आजको समाजलाई केवल दक्ष मानिस होइन, चिन्तनशील मानिसको आवश्यकता छ। किनभने प्रविधि र सूचना जति नै बढे पनि विवेक र मानवीय संवेदनशीलताबिना समाज समृद्ध हुन सक्दैन।
मानव जीवनको सबैभन्दा ठूलो शक्ति भनेकै सोच्ने क्षमता हो। यही सोच्ने क्षमताले नै मानिसलाई पृथ्वीको सबैभन्दा चेतनशील प्राणी बनाएको हो। मानिसले आफ्नो अनुभव, ज्ञान, भावना र कल्पनालाई विचारमा बदल्न सक्छ। तर, विचारका स्वरूपहरू भने फरक–फरक हुन सक्छन्।
कुनै विचारले जीवनलाई सकारात्मक दिशातर्फ डो¥याउँछ, आत्मविश्वास बढाउनुका साथै नयाँ सम्भावनाको ढोका खोल्छ। त्यही विचारलाई ‘चिन्तन’ भनिन्छ। चिन्तन भनेको मनको शान्त यात्रा हो, जहाँ हामी प्रश्नहरूको गहिराइमा डुब्छौं र जीवनको सार्थकता खोज्छौं। यो चासो र समझदारीको मिश्रण हो, जसले हामीलाई अन्धकारबाट उज्यालोतर्फ डो¥याउँछ। चिन्तनले हाम्रो भित्री संसारलाई समृद्ध बनाउँछ।
अर्कोतर्फ, कुनै सोचाइले मनलाई डर, असुरक्षा र तनावले भरिदिन्छ भने त्यो चिन्ता बन्छ। यिनै दुई अवस्थाबीच जिज्ञासा एउटा उज्यालो पुलका रूपमा उभिन्छ, जसले मानिसलाई चिन्ताबाट मुक्त गराएर सिर्जनात्मक चिन्तनतर्फ लैजान सक्छ। चिन्ता भनेको भविष्यको कल्पनाले वर्तमानको शान्ति खोस्ने मनको बोझ हो। यो प्रायः अज्ञातको डरबाट उत्पन्न हुन्छ र हामीलाई निरन्तर अशान्त बनाउँछ। तर, सही समयमा चिन्तालाई चिन्तनमा बदल्न सकियो भने यो जीवनको मार्गदर्शक पनि बन्न सक्छ। जिज्ञासा भनेको आत्माको बालक जस्तो निष्पाप गुण हो, जसले हरेक कुरामा ‘किन’ र ‘कसरी’ भन्ने प्रश्न उठाउँछ। यो ज्ञानको बीज हो, जसले हामीलाई निरन्तर नयाँ कुरा सिक्न र खोज्न प्रेरित गर्छ। जिज्ञासा जीवन्त रह्यो भने हाम्रो जीवन कहिल्यै निरस हुँदैन।
आजको आधुनिक समाजमा मानिसका सुविधाहरू धेरै नै बढेका छन्। दिनानुदिन सूचना र प्रविधिको विकासले संसार नजिकिएको छ। तर विडम्बना के छ भने, मानिसको मन अझै शान्त हुन सकेको छैन। संसारको बाहिरी विकाससँगै भित्री असन्तोष पनि उत्तिकै बढ्दै गएको छ। विद्यालयदेखि विश्वविद्यालयसम्म, गाउँदेखि सहरसम्म, सबैजना कुनै न कुनै प्रकारका चिन्ताले घेरिनुका साथै रुमल्लिरहेका देखिन्छन्। भविष्यको डर, असफलताको त्रास, आर्थिक दबाब, सामाजिक तुलना र अपेक्षाको भारीले मानिसलाई भित्रभित्रै कमजोर बनाइरहेको हुन्छ।
- विद्यालय र विश्वविद्यालयहरूले आलोचनात्मक सोच, अनुसन्धान र जिज्ञासालाई प्रोत्साहन गर्ने हो भने विद्यार्थीमा चिन्तनशीलता बढ्छ र चिन्ता कम हुन्छ। अनि मात्रै सकारात्मकता र सिर्जनशीलताको विकास हुन्छ।
- समाजले पनि सफलता भन्ने शब्दलाई गलत ढंगले व्याख्या गरिरहेको छ। आज सफलता भनेको केवल पैसा, मानसम्मान, पद वा बाहिरी प्रतिष्ठासँग जोडेर हेर्ने प्रवृत्तिा बढेको छ। यही कारणले मानिस आफूलाई अरूसँग तुलना गर्न थाल्छन्। तर वास्तविक सफलता भनेको आत्मसन्तुष्टि, मानसिक शान्ति र उद्देश्यपूर्ण जीवन हो।
