्ठमा के थियो भने– ‘भारतमा कुम्भ लगानेका शास्त्रीय निरूपण विधान।’ सुरुमै लेखिएको रहेछ– ‘हिमालयको काखमा समुन्द्र मन्थन भएको हो।’ फेरि प्रश्न उठ्यो मनमा– हिमालयको काख भनेको कहाँ त ? सुदूरपश्चिमको दार्चुलाको लिम्पियाधुरादेखि लिएर सुदूरपूर्वको ताप्लेजुङको कञ्चनजंघासम्म त हिमालै हिमाल छ नेपालमा।

त्यसपछि बनारस पुगें। त्यहाँ काशी पण्डित सभाका सदस्यहरू सुधाकर मिश्र, डा. हरिप्रसाद अधिकारी, डा. गोपाल अधिकारी, राजाराम शुक्ला, मृतुञ्जय त्रिपाठी, परमात्मा दुवेसँग भेट भयो। त्यहाँ यो सन्दर्भ उठाएपछि एक विद्वान्ले भन्नुभयो– ‘महाराजजी, एउटा प्रमाण छ– सत्यवतीको उत्तरपट्टि कुम्भको उत्पत्ति भएको हो भनेर।’

तर ती विद्वान्ले सत्यवतीका बारेमा भन्न सकेनन्। सत्यवती हो कहाँ ? भनेर खोज्न थालें। स्कन्ध पुराणको हिमवत्खण्डमा प्रमाण भेटें– ‘नेपालका चारवटा नाम हुन्। सत्य युगमा सत्यवती, तेत्रा युगमा मधुवन, द्वापर युगमा मुक्ति सोपान र कलियुगमा नेपाल।’ अब काशीका विद्वान्ले दिएको प्रमाण र हिमवत्खण्डमा लेखिएको कुरा मिल्न आयो।

यति भएपछि नेपालको उत्तरतर्फ भन्ने त सिद्ध भयो तर अब फेरि उत्तर कहाँ त ? खोज्न थालें। पढ्दै जाँदा वाल्मीकि रामायणको बालकाण्डमा के भेटियो भने– त्यहाँ सत्यवती नाम गरेकी महाराज गादीकी छोरी हुनुहुन्थ्यो। उनी पर्शुरामको जन्म हुन्छ भन्ने थाहा पाएर सशरीर स्वर्ग जानुभयो। त्यसपछि कौशिकी नदी बनेर प्रकट हुनुभयो। सत्य धर्ममा रहेकी सत्यवती नै कौशिकी नदीका रूपमा बग्नु भयो भनेर वाल्मीकिको बालकाण्डमा रामले कोशी नदीको व्याख्या सोध्दा भनेको विश्वामित्रले वर्णन गर्नुभएको छ।

विश्वामित्रले भन्नु भएको छ– ‘यी सत्यवती मेरै दिदी हुन्। दिदीसँग असाध्यै स्नेह भएको हुनाले हे राम ! म पनि यही कोशी नदीका तटमा बस्छु।’ यसरी, सत्यवती भनेको नेपाल र कोशी भन्ने सिद्ध भयो। अब नेपालको पनि उत्तर र कोशीको पनि उत्तर भनेपछि कहाँ त ?

खोज्दै जाँदा सोलुखुम्बु जिल्लाको सगरमाथाको फेदमा रहेको दूधकुण्ड भनेर पुराणले बताएको भेटें। दूधकुण्डको माथि रहेको विशाल पर्वत सगरमाथालाई पुराणले मन्दराचल पर्वत भनेको छ। एकएक प्रमाण दिएको छ। यति योजन विस्तार भएको क्षेत्र भनेको छ सगरमाथाबारे। सगरमाथालाई मदानी बनाएर विशाल समुन्द्र मन्थन गर्दा त्यहाँबाट अमृत निस्किएको वर्णन छ।

पुराणमा वर्णन गरिएअनुसार त्यो अमृतको घडालाई इन्द्र महाराजको छोरो जयन्तले कौवाको रूप धारण गरेर चुच्चोले घडा बोकेर भागेछन्। यसरी भाग्दा भारतको नासिक, उज्वैन, प्रयाग र हरिद्वार यी चार ठाउँमा अमृतको थोपा झरे। तिनै थोपा झरेको आधारमा त्यहाँ कुम्भमेला सुरु भयो।

