कुकुरको चिहानमा चार थोपा आँसु
स्पिकर्स कर्नरमा कुनै वक्ता नदेखेपछि सीधै हाइड पार्क भित्रको सानो बाटोमा पाइला चाल्न थालेँ। कस्सिएर दस मिनेटको हिँडाइले भिक्टोरिया गेटमा पुर्यायो। आइफोनको नेभिगेटरले गन्तव्य त्यही भएको बताएपछि रोकिएँ। त्यहाँ अवस्थित ‘भिक्टोरिया गेट लज’ नामक सानो पाले घरअगाडि उभिएर मूल ढोकामा नजर लगाएँ, तर ढोका बन्द थियो। अलिक अगाडि बढेर दायाँबायाँ चक्कर लगाउन थालेँ। हाइड पार्कभित्र रमाइरहेका मानिसका भीड देखेँ। तर, मैले अवलोकन गर्न खोजेको कुकुरको कब्रिस्तानको नामनिशाना देखिएन।
पार्कभित्र कोही कुकुर डोर्याउँदै हिँडिरहेका थिए। कोही अपराह्नको घाममा बोसो पगाल्न दौडिँदै थिए। आफ्नै धुनमा मस्तसँग हिँडिरहेका अर्धनग्न तरुनीहरू र बेफिक्री माया साटासाट गरिरहेका केही युगल जोडीले त्यहाँको वातावरण रोमान्टिक बनाएका थिए। त्यस्तो रोमान्टिक वातावरणमा कुकुरको कब्रिस्तान खोज्दै हिँड्दा कुकुर डुलाइ भयो।
‘न भित्र प्रवेश गर्ने गेट खुलेको छ, न त सम्बन्धित मान्छे आइपुगेका छन्। हैट्, यस्तो पनि हुन्छ बेलायती समय ? ’ भिक्टोरिया गेट लजअगाडि उभिएर मुरमुरिन थालेँ। यस्तैमा, एउटा सेतो रङको झ्यापुल्ले कुकुर डोर्याउँदै हजुरआमा उमेरकी अंगे्रज महिला मतिर आइन्। मैले अंग्रेजीमा सोधँे, ‘कृपया बताइदिनुहुन्छ कि कुकुरको कब्रिस्तान कतातिर होला ? ’
‘डग सेमेट्री ? ह्वाट अ जोक् ? ’ झ्यापुल्लेलाई सुम्सुम्याउँदै उनी मूल सडकतिर लागिन्। अचम्म, त्यो झ्यापुल्ले कुकुर त मतिर फर्कीफर्की भुक्न पो थाल्यो। तिनको जवाफ र कुकुरको भुकाइ सुनेर अक्क न बक्क भएँ।
‘नभेटिएर हुन्छ र ? कुकुरको कब्रिस्तान हेर्न अग्रिम रूपमा अनलाइनबाट करिब पन्ध्र सय नेपाली रुपैयाँ बुझाइसकेको छु। प्रवेश शुल्क पनि लन्डनस्थित कार्ल माक्र्स लगायतका अन्य प्रसिद्ध व्यक्तिहरूको कब्रिस्तानमा भन्दा दोब्बर बढी शुल्क परेको छ। मान्छेभन्दा पनि महँगा कुकुरको कब्रिस्तान पनि विशेष नै होला’, मनमनै पैसाको हिसाबकिताब गर्न थालेँ।
हाइड पार्कको युनिफर्म लगाएका कर्मचारी बल्ल देखा परे। मलाई दिएको समयभन्दा करिब बीस मिनेटपछि हातमा फूल बोकेका दुई जना वृद्धालाई साथ लिएर उनी आए। कब्रिस्तान अवलोकन गर्ने म नै हो कि होइन भन्ने पक्का गर्न उनले मेरो नाम सोधे। मैले नाम बताएपछि ढिला हुन गएकोमा क्षमा मागे। विनम्र भएर क्षमा मागेपछि मैले के नै भन्नु थियो र ?
कुकुरको कब्रिस्तान हेर्न हाइड पार्कको कर्मचारीलाई पछ्याउन थालेँ। शमसानघाट र मान्छेका कब्रिस्तान एक्लै घुमेर आए पनि कहिल्यै नसुनेको कुकुरकोे कब्रिस्तानमा पहिलोपटक अवलोकन गर्न लागेकाले अलिक डर जस्तो भएको थियो। हुन त म जिउँदो कुकुरदेखि अलिक डराउँछु, त्यो आफ्नो ठाउँमा ठिकै होला। तर, जमिनमुनि गाडिएका कुकुरको कंकालसँग किन डराएको होला म ? मनलाई दह्रो बनाएँ।
भिक्टोरिया गेट लजबाट हामी भित्र पस्यौं। वरिपरि झ्याम्म परेका रूख र हलक्क बढेका हरिया झार जताततै थिए। रूखमाथि बसेर चराहरू विरही गीत गाइरहेका थिए। केही लोखर्केहरू यता र उता गर्दै खुर्रखुर्र दौडिरहेका थिए। भुइँभरि कुकुरका नाम लेखेर लहरै राखिएका शिलाहरू शोकमग्न अवस्थामा देखिए। ती सब हेर्दा त्यहाँको वातावरण अलिक अनौठो खालको लाग्यो र मलाई गम्भीर बनायो।
अलिक अगाडि बढेर हेर्छु त उक्त कब्रिस्तान ‘बेजवाटर रोड’ नामक मूल सडकसँग जोडिएको पो रहेछ ! अरू बेला विभिन्न समयमा त्यस रोडको दायाँबायाँ किनाराबाट कैयौंपटक हिँड्दा पनि त्यस कब्रिस्तानलाई ख्याल गरेको थिइनँ। सार्वजनिक रूपमा थाहा नहोस् भन्नाकै लागि त्यसलाई गोप्य राखिएजस्तो लाग्यो। सायद यही कारणले होला, त्यसलाई हाइड पार्कको ‘सिक्रेट सेमट्री’ पनि भनिन्छ। विशेष अनुरोधमा मात्र हेर्न पाइने त्यस कब्रिस्तान सर्वसाधारणका लागि खुला छैन। त्यसका लागि अनलाइनमा अग्रिम शुल्क तिरेर बुकिङ गर्नुपर्छ। रोयल पार्कले सञ्चालनमा ल्याएको कुकुरको कब्रिस्तान हेर्न बाह्रसत्ताइस प्रक्रिया पुर्याउनु पर्दा छक्क पर्छु। त्यो सबै देखेपछि अब पनि नाथे कुकुर भनेर हेप्लास् भनेर मेरो मनले आफैंलाई खबरदारी गर्यो।
मानिसले प्रियजनको कब्रमा फूल चढाएर रोएको देखेको थिएँ। तर कुकुरको कब्रअगाडि यसरी फूल चढाएर आँसु चुहाएको पहिलोपटक देख्नु पर्यो।
त्यहीँ उभिएर कुकुरको पुर्खाको इतिहास सम्झन थालेँ। तथ्यांकअनुसार विश्वमा सबैभन्दा बढी पालिने घरपालुवा जनावर कुकुर हो। मानिसको सहयोगी र पारिवारिक सदस्यका रूपमा कुकुर धेरै पहिलेदेखि रहिआएको छ। जनावरहरूमध्ये मानिससँग सबैभन्दा नजिकको सम्बन्ध भएको कुकुरको बफादारिता कसैसँग तुलना हुँदैन भनिन्छ। कुकुर पाल्ने मानिसमा नैराश्य कम हुने र कुकुरसँग खेल्दा तनाव कम हुने गरेको कुरा वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ। मानिसको सबैभन्दा उत्तम साथी कुकुरले दृष्टिविहीनका लागि बाटो देखाउने मात्र होइन, अपराध अनुसन्धान कार्यमा प्रहरीलाई पनि सघाउँछ।