यस्तो अवस्थामा ‘चिन्तन’ र ‘चिन्ता’बीचको अन्तर बुझ्नु आजको सबैभन्दा ठूलो आवश्यकता बनेको छ। चिन्तन भन्नाले मनभित्रको गहिरो, तार्किक र सकारात्मक सोचलाई बुझिन्छ। चिन्तनले मानिसलाई समस्याबाट भाग्न होइन, समाधान खोज्न सिकाउँछ। यसले जीवनलाई उद्देश्यपूर्ण बनाउँछ। प्राचीन युनानी दार्शनिक सुकरातका अनुसार, आत्मविश्लेषण र विचारबिनाको जीवन अर्थहीन हुन्छ। यो भनाइले स्पष्ट देखाउँछ कि चिन्तन जीवनको मार्गदर्शक शक्ति हो। चिन्तन गर्ने मानिसले केवल परिस्थितिलाई दोष दिँदैन, बरु त्यसलाई सुधार्ने उपाय खोज्छ।
इतिहासलाई अझै गहिरिएर हेर्ने हो भने संसारका धेरै परिवर्तन चिन्तनकै परिणाम भएको पाइन्छ। वैज्ञानिक आविष्कार, राजनीतिक परिवर्तन, सामाजिक सुधार र साहित्यिक सिर्जना– यी सबैको जडमा गहिरो चिन्तन रहेको पाइन्छ। अल्बर्ट आइन्स्टाइनले गुरुत्वाकर्षण वा समयको सापेक्षताको सिद्धान्त केवल पुस्तक पढेरमात्र पत्ता लगाएका थिएनन्; उनले निरन्तर चिन्तन गरे, प्रश्न गरे र उत्तर खोजे। त्यसैले उनका अनुसार, ‘जिज्ञासा नै महान् उपलब्धिको आधार हो।’
तर, जब यही सोचाइ असन्तुलित बन्छ, तब त्यो ‘चिन्ता’मा रूपान्तरित हुन्छ। चिन्ता भनेको भविष्यको अनिश्चिततालाई लिएर वर्तमानमा हुने अत्यधिक डर र आन्तरिक तनाव हो। चिन्ताले मानिसलाई वर्तमानबाट टाढा लैजान्छ। ऊ आफूले गर्न सक्ने कामभन्दा पनि हुन सक्ने समस्याको कल्पनाको गहिराइमा हराउन थाल्छ। यही कारणले धेरै मानिसहरू अवसरभन्दा बढी जोखिम देख्न थाल्छन्। धेरै टाढाको अनिश्चितताप्रति डराउनुभन्दा वर्तमानमा गर्नुपर्ने काममा ध्यान दिनुपर्छ। वास्तवमा चिन्ताले मानिसको ऊर्जा नष्ट गर्छ भने चिन्तनले ऊर्जा सिर्जना गर्छ। चिन्तित मानिसले कुनै पनि सम्भावना देख्दैन, केवल समस्यामात्र देख्छ। तर चिन्तनशील मानिसले हरेक समस्याभित्रै सम्भावनाको खोजी गर्छ। तसर्थ, चिन्ता होइन चिन्तन गरौं।
आजका युवाहरूमा बढ्दो मानसिक तनावले चिन्ताको गम्भीरता झन् स्पष्ट बनाएको छ। पढाइ, परीक्षा, बेरोजगारी, करियरको प्रतिस्पर्धा, पारिवारिक दबाब र सामाजिक अपेक्षाले धेरै युवाहरूलाई मानसिक रूपमा थकित बनाइरहेको छ। हालको सामाजिक सञ्जालको प्रभावले यो समस्या अझ गहिरिएको पाइन्छ। फेसबुक, इन्स्टाग्राम वा टिकटकमा अरूको सफलताको चम्किलो तस्बिर हेर्दाहेर्दै धेरै मानिस आफूलाई कमजोर ठान्न थाल्छन्।
अझ झन् तुलना गर्ने बानीले आत्मविश्वास घटाउँछ र चिन्ता बढाउँछ। बाहिरबाट खुसी देखिने मानिसहरू भित्रभित्रै पीडित हुन सक्छन्। यस्तो अवस्थामा चिन्ताबाट मुक्त हुने सबैभन्दा प्रभावकारी उपाय भनेकै सकारात्मक तथा सिर्जनात्मक चिन्तन र जिज्ञासाको विकास हो। ‘जिज्ञासा’ भन्नाले नयाँ कुरा जान्न चाहने स्वाभाविक इच्छालाई बुझिन्छ। हरेक जिज्ञासु मानिसले प्रश्न गर्छ, सिक्न खोज्छ र परिवर्तनलाई अवसरका रूपमा हेर्छ। जिज्ञासाले मानिसलाई डरबाट बाहिर ल्याउँछ। जब मानिस प्रश्न गर्न थाल्छ र प्रश्न निर्माण गर्न खोज्छ, तब उसले उत्तर पनि खोज्न थाल्छ। यही प्रक्रिया नै चिन्तनको सुरुवात हो।