जयन्तले सोचे, यो घडा बोकुञ्जेल सारा देवताले लखेटे, बडो कष्ट हुने भयो त्यसैले उहीँ सोलुखुम्बुको सगरमाथामै राख्छु। यसरी त्यो घडा शिखरमा राख्नुभयो। त्यसपछि भगवान् विष्णुले तुरुन्त मोहिनी रूप धारण गरेर शिखरमा राखिएको घडा हातमा लिएर देवता र दानव पंक्तिवद्ध भएर बस अनि अमृत बाँड्छु भनेको सन्दर्भ छ।

घडा खोलेर हेर्दा त ढपक्क छाली (तर) लागेको देख्नुभयो विष्णुले। यस्तो अमृत त शिवजीले विषपान गरेर भत्भत् पोलेको छ त्यसैले यो राम्रो भाग चाहिँ शिवजीलाई दिऊँ बाँकी अरूलाई दिन्छु भनेर तर निकाल्नु भयो। 

पुराणमा लेखिएको छ– ‘तरलाई छानेर राखेर ती देवताहरूलाई अमृत पिलाउनुभयो।’

‘अमृतको तरलाई पिण्ड बनाएर विष्णुले सीधै रुद्राक्ष वनको नजिकै कौशिकी नदीको तटमा जानुभयो जसलाई चतारा भनिन्छ’ भनेर पुराणमै उल्लेख छ, ‘वसन्त ऋतु, चैत्र महिना, शुक्ल पक्षको प्रतिपदा।’ त्यो चैत्र महिनामा लगेर राखेको भएर अहिले पनि चतारा भनिएको हो। चैत्र महिनाको शुक्ल पक्षको प्रतिपदा यस वर्ष २०८० सालमा चैत्र २७ गते परेको छ। त्यसैले १२ वर्षे महाकुम्भमेला कोशी प्रदेशको सुनसरी जिल्लाको चतारास्थित कोशी (कौशिकी) नदीमा सुरु हुँदैछ। ६ वर्ष र १२ वर्षमा प्रामाणिक रूपमा स्थापना गरिएको कुम्भमेला चैत २७ गतेदेखि एक महिनाका लागि प्रारम्भ हुँदैछ। ६ वर्षमा कुम्भमेला र १२ वर्षमा हुने महाकुम्भमेला।

त्यस दिन भगवान् विष्णुले त्यो तर अर्थात् छाली कौशिकी तटमा लगेर राख्नुभयो। पूजा गर्नुभयो। र, विष्णुले सारा देवताहरूका साथमा कुम्भ स्नान गर्नुभयो। अब त्यो पिण्ड सुरक्षित स्थानमा राख्नुपर्छ भनेर त्रिपुरासुरलाई वध गर्ने पार्वतीलाई शिवले भन्नुभयो– यो तरलाई लगेर धरान बजारको माथिको डाँडा विजयपुर (शीत शैल÷रुद्राक्षारण्य÷विजय पर्वत) को शिखरमा पिण्ड राखिदिनू। सुधा भनेको अमृतलाई पिण्डीकृत पिण्ड बनाएर त्यो डाँडामा राखेको हुनाले त्यसको नाम पिण्डेश्वर महादेव भनिएको हो।

अब मेरो प्रश्न नेपाल र भारतका विद्वान्लाई भारतमा अमृतका थोपा झर्दा कुम्भ हुन्छ भने नेपालमा अमृतको डल्लो नै रहँदा किन कुम्भ हुँदैन ?

कोही काँतर भन्दथे कलस यो कुम्भ सधैं कटोस्
हिन्दुस्तान रिसाउने छ बरु ए यस्तो विचारै हटोस्
पहिले भारतको विचार नबुझी मिल्दैन भन्ने थियो
जे बोले पनि कुम्भ गर्न तिनको हुँदैन भन्ने थियो ।

बडो ठूलो संघर्ष रह्यो कुम्भ लगाउने सन्दर्भमा। नेपाल र भारतका विद्वान्हरूसँग बसेर अनेकौंपटक बहस, संवाद, चर्चापरिचर्चा गर्नुप¥यो। मैले भनें, भनिरहें– अमृतको थोपा झरेको ठाउँमा कुम्भ हुने अनि अमृतको डल्लो नै भएको ठाउँमा कुम्भ किन नहुने ?