विदेशको लामो बसाइमा मैले यताका मानिसमा कुकुर र बिरालासँग बढी आत्मीयता हुने गरेको देखेको छु। हुर्किसकेका छोराछोरीहरू भिन्न बस्न थालेपछि तिनका ठाउँ कुकुर र बिरालाले लिन्छन्। ती बिचरा बूढाबूढीहरूको पछिसम्मको पक्का साथी कुकुर र बिराला मात्र हुन्छन्। एक्ला मानिसहरू तिनै कुकुर र बिरालासँग संवाद गरेर आफ्नो जीवनको उत्ताराद्र्ध कटाएको देख्दा अनौठो लाग्छ।
‘तीन सयवटा कुकुर र दुईचारवटा बिरालोलाई यहाँ गाडिएको छ’, हाइड पार्कका कर्मचारीले लहरै ठड्याइएका शिलालाई देखाउँदै भने। त्यत्राबिधि कुकुर त्यहाँ गाडेको थाहा पाउँदा आश्चर्य मानेँ।
मानिससँग भावनात्मक रूपमा जोडिएको कुकुरलाई विदेशतिर कतिपयले कुकुरकै कब्रिस्तानमा लगेर गाड्ने गर्छन्। तर, नेपालमा कुकुर मरेपछि त्यसरी व्यवस्थित कब्रिस्तानमा लगेर गाड्ने प्रचलन छैन। र, कुकुरलाई तर्पण पिण्ड दिने गरेको कुरा कतै पढेको पनि छैन। न तिनका स्मृतिमा शिलालेख वा चौतारो बनाएको थाहा पाएको छु, न त कुकुरको जन्म र मृत्य वर्षौंसम्म सम्झने कुरा सुनेको छु।
पौराणिक कालदेखि नै मानिस र कुकुरबीच घनिष्ठ सम्बन्ध रहेकोे कुरा रामायण, महाभारत, ऋग्वेद आदिमा उल्लेख छ। कथाअनुसार महाभारत युद्धपश्चात् धर्मराज युधिष्ठिर र कुकुर मात्र स्वर्ग जान पाएको वर्णन छ। पूर्वीय दर्शनले कुकुरलाई यथेष्ठ सम्मान प्रकट गरेको छ। नेपालमा बर्सेनि यमपञ्चकको एक दिन कुकुरपूजा गरेर तिहार मनाउने चलन छ। जिउँदो हुँदा पूजा गरिने कुकुरलाई मृत्यपर्यन्त चाहिँ हामीले किन नसम्झेको होला ? कुकुरको कब्रिस्तान हेर्दाहेर्दै मेरो मनमा प्रश्न उठ्यो।
संसारको सबैभन्दा पुरानो तथा कुकुरको विशाल कब्रिस्तान इजरायलको तेल अस्केलोन नेसनल पार्कमा छ। उत्खननका क्रममा करिब तेह्र सयवटा कुकुरका कंकाल लहरै एकै ठाउँमा भेटिए। ती कब्रिस्तान इसापूर्व ५ तिरको हुन् भनिएको छ। त्यसरी तिनलाई एकै ठाउँमा धार्मिक कारणले गाडिएको अनुमान गरिएको छ। हाल त्यस कब्रिस्तानलाई विशेष संरक्षण गरेर राखिएको छ। तर, लन्डनको हाइड पार्कमा अवस्थित सरकारी रेखदेखमा रहेको कुकुरको कब्रिस्तानको इतिहास भने सन् १८८१ देखिको हो।
‘पुअर चेरी, डाइड २८ अप्रिल, १८८१’ लेखिएको एउटा शिलाअगाडि पुगेर रोकियौं। ‘चेरी नामको कुकुरको यस कब्रिस्तानको पहिलो कुकुर हो।’ हाइड पार्कका कर्मचारीले त्यस शिला देखाउँदै भने।
उति बेला हाइड पार्क प्रवेश गर्ने भिक्टोरिया गेटका गेट किपर विनब्रिजको स्थानीय दम्पतीसँग घनिष्ठ मित्रता भएछ। उमेरका कारण ‘चेरी’ नामको तिनको प्रिय कुकुर एक दिन मरेछ। उक्त कुकुरसँग ती दम्पती यति नजिक भएका रहेछन् कि मृत्युपर्यन्त पनि त्यसलाई स्मरण गर्न चाहे। कुकुर गाड्ने ठाउँको अभाव भएपछि उनीहरूले गेटकिपरलाई उक्त कुकुर त्यही भिक्टोरिया लज पछाडिको खुला जमिनमा गाड्न अनुमति मागेछन्। नभन्दै उनले पनि अनुमति दिए। मानिसलाई जसरी नै कुकुरलाई गाडेर त्यसको स्मृतिमा शिलास्तम्भ राखेको पहिलो घटनाले त्यस बेला चर्चा पायो। त्यस समयमा उक्त कार्यलाई अवश्य पनि मूर्खता वा पागलपनका रूपमा लिइयो होला भन्ने अनुमान गर्छु।
‘यो प्रिन्स जर्ज, ड्युक अफ क्याम्ब्रिजको कुकुरको कब्र हो’, पार्कका कर्मचारीले ‘पुअर प्रिन्स’ लेखिएको अर्को शिला देखाउँदै भने। दुर्घटनामा मरेको शाही कुकुर त्यस कब्रिस्तानको दोस्रो कुकुर रहेछ। राजपरिवारको कुकुरलाई त्यहाँ गाडेपछि त्यो स्थान झन् चर्चित भयो। हाइड पार्कको एक कुनामा चेरी नामको भाग्यमानी कुकुरलाई प्रिन्स लगायतका अन्य कुकुरहरूले साथ दिन थाले। धनीमानी र पहुँचवालाले आआफ्ना कुकुरलाई त्यहाँ गाड्न थालेपछि त्यहाँ कुकुरको संख्या थपिँदै गयो। अनौपचारिक रूपमा कुकुरको कब्रिस्तान बनेको त्यस स्थानमा तीन सय कुकुर गाडेपछि स्थान अभावका कारण सन् १९०३ देखि बन्द गरियो। कुकुरलाई गाड्न मात्र होइन, त्यहाँ सार्वजानिक रूपमा आममानिसलाई प्रवेश खुला छैन।
कब्रिस्तानवरिपरि चक्कर लगाउँदै जाँदा चिर निद्रामा सुतेका भाग्यमानी कुकुरका नामहरू पढ्न थालेँ। पिटर, बुचा, डोली, जुलु, बुगी, टमी, फ्रिकी, गुफी, बेबी, स्नाप आदि मायालु नाम पढ्दा ती कुकुरहरू परिवारका प्रिय सदस्यका रूपमा थिए भनेर अनुमान गर्छु। त्यहाँका मन छुने अभिव्यक्तिले मलाई झन् आकर्षित गर्यो। त्यहाँ लेखिएका वजनदार शब्दगुच्छाहरू मानिसका कब्रिस्तानमा लेखिएभन्दा कम थिएनन्। ती शब्दहरू पढ्दै जाँदा कुकुरप्रति मानिसको असीम प्रेमको झलक देखेँ।
‘बफादार सानो साथीको सम्झनामा’, ‘डार्लिङ तिमीलाई सम्झिरहेका छौं’, ‘तिमीलाई कहिल्यै बिर्सने छैनौं’, ‘तिम्रो स्थान अरू कसैले लिनेछैन’, ‘मेरो खुसी, मेरो आनन्द’, ‘मेरो सानु, तिमी शान्तिले सुतिराख’, ढुंगामा खोपेर लेखिएका यस्तै छोटा र हृदयस्पर्शी अभिव्यक्तिहरू पढ्दै जाँदा मनमा विचित्रको तरंग उठ्यो।
केही शिलामा त बाइबलका पंक्ति पनि लेखिएका थिए। ‘उनले हाम्रो जीवनमा उज्यालो लिएर आएकी थिइन्, तर त्यसलाई उनले लिएर गइन्’ काव्यमय यो वाक्य पढेपछि भावुक बनायो। अर्को शिलामा लेखिएका शब्दहरू पढ्दापढ्दै स्तब्ध भएँ। त्यहाँ लेखिएको थियो, ‘सम्झिरहनेछौं फ्रिट्ज र बलु, एक क्रूर स्विसबाट विष खुवाएर मारिएको।’ नाम उल्लेख नगरिएका स्विस नागरिकले मानिससँग बदला लिन सायद ती दुई कुकुरलाई मारेका थिए होलान्। निर्दोष कुकुरसँग मानिस यतिसम्म निर्दयी र ईष्र्यालु कसरी हुन सक्छ ? बेनामे ती स्विस नागरिकप्रति घृणा उत्पन्न भयो।
यसो हेर्छु, मसँगै कब्रिस्तान प्रवेश गरेका ती दुई वृद्धा ‘जुलु’ नामको कुकुरको कब्रमा फूल चढाएर केही बोलिरहेका देखेँ। एकछिनपछि त सुँक्क सँक्क गर्दै आँसु पो पुछ्न थाले। अहो, मानिसले प्रियजनको कब्रमा फूल चढाएर रोएको देखेको थिएँ तर कुकुरको कब्रअगाडि यसरी फूल चढाएर आँसु चुहाएको पहिलोपटक देख्नु पर्यो। तिनका आँसुले मेरो मन अलिक उदास भयो। कुकुरसँग उनीहरूको कस्तो प्रेम हो ? त्यस कुकुरसँग तिनको कुन सम्बन्ध होला ?कारण थाहा पाउन मन लागे पनि रोइरहेका मानिसलाई सोध्न मिलेन। त्यो खुल्दुली कब्रिस्तानभर साथै रह्यो।
जीवनमा पहिलोपटक कुकुरको कब्रिस्तान भ्रमण गर्दाको विचित्र अनुभव अनि त्यसले पर्यटकलाई आकर्षित गरेर पैसासमेत कमाएको देख्न पाउनु मेरो लागि अनौठो घटना थियो। ब्रान्डिङ गरेर बेच्ने हो भने पर्यटनका नाममा जे पनि बिक्री हुँदो रहेछ भन्ने कुरा कुकुरको कब्रिस्तान घुमेपछि थाहा भयो। यस्ता कुराबाट नेपालका पर्यटनसँग सम्बन्धित निजी तथा सरकारी निकायले कहिले सिक्लान् ?
कुकुरको कब्रिस्तानलाई दुई चक्कर लगाएर आँखाभरि कब्रिस्तानको तस्बिर टाँसेर बाहिरिएँ। त्यत्रोविधि पैसा तिरी, विशेष समय मिलाएर कुकुरको कब्रिस्तान हेर्न पाउँदा ठूलो अवसर आएजत्तिकै भयो। यसरी कुकुरको कब्रिस्तान हेर्न पाउँदा आफूलाई भाग्यमानी नठानेर भयो त ?मनमनै गजक्क परेँ।
म घरमा कहिल्यै कुकुर पाल्न नचाहने, अझ भनौं मन नपराउने मान्छे। कुकुरको कब्रिस्तान अवलोकन गर्न जानु मेरो परिवारको सदस्यका लागि अनौठो घटना हो। एकपटक कान्छो छोरा सुयशले उसको बर्थडेमा सानो कुकुर ‘बर्थडे प्रेजेन्ट’को रूपमा माग्दा अरू नै चिज दिएर उसको मन दु:खी बनाउने बाबु म नै हुँ। तर, कुकुरको कब्रिस्तान घुमेर फर्केपछि कुकुरप्रति मेरो धारणा परिवर्तन भएर आयो। कुकुरप्रति माया र सम्मानको ग्राफ माथि चढ्दै गर्दा एउटा कुकुर पाल्ने तीव्र इच्छाले घर बनाइसकेको थियो।
घरमा कुकुर ल्याएँ भनेँ त्यसको नाम के राख्ने होला ? त्यो मर्यो भने कहाँ गाड्ने ? कुकुरको दाहसंस्कार गर्ने हिन्दू विधि छ कि छैन ? कुकुर स्मृतिमा एउटा शिला पनि स्थापना गर्नुपर्ला। त्यस शिलामा अंग्रेजीमा होइन, नेपालीमै दुईचार शब्द लेखाउनु पर्ला। बाटाभरि यस्तै अनौठा कुरा मनमा खेलाउँदै अन्डरग्राउन्ड ट्रेन स्टेसनतिर लागेँ। .
प्रतिक्रिया दिनुहोस !