बालबालिकाको व्यवहारलाई हेर्दा जिज्ञासाको वास्तविक अर्थ बुझ्न सकिन्छ। एउटा बच्चाले बारम्बार ‘किन ?’ भनेर प्रश्न गर्छ। ऊ संसारलाई बुझ्न चाहन्छ। तर दुर्भाग्यवश, हाम्रो समाज र शिक्षा प्रणालीले धेरैजसो अवस्थामा यस्तो जिज्ञासालाई प्रोत्साहन गर्दैन। विद्यार्थीलाई प्रश्न गर्नभन्दा पनि जसरी पनि उत्तर कण्ठ गर्न सिकाइन्छ। सिर्जनात्मकताभन्दा परीक्षा केन्द्रित शिक्षा प्रणालीलाई प्राथमिकता दिइन्छ। जसको परिणामस्वरूप, विद्यार्थीहरू ज्ञानका खोजकर्ता होइन, केवल अंकका प्रतिस्पर्धी बन्न बाध्य हुन्छन्।
शिक्षाविद् पाउलो फ्रेरेले शिक्षालाई ‘मुक्तिको माध्यम’ भनेका छन्। उनका अनुसार शिक्षा भनेको केवल जानकारी भर्ने प्रक्रियामात्र होइन, यो त मानिसलाई सोच्न र प्रश्न गर्न सक्षम बनाउने प्रक्रिया हो। यदि विद्यालय र विश्वविद्यालयहरूले आलोचनात्मक सोच, अनुसन्धान र जिज्ञासालाई प्रोत्साहन गर्ने हो भने विद्यार्थीहरूमा चिन्तनशीलता बढ्छ र चिन्ता कम हुन्छ, अनि मात्रै समाजमा सकारात्मकता र सिर्जनशीलताको विकास हुन्छ।
परिवारको भूमिका पनि यहाँ अत्यन्त महŒवपूर्ण हुन्छ। बालबालिकालाई सानैदेखि प्रश्न गर्न, आफ्ना विचार राख्न र नयाँ कुरा सिक्न प्रेरित गरियो भने उनीहरू आत्मविश्वासी बन्छन्। तर यदि डर, दबाब र आलोचनाको वातावरण सिर्जना गरियो भने उनीहरूमा असुरक्षा र चिन्ता बढ्न सक्छ। धेरै अभिभावकले आफ्ना अधुरा सपना सन्तानमाथि थोपर्ने प्रयास गर्छन्। यसले बालबालिकाको स्वाभाविक रुचि र सिर्जनात्मकतालाई कमजोर बनाउँछ।
समाजले पनि सफलता भन्ने शब्दलाई गलत ढंगले व्याख्या गरिरहेको छ। आज सफलता भनेको केवल पैसा, मानसम्मान, पद वा बाहिरी प्रतिष्ठासँग जोडेर हेर्ने प्रवृत्ति बढेको छ। यही कारणले मानिसहरू आफूलाई अरूसँग तुलना गर्न थाल्छन्। तर वास्तविक सफलता भनेको आत्मसन्तुष्टि, मानसिक शान्ति र उद्देश्यपूर्ण जीवन हो। यदि मानिसले आफ्नो क्षमताअनुसार लक्ष्य निर्धारण गर्न सिक्यो भने चिन्ता स्वतः कम हुँदै जान्छ।
प्रविधिको विकासले पनि चिन्तन, चिन्ता र जिज्ञासालाई एकसाथ प्रभावित गरिरहेको छ। इन्टरनेटले ज्ञानको विशाल संसार खोलेको छ। आज एउटा विद्यार्थीले संसारका उत्कृष्ट विश्वविद्यालयका सामग्री घरमै बसेर अध्ययन गर्न सक्छ। नयाँ सीप सिक्न सक्छ, अनुसन्धान गर्न सक्छ र आफ्नो प्रतिभा प्रदर्शन गर्न सक्छ। यो जिज्ञासा र चिन्तनका लागि ठूलो अवसर हो। तर, यही प्रविधिको गलत प्रयोगले मानिसलाई भ्रम, तुलना र सूचनाको अराजकतामा पनि फसाइरहेको छ। त्यसैले प्रविधिलाई साधनका रूपमा प्रयोग गर्न सिक्नुपर्छ, जीवनको नियन्त्रणकर्ताका रूपमा होइन।