अति भएपछि तर्क गरें– कि यो ग्रन्थ च्यात्नु प¥यो मेरा अगाडि, होइन भने यही ग्रन्थमा लेखिएको कुरो भारतमा हुने नेपालमा नहुने भन्ने कसरी हुन्छ ? यो हुनै सक्दैन। नेपालमा कुम्भ सम्भव छ भनें। भारतकै विद्वान्ले मुख फोडे– ‘अच्छा है। यितना लिखा हुआ है। अपने इतने अध्ययन, अनुसन्धान किया है। यितना प्रमाण मिला तो कर सकते हो।’ यसमा भारतका अन्य विद्वान्ले पनि साथ दिनुभयो।

यसरी २०५९ सालदेखि नेपालमा पुनः जागरण सुरु भयो– कुम्भका रूपमा। देश प्रेमको जागरण सुरु भयो सुनसरीको चताराबाट। कौशिकी सभ्यताको जागरण भएको त्यो वर्ष। मानव मात्रको कल्याणको जागरण कुम्भका माध्यमबाट प्रकट भयो।

अब पश्चिमका नेपाली पूर्व, पूर्वका नेपाली पश्चिम खासमा कुम्भमेलाले राष्ट्रको अस्तित्व, राष्ट्रको पहिचान, अध्यात्मको जागरण, सामाजिक जागरण, धार्मिक जागरण गर्न सफल भएको छ। यसैगरी, महाकालीको नदी तटमा ७५ फिट अग्लो नेपाल आमाको मूर्ति अष्टधातुबाट बन्दैछ। अब पूर्वमा कुम्भमेला, पश्चिममा नेपाल आमा।

अब पश्चिमका नेपाली कुम्भ स्नान गर्न मेला भर्न अन्यत्र जानु परेन, पूर्व कौशिकी आए भयो अनि पूर्वका नेपाली नेपाल आमालाई हेर्न महाकाली जाने भए। यसले नेपालीबीच आत्मीयता जोड्नेछ। लामो शत्प्रयासपछि नेपालमा कुम्भमेला गरिमाको रूपमा २१ वर्षदेखि निरन्तर सञ्चालन भइरहेको छ। यस वर्ष अमेरिका, अस्टे«लिया, क्यानडा, बेलायत, नर्वे, बर्मा, भुटान, बर्मा र नेपालका भक्त कुम्भका लागि आउँदै हुनुहुन्छ।

नेपालमा कुम्भ लाग्न मिल्ने नमिल्ने तर्क अब कसैले गर्दैन भन्ने लाग्छ। कसैले पनि ‘नेपालमा कुम्भ किन ?’ भनेर प्रश्न र तर्क गर्ने अवस्था छैन पनि अब । मैले एकएक श्लोक, एक एक अध्याय र एक एक जवाफ दिइसकेको छु। स्थापित गरिदिएको छु बरु अबको प्रश्न भनेको यसको निरन्तरता नै हो।
हुन त अब नेपाल सरकार नै यसमा जोडिएको छ, प्रदेश सरकार र स्थानीय सरकार पनि जोडिनु भएको छ। अब कुम्भ र महाकुम्भमा आएर सारा राष्ट्रवासी आइदिनुभए पुग्छ। तपाईंहरू सबै कुम्भमा सहभागी हुनु भनेको देशको सम्मान हो। देशको, मातृभूमिको गरिमा बढ्नु हो। जसले कुम्भरूपी देशभक्तिको अभियानमा एउटा इँटा थपिएको महसुस गराउनेछ।

भारतका चार स्थानमा कुम्भमेला लाग्छन्। जहाँ भारत सरकार एक वर्षदेखि पूरै खटेर लाग्छ, सम्बन्धित प्रदेश सरकार उत्तिकै लाग्छ। करोडौं लाग्ने सम्पूर्ण खर्च व्यहोर्छन्।

नेपालको इतिहास पढौं, नेपालको माटो चिनौं 

‘हे पार्वती ! कौशिकी नदीको तटमा चैत्र महिना शुक्ल पक्षको प्रतिपदाबाट प्रारम्भ हुन्छ’ भनेर भगवान् शिवले भनेकोबाट के स्पष्ट हुन्छ। कुम्भमेलाको प्रारम्भ आदिकालमै नारायण (विष्णु)ले सुरु गर्नुभयो। यस्ता पौराणिक कुरा कतिलाई पच हुन्छ कतिलाई हुँदैन। इतिहास पुराण हाम्रा लागि सर्वोच्च ग्रन्थ हुन्।

पश्चिमा मुलुकले पनि विश्वको सर्वोच्च प्राचीन ग्रन्थ ऋग्वेद हो भनेर स्वीकार गरेकै छ। वेदले पुराणलाई सर्वोच्च स्थानमा राखेको छ। मत्स्य पुराणले के भन्छ भने– ‘यो वेद प्रकट हुनुभन्दा पनि पहिला पुराण प्रादुर्भाव भयो भगवान्बाट।’ जुन कुरा शिव महापुराणमा पनि लेखिएको छ। पुराणलाई पाँचौं वेद भनिएको छ। वेदले पुराणलाई सर्वोच्च स्थानमा राखेकोबाट यसलाई प्रामाणिक मान्न सकिन्छ। त्यसैले पुराण सर्वग्राह्य छ।

त्यसमा पनि नेपालको इतिहास जान्नका लागि त पुराण पढेकै हुनुपर्छ। किनकि पुराणमा नेपालको महाकाली नदीको व्याख्या छ। कर्णाली, सेती, भेरी, राप्ती, गण्डकी, बागमती, विष्णुमती, रुद्रमति, मेलाम्ची, इन्द्रावती, सप्तकोशी, कावेली, तमोर, मेची, अरुण, वरुण, तामाकोशी, भोटेकोशी, सुनकोशी, त्रियुगा आदि सारा नदीहरूको व्याख्या त्यहाँ पाइन्छ। यी कति महत्त्वपूर्ण छन् भन्ने बुझ्न पुराण नै पढ्नु पर्छ। यदि मेरो देश जान्न र प्रमाण जुटाउन पुराण पढ्नै पर्छ भने त्योभन्दा ठूलो सम्पत्ति के हुन सक्छ ? जुन नेपालीले पुराण पढेन, उसले नेपाल नै चिन्दैन, जान्दैन। नेपालको इतिहास बुझेन, नेपालको माटोलाई पनि उसले चिनेन।

नेपाल पुरी र नेपालको महत्त्व

‘नेपाल नाम गरेको भूमि बहितलमा प्रसिद्ध छ। त्यसको नाम हो, नेपाल पुरी।’ शिव महापुराणको कोटिरुद्र संहितामा यही उल्लेख छ। अयोध्या, मथुरा, माया, काशी, कान्ची, अवन्तिका आदिलाई कविहरूले श्लोकका रूपमा पुरी बनाइदिए तर पुराण भन्छ– ‘निश्चय नै नेपाल नै पुरी हो। यो विश्वकै प्रसिद्ध पुरी हो, चानचुने होइन।’

वराह महापुराणमा पनि एउटा श्लोक छ– ‘सुखको मुहान नेपाल हो, सुखको स्रोत नेपाल हो अनि सुखको भण्डार नेपाल हो।’ आनन्द रामायणमा लेखिएको छ– ‘जगदीश्वर भगवान् पशुपतिनाथको सेवा गर्न स्वयं मर्यादा पुरुषोत्तम राम पशुपति आउनुभयो र आराधना पनि गर्नुभयो।’

महाभारतमा एकपल्ट भगवान् श्रीकृष्ण द्वारकाबाट आउँदा धृतराष्ट्रले भव्य स्वागत गरेछन्। बिदाइ गर्नुपर्ने बेला भयो। अब कृष्णलाई के दिएर बिदाइ गर्ने ? भन्दा जाओ जाओ नेपाल जाओ, १८ हजार कम्बल ल्याओ भनेछन् धृतराष्ट्रले। आजभन्दा पाँच हजार वर्षपूर्व नेपालले कैयौं उत्पादन विदेश निर्यात गर्दोरहेछ र त नेपाल सम्पन्न थियो। त्यसैबेला धृतराष्ट्रले नेपाल पठाएको सन्दर्भ पढ्न पाइन्छ। 

त्यसबेला अर्थतन्त्रमा नेपाल कति महान् रहेछ र आफ्ना उत्पादनहरू विदेश निर्यात गर्ने हैसियत उसबेलै रहेछ नेपालको भन्ने बुझिन्छ।

