देश विकासमा युवाको खबरदारी

देश विकासमा युवाको खबरदारी

समाज र राजनीति एकअर्काका परिपूरक छन्। आजको समाजको प्रतिफल भोलिको राजनीति हो


समसामयिक विकसित राजनीतिक परिदृश्य, आर्थिक संकट र सामाजिक विचलनले युवाका माझमा गम्भीर प्रश्नहरू सिर्जना भएका छन्। युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका संवाहक हुन्। चिनियाँ क्रान्तिका नायक माओ त्से तुङले युवालाई लक्षित गर्दै भनेका छन्– ‘युवा हो, यो संसार तिमीहरूको हो।’ युवा ऐतिहासिक जिम्मेवारी बोकेका समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन्। अझै नेपाल त युवाको देश हो। जनसंख्याका तथ्यांकहरूमा (१६ देखि ४० वर्षको उमेर) चालिस प्रतिशतभन्दा बढी युवाको जनसंख्या भएको देश नेपाल हो।

नागरिकको अबको एक मात्र सपना समृद्धि हो। समृद्ध भविष्यको सपना पूरा गर्नु, वर्तमानको थालनी र निरन्तरता अपरिहार्यता हो। वर्तमान समय जति युवाका लागि महत्वपूर्ण छ त्यति नै देशको समृद्धिका लागि युवाको आवश्यकता छ। दिगो विकासका हरेक एजेण्डाहरू युवासँग जोडिएका छन्। यसैकारण युवा र हरेक नागरिकको जीवनस्तर एउटा संवेदनशील समय अहिले हो। नेपालको राजनीतिमा पछिल्लो समय अप्रत्याशित परिदृश्यहरू देखिएका छन्। 

यदि राज्यका संयन्त्र, नीतिनियम र व्यवहारहरू जनमुखी हुँदैनन् भने आगामी दिनहरूमा पनि युवाले निरन्तर यस्तै विगतदेखिकै नियती भोग्नु नपर्ला भन्न सकिँदैन। राजनीतिक अस्थिरता र विधिमाथिको संकट सधै रह्यो भने स्वतः यो पुस्ताका युवाको सुनौलो भविष्य यसै अर्थहीन हुने सम्भावना देखिन्छन्। विगतदेखि नै राजनीति जानेका तर राजकाजको ढंग नभएका उमेरका पाका तर व्यवहारमा अपरिपक्व नेताकै वरिपरि देश घनचक्करमा फसिरह्यो। र, अझै पनि कति समय यस्तै गन्तव्यहीन राजनीतिक प्रहसन चल्ने हो त्यो कुनै निश्चिन्त छैन। आजका हरेक युवामाझ तेर्सिएका गम्भीर प्रश्न हुन् यी।

राजनीति र संस्कार
नेपालका आम राजनीतिकर्मीमा राजनीतिक इमान्दारिता र संस्कारको ज्यादै अभाव छ। विगतदेखि नै राजनीतिक संस्कार, इमान्दारिता र जनकेन्द्रित कानुनी शासनका लागि नागरिकले व्यवस्था परिर्वतनमा साथ दिएका हुन्। तर समयक्रमअनुसार व्यवस्था बदलिए, नागरिकको चाहना अनुसारको अवस्था बदलिएन। जनकेन्द्रित मुद्दामा राज्यको भूमिका र राजनीतिक इमान्दारिताको संस्कार मेटिँदै गएको छ। सक्षम युवा नेतृत्व परिकल्पना गरेका इमान्दार नेता उज्वल थापा महामारीको शिकारमा अल्पायुमै राजनीतिक सदाचारी संस्कार धेरै मानिसमा छाप छोडेर सदाका लागि विदा भए। उनीजस्तै जनमुखी राजनीतिक प्रभाव पार्न सक्ने अन्य युवा नेताहरू पनि छन्। अबको समय राजनीतिक संस्कार र इमान्दारिता हरेक युवाले उनीहरूबाट अपेक्षा गरेका छन्।

यद्यपि पछिल्लो समय युवाका सपनाहरू माथि राजनीतिक स्वार्थप्रेरित घृणित खेल निरन्तर जारी छन्। राजनीतिक विग्रहले केन्द्रदेखि समाजका कार्यकर्ताहरूसम्म बचाउ र विरोधका स्वरहरूमा विभाजन गराएको छ। अहिलेका युवाले नै राजनीतिक संस्कारलाई अनुशरण र अभ्यास गर्न सक्दैनन् भने भविष्यमा सुशासनसहितको समृद्ध नेपालको सपना अपूरै हुनसक्छ। राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्नु र आमयुवामाझ बुझाउनु अति आवश्यक छ।
राजनीतिमा पछिल्लो समय देखिएको अशोभनीय परिदृश्यहरूलाई चिरेर सुसंस्कृत र इमान्दार राजनीतिलाई अगाडि बढाउन युवा एकता जरुरी छ। कांग्रेसका गगन, प्रदीप, विश्वप्रकाशजस्ता युवानेता, एमालेका योगेश, गोकर्ण, माओवादीका वर्षमान, लेखनाथ साथै विवेकशीलका रविन्द्र र मिलनजस्ता युवानेताले असल राजनीतिक संस्कारको थिति बसाल्न प्रयत्न गर्नुपर्छ। पाका पुस्ताहरूकै पछाडि लागेर मात्र होइन कि युवाको पुस्ता सुहाउँदो सदाचारी, इमान्दारीपूर्ण र सभ्य राजनीतिक नेतृत्वका लागि अग्रणी भूमिका लिनैपर्छ। राजनीतिक संस्कार मात्र होइन, सामाजिक संस्कार पनि बदलिनु आवश्यक छ।