दार्शनिक एरिस्टोटलका अनुसार, आफूलाई चिन्नु नै ज्ञानको सुरुवात हो। वास्तवमा, जब मानिसले आफ्ना क्षमता, कमजोरी र उद्देश्यलाई बुझ्न थाल्छ, तब ऊ अनावश्यक चिन्ताबाट मुक्त हुन थाल्छ। आत्मचिन्तनले मानिसलाई बाहिरी प्रतिस्पर्धाभन्दा भित्री विकासतर्फ केन्द्रित गराउँछ। बौद्ध दर्शनले पनि चिन्ताको समाधान वर्तमानमा बाँच्नुमा देखाएको छ। भूतकालप्रतिको पश्चाताप र भविष्यप्रतिको अत्यधिक डरले मानिसलाई अशान्त बनाउँछ। वर्तमानलाई सही रूपमा उपयोग गर्न सक्ने मानिस नै वास्तवमा सफल र शान्त बन्न सक्छ। ध्यान, योग, पुस्तक अध्ययन, सिर्जनात्मक कार्य र सकारात्मक संवादले चिन्तालाई कम गर्न मद्दत गर्छ।
आजको समाजलाई केवल दक्ष मानिस होइन, चिन्तनशील मानिसको आवश्यकता छ। किनभने प्रविधि र सूचना जति नै बढे पनि विवेक र मानवीय संवेदनशीलताबिना समाज समृद्ध हुन सक्दैन। यदि युवाहरूले चिन्तालाई आफ्नो नियति मानेर बस्ने हो भने उनीहरूको क्षमता सीमित हुन्छ। तर यदि उनीहरूले जिज्ञासालाई साथी बनाएर चिन्तनको बाटो रोजे भने उनीहरू व्यक्तिगतमात्र होइन, सामाजिक परिवर्तनका संवाहक पनि बन्न सक्छन्।
चिन्तन किन गर्ने ? : चिन्तन मानव मस्तिष्कको त्यो सिर्जनात्मक र सकारात्मक प्रक्रिया हो, जसले जीवनलाई सही दिशा र अर्थ दिन्छ। आखिर हामीले चिन्तन किन गर्ने त ? जिज्ञासा उठ्नु स्वाभाविक छ। चिन्तनले मानिसलाई कुनै पनि समस्याको गहिराइसम्म पुग्न, त्यसको कारण र परिणाम पहिल्याउन र सही समाधानका उपायहरू खोजी गर्न मद्दत गर्दछ। यसले हाम्रो चेतना, विवेक र बौद्धिक क्षमतालाई फराकिलो बनाउँछ, जसका कारण हामी सही र गलतबीचको भेद छुट्ट्याउन सक्छौं। जब जीवनका लक्ष्य, समाज र कर्तव्यहरूका बारेमा गम्भीर चिन्तन गर्छौं, तबमात्र नयाँ विचार, आविष्कार र प्रगतिको मार्ग खुल्छ। संक्षेपमा भन्नुपर्दा, अल्मलिएको जीवनलाई स्पष्टता दिन र आफैंभित्रको असीमित सम्भावनालाई उजागर गर्न चिन्तन अपरिहार्य छ।
चिन्ता किन नगर्ने ? : चिन्तनको विपरीत चिन्ता एउटा यस्तो मानसिक भ्रम हो, जसले मानिसलाई समाधानतर्फ होइन, झन् ठूलो अन्धकारतर्फ धकेल्छ। त्यसो भए चिन्ता किन नगर्ने ? यसको मुख्य कारण यो हो कि चिन्ताले समस्याको हल कहिल्यै गर्दैन, बरु भएको ऊर्जा र क्षमतालाई पनि नष्ट गरिदिन्छ। चिन्ताले भविष्यका ती काल्पनिक डरहरूसँग लड्न खोज्छ, जुन सायद कहिल्यै घटित नै हुँदैनन्। यसले मानिसको वर्तमान क्षणको आनन्दलाई मात्र खोस्दैन, बरु मानसिक तनाव, अनिद्रा र विभिन्न शारीरिक रोगहरूसमेत निम्त्याउँछ। चिन्ता एउटा गुडिरहेको ‘रकिङ चियर’ जस्तै हो, जसले हामीलाई व्यस्त त राख्छ तर कतै पु¥याउँदैन। त्यसैले, समय र स्वास्थ्यको बर्बादीबाट बच्नका लागि चिन्ता त्याग्नु नै बुद्धिमानी हुन्छ।
चिन्तन र चिन्ताबीचको भिन्नता : यी दुई शब्द सुन्दा उस्तै–उस्तै लागे पनि यिनको प्रकृति र परिणाम आकाश–जमिनको जस्तै फरक छ। यी दुईबीचको वास्तविक भिन्नता के हो त ? चिन्तन ‘लक्ष्यमुखी’ र ‘सकारात्मक’ हुन्छ, जसले समस्याबाट बाहिर निस्कने ढोका खोल्छ; तर चिन्ता ‘समस्यