राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्य परिवर्तन गर्नुपर्छ : सुहाङ नेम्वाङ
काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसका कारण संसदीय प्रणालीमाथि प्रश्न सिर्जना हुने अवस्था सिर्जना भएको बताएका छन्।
एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको युवा विचार गोष्ठीमा बर्तौलाले संसदीय राजनीतिको लामो अनुभव छ भन्ने कांग्रेसले सत्ताका लागि नै संसद अवरुद्ध गरेको आरोप लगाउँदै यसले संसदीय प्रणालीमाथि प्रश्न सिर्जना भएको बताए।
कांग्रेसको लगातारको अवरोधका कारण मुलुकमा गतिरोध पैदा भएको र जनताप्रति संसद नै चाहिँदैन कि भन्ने भाष्य निर्माण हुने खतरा रहेको उनको भनाइ छ। उनले सत्ताको वरिपरिमात्रै घुम्ने कांग्रेसको प्रवृतिका कारण सदन अवरोध भएको आरोप लगाए। सहकारीको समस्या समाधान हुनुपर्छ भन्नेमा एमाले प्रष्ट रहेको भन्दै उनले राज्यले न्यायिक समिति बनाएर यसको समाधान गर्नुपर्नेमा जोड दिए।
त्यस्तै एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताए। राजनीति कहिल्यै पनि फोहोरी नहुने भन्दै उनले स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे व्यक्ति नै फोहोरी हुने जिकिर गरे। उनले अब सबै युवाहरू मिलेर देशको विकास र समृद्धिमा ध्यान दिनुपर्ने बताए। नेम्वाङले मुलुकमा नै प्रयाप्त अवसर सिर्जना गरेर युवा जनशक्तिलाई स्वदेशमा नै परिचालन गर्नुपर्नेमा जोड दिए।