पलायन र परनिर्भरता 
युवामाझ अर्को गम्भीर प्रश्न भनेको सक्षम र पौरखी युवा पलायन हुनु हो। त्यसको प्रमुख कारण पनि अप्रत्यक्ष रूपमा राजनीतिक अस्थिरता नै हो। स्वदेशमा नै प्रसस्त अवसर र सम्भावना हुँदाहँुदै पनि रोजगारमूलक क्षेत्र व्यवसायको बिस्तार हुन सकेको छैन। पौरखी र क्षमतावान् युवालाई स्वदेशमै केही उद्यम गर्ने वातावरण र उत्प्रेरणा सिर्जना हुन सकेन भने परनिर्भरता र पलायन कहिल्यै पनि कम आउने छैन। स्वदेशकै स्रोत तथा साधनको उपयोग र संरक्षण, सम्वर्धन र विकास गर्न युवाको खाँचो छ तर राज्यको दूरदर्शी नीतिको अभावले युवा बाध्यतामा पलायन हुन परेको छ। यस्तो नियति अझै कहिलेसम्म निरन्तर चल्ने हो ? यो पनि अनिश्चित नै छ।

आजको सुयोग्य पुस्ताले कानुनी शासन, दिगो विकास र समृद्धिका लागि योगदान दिने यो एक सुनौलो अवसर पनि हो। यसर्थ, राष्ट्रको योगदानका लागि युवाले निरन्तर खबरदारी गर्न छोड्नु हुँदैन।

आर्थिक क्षेत्रहरूको समयसान्दर्भिक आवश्यकताअनुरूप विकास हुन नसक्दा युवामाझ देशमै केही गर्न सक्ने अवसर र सम्भावनाहरू पनि सफल हुन सकेका छैनन्। एकातर्फ युवा पलायन हुनु अर्कातर्फ कृषियोग्य भूमि खण्डीकरण र बाँझो रहनाले उत्पादन र रोजगार राज्यले गुमाउनु परेको छ। जसका कारण सामान्य वस्तु तथा सेवा, कृषि, पशुपक्षी, लत्ताकपडा र आधारभूत आवश्यकताहरूमा नै परनिर्भरता बढेको छ। आत्मनिर्भर व्यवसायको संरक्षण र सुचारु साथै सक्षम युवालाई स्वदेशमै रोजगारमूलक अवसर सिर्जना गर्न युवा नेताहरू र युवा अग्रसर हुनुपर्छ। यस्तो वातावरण अझै कहिलेसम्म सुरु हुन्छ होला ? पलायन, परनिर्भरता र बढ्दो युवा बेरोजगारीको ज्वलन्त विकृतिलाई समयमै रोक्न युवालाई उद्यमशिलता, स्वरोजगार, आत्मनिर्भर व्यवसायतिर प्रोत्साहन गरी आर्थिक असमानता र व्यापार घाटालाई समयमै सन्तुलन गर्ने महत्वपूर्ण जिम्मेवारी पनि आजका युवाकै काँधमा आएको छ। तर, यस्ता गम्भीर र दिर्घकालीन ज्वलन्त विषयमा युवालाई समन्वय गर्ने प्रभावकारी निकायहरू कहाँ छन् ?

विकास र नीति निर्माण
नीति नियम प्रभावकारी र जनमुखी नहुँदा विकासका कार्यक्रममा भएका अनियमितता, ढिलासुस्ती र चरम लापरवाहीले पनि युवाले आशा गरेजस्तो विकास भएको छैन। सीमित व्यक्तिका स्वार्थका कारण यस्ता समस्या निरन्तर आइरहेका छन्। आवधिक योजना र वार्षिक बजेटमा उल्लेख भएका विकासका योजना र कार्यक्रम पूर्ण र सफल कार्यान्वयनको चुनौति हरेक वर्ष छ। युवामैत्री नीति, निर्माण र कार्यान्वयन पनि उस्तै फितलो छ।

युवाको आजको एकलव्य नारा नै विधि र व्यवस्थाको पालना गर्ने र विकास एवं नीतिनिर्माणमा व्यापक सहभागिता हुने हो। सहभागितामूलक विकासको अवधारणाअनुरूप विकासका हरेक आयाम र नीतिनिर्माण, योजना, कार्यक्रमदेखि आयोजनाहरूको मूल्यांकन र अनुगमनमा युवाले जोड दिनुपर्छ। दीर्घकालीन नीति, आयोजनाहरूको मापदण्ड र तिनको गुणस्तरीयतामा युवावर्गको चासो हुनुपर्छ। कानुनी शासन अवलम्बन गर्न, गराउन र भावी दिनमा राजनीतिक, आर्थिक र सामाजिक पक्षहरूको समग्र रूपान्तरणका लागि सचेतनामूलक र रचनात्मक खबरदारी निरन्तर गर्नुपर्छ।

समाज र राजनीति एकअर्काका परिपूरक छन्। आजको समाजको प्रतिफल भोलिको राजनीति हो। नेपालको कुल जनसंख्याको आधा हिस्सा युवाले ओगट्ने भएकाले समाज परिर्वतनको प्रक्रियामा युवाको सहभागिता अपरिहार्य छ। आजका युवा आधुनिक समाज, साक्षर जनशक्ति, डिजिटल पुस्ता सकारात्मक सोच भएका युवा वर्गले राष्ट्रिय महत्वका विषय सुशासन र न्यायका लागि सिर्जनात्मक जनदबाब निरन्तर दिनुपर्छ।

विधि र व्यवस्था
युवाले आज परिकल्पना गरेको नेपाल भनेकै सुशासन सहितको समृद्ध मुलुक हो। सुशासनका शीर्षस्थानमा रहेका देशहरूले विधि र व्यवस्थाको पूर्णपालना र कानुनी शासन, जवाफदेहिताले नै आज सम्पन्नताको पहिचानमा भएका हुन्। त्यस्ता सम्पन्नशाली देशहरू अहिले विकसित रूपमा देखिनु नै ती देशका एक पुस्ताले विधि र व्यवस्था अनुरूपको पौरख र पसिना बगाएका थिए। तर हामी भने देशको गम्भीरतालाई बुझ्न सकिरहेका छैनौं।

पहिलो, राजनीतिक संकट, स्वास्थ्य संकट, आर्थिक संकट साथै मानवीय संकटका बिच फेरि चुनाव घोषणा गरिनु सान्र्दभिक छ ? समयमा महामारी नियन्त्रणका लागि बजेट नै पर्याप्त छैन। चुनावका लागि बजेट र जनता कसरी तयार होलान् ? दोस्रो, चुनावपछि पनि राजनीतिक स्थिरता र भरपर्दाे सरकार गठन हुन्छ भन्ने ग्यारेन्टी के छ ? लोकतान्त्रिक व्यवस्थाको विकल्प चुनाव नै भए पनि समय परिस्थितिअनुसार भएका जनप्रतिनिधिमूलक संसद्को पटक पटक विघटनले आगामी दिनमा कस्तो राजनीतिक संस्कार सिर्जना गर्छ ?

दलीय स्वार्थका कारण संवैधानिक विधि र व्यवस्था नै स्थापित हुन सक्दैनन् भने देशले गरिब र बेरोजगार युवालाई अवसर सिर्जना गरी मुलुकको समृद्विको सपना पूरा हुन्छन् भन्ने आधार के होलान् ? योभन्दा ठूलो संकट अरू के हुनसक्छ ? यी नै युवाका लागि तेर्सिएका गम्भीर प्रश्न हुन्। व्यवस्था विघटन र असंवैधानिक कदमले कानुनी शासन र युवाको भविष्यमाथि विडम्बनापूर्ण परिस्थितिको सिर्जना भएको छ। अहिले मानवीय संकट, आर्थिक संकट महत्वपूर्ण कि राजनीतिक संकट ? सचेत युवाले गम्भीर भएर सोच्न पर्ने समय आएको छ।

बेथितिका विरुद्ध युवाले प्रतिकार गर्नैपर्छ तर त्यस्तो प्रतिकार रचनात्मक सभ्य र सालिन हुनुपर्छ। युवा एउटा अमुक पार्टीको आस्थाले मात्र होइन ता कि समाज रूपान्तरणको मुख्य आवश्यकताले चल्नुपर्छ। सत्य र तथ्यको खोजमा, विधि र व्यवस्थाको निचोडमा दीर्घकालीन रणनीतिक प्रभावका बारेमा युवा सधैं सचेत हुनु जरुरी छ। राजनीतिक पछिल्ला परिदृश्यहरूले युवालाई अहिले इतिहासको एक यस्तो महत्वपूर्ण अवस्थामा ल्याएको छ। युवाका अगाडि प्रशस्त मात्रामा सामना गर्नुपर्ने चुनौतिसँगै प्रश्नहरू उब्जिएका छन्। आजको सुयोग्य पुस्ताले कानुनी शासन, दिगो विकास र समृद्धिका लागि योगदान दिने यो एक सुनौलो अवसर पनि हो। यसर्थ, राष्ट्रको योगदानका लागि युवाले निरन्तर खबरदारी गर्न छोड्नु हुँदैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.