तर, आज सबै आयात गरिन्छन्, खाद्यान्न, लत्ताकपडा, सियो, फाली आदिजस्ता स–साना विषय पनि। निर्यात के गर्छ अहिले भन्दा मान्छे। विमानस्थल पुगेर हेरे हुन्छ, छर्लंग छ। तर पनि भन्नेहरू भनिरहेकै छन्, हामीले नेपाल बनायौं, नयाँ नेपाल बन्यो। त्यस्तो समृद्ध देश हाम्रो, दुर्भाग्यवश अहिले कता कता अल्मलिएको अवस्था छ। यस्तो विषम परिस्थितिमा पनि करोडौं नेपाली नेपालको हित चाहन्छन्। नेपाल समृद्ध होस् भनेर चाहनेहरू पनि छन्।

नेपालको गरिमा बोकेका १२ ज्योतिर्लिंग

​​​​​​​मल्लिकार्जुन भारतको आन्ध्र प्रदेशमा छ भनेजस्तै नेपालमा कहाँ छ ? दार्चुला जिल्लामा छ। महाकाली नदी र चौलानी नदीको बीचमा छ शैल पर्वत छ, त्यहाँ मल्लिकार्जुन ज्योतिर्लिंग छ भन्छ पुराणले। जुन हजारौं वर्ष पुरानो मल्लिकार्जुन मन्दिर हो। पुराणले भने जसरी नै पत्ता लागेको हो। यसअघि नेपाली १२ ज्योतिर्लिंगको दर्शन र पूजाआजालाई भारतका विभिन्न स्थान पुग्दै आएका थिए। अझै पनि नेपालका १२ ज्योतिर्लिंगबारे थाहा नपाउनेहरू भारत पुगिरहेका छन्।

एकपटक भारतमा लोकप्रिय दैनिकका पत्रकारले प्रश्न गरे– महाराजजी ! एक विषयमे बहुत अन्योल हे, शंका हे भारतमे कि ये सरयु नदी कहाँ से पैदा होगए ? मैले यसमा कुनै शंकै छैन, कसरी अन्योल भयो भनेर सोधें। सरयुको उद्गमस्थल बताउन सक्छु भनें। पत्रकारले बडो अधैर्य भएर सोधे– कहाँ है बताइए महाराजजी।

​​​​​​​सरयु नदीको उद्भवबारे स्पष्ट पार्दै भनें– नेपालको बझाङ जिल्लाको विश्वपर्वतबाट प्रकट भएर नेपाल नदी बगेको हो। सरयु नदी बैतडीको रौलाकेदार हुँदै पाटन भएर बैतडीको सर्मायु र रूपालको संगममा पुग्छ। तिम्रो सरयु मेरो देशबाट बगेर आउँछ, हिँड स्नान गर्न भनेको पत्रकार छक्क परे। भोलिपल्ट पञ्जाव केसरी दैनिकको पहिलो पृष्ठमा मुख्य समाचार बनाएर छापेछन् तिनले– भारतके सारा तीर्थौंका स्रोत नेपाल शीर्षकमा।
हाम्रो नेपालसँग अनि हामी नेपालीसँग के छैन ? सबै छ। एकसे एक प्रमाणमा सबैसँग तर्क गर्न सकिन्छ। एकसे एक अध्यायको प्रमाण दिएर मैले पूरै नेपाल पैदल हिँडेर शास्त्रसँग तथ्य मिलाएर नेपालमै १२ वटा ज्योतिर्लिंग छन् भनेर पुष्टि गरिसकेको छु। नेपालका १२ ज्योतिर्लिंगका बारेमा मैले कोरोनाकालमा ठूलै ग्रन्थ पनि लेखिसकेको छु।

नेपाल देशमा भएका १२ ज्योतिर्लिंग दर्शन गरे शिवलोक प्राप्ति हुन्छ। १२ वटैको श्लोक पनि बनाइदिएको छु। १२ ज्योतिर्लिंगका मन्दिर पनि बनेका छन्। नित्य पूजाआजा भइरहेकै छ। यो इतिहासमा अभूतपूर्व काम भएको छ।

महात्मा, मान्छेको व्यवहार– मरेपछि पूजा
नेपाली समाजबारेको कविले कविता लेखेका छन्–
यो लट्टे ठग हो भनेर कतिले गाली गरेथे अरे
मार्न आँट गरे लुकेर कतिले लाठी उचाले अरे।
मान्छेको व्यवहार यही छ गुरुजी ठूला महात्मा प्रति
बाँचुञ्जेली घृणा ! मरेपछि पूजा ! मूर्तिअघि आरति।

​​​​​​​नेपाल चिनाउन र लाखौं पर्यटक भित्त्याएर देश समृद्धि बनाउन छ भने कुम्भ र १२ ज्योतिर्लिंगको विश्वप्रचार व्यापक रूपमा गरे पुग्छ। बाँकी नेपालीमा पनि राष्ट्रिय जागरण र आध्यात्मिक जागरण आउँछ।

कुम्भ स्नान किन ? यस्ता छन् पाँच कारण

कुम्भको सबैभन्दा ठूलो कुरो स्नान नै हो। यसको महत्त्व नै नुहाउनुमा छ। भगवान् ब्रह्मा, विष्णु, इन्द्र र मनु महाराजले जलमा स्नान गर्नुभयो। यसकारण कुम्भ पुग्नुको पहिलो कर्तव्य हो– महास्नान।

​​​​​​​कुम्भको महास्नानमा तीनवटा स्नान विशेष पर्छन्– जुन दिन भगवान् विष्णुले नुहाउनु भयो, त्यो दिन। जुन दिन ब्रह्माजीले नुहाउनु भयो, त्यो दिन। अनि, जुन दिन देवराज इन्द्रले नुहाउनु भयो, त्यो दिन।

अर्को मनु र मनुष्यले नुहाउने स्नान। यसरी पाँचवटा स्नान हुन्छन् कुम्भमा।

कुम्भमेलाको पहिलो लक्ष्य भनेकै कुम्भस्नान हो। दोस्रो, कुम्भमा साधुसन्तको दर्शन। भगवान्को परिचय नै साधुसन्तहरूले गराउने हो। तेस्रो, ईहलोकमा सुख प्राप्तिका लागि भगवान्को यजन गरिन्छ। यज्ञको भोक्ता र यज्ञ पनि भगवान् हुने भएकाले यज्ञपुरुषको आराधना अत्यन्तै महत्त्वपूर्ण हुन्छ। चौथो, एक महिनासम्म देवलोकका देवताहरूले आआफ्नो लोकलाई परित्याग गरी चताराधाममा कौशिकी नदीको तट (किनार)मा बस्नुहुन्छ र आराधना गर्नुहुन्छ। यसरी एक महिनासम्म एक छाक खाएर कल्पवास बस्ने, कौशिकी नुहाउने र आआफ्नो इष्ट देवताको आराधना गर्नुु सबैका लागि उत्तम हुन्छ। अरूबेला कारणवश गरेको कर्मका कारणले नास पनि हुन्छ तर कुम्भमेलाका बेला गरेको पुण्यचाहिँ अक्षय हुन्छ, कहिल्यै नास नहुने प्रकृतिको हुन्छ। त्यसैले कुम्भमा जप, अनुष्ठान, सन्त आदिको दर्शन, कुम्भ स्नान र साधना÷उपासना अत्यन्तै महत्त्वपूर्ण हुन्छ।

भारतमा पनि कुम्भ हुन्थ्यो, बीचमा लुप्त भयो। शंकराचार्यको शुभआगमनपश्चात् त्यहाँ कुम्भले फेरि जीवन पायो। त्यहाँ कुम्भ किन जीवन्त बनाए ? भन्दा राष्ट्र जागरणका लागि। जतिबेला राजा, गुरुहरू र जनता एकै ठाउँमा बसेर कुम्भका माध्यमद्वारा राष्ट्रिय हितका विषयमा बहस र छलफल हुन्थ्यो। देशको मर्यादा, संस्कार, संस्कृतिका कुरा कुम्भमै हुन्थ्यो। राष्ट्रका लागि जाग, राष्ट्रका लागि उठ भनेर पनि कुम्भ लगाउँथे भारतमा। पाँचौं कारण, ठूला ठूला महापुरुष भेला भएर राष्ट्र के हो ? मातृभूमि के हो ? देश प्रेम के हो ? आदि महत्त्वपूर्ण विषयहरूमा जनतालाई जानकारी गराउँथे। कुम्भको महत्त्व यो पाँचौं हो। राष्ट्रभक्तको जागरण चानचुने विषय होइन। कुम्भ राष्ट्रको यज्ञ पनि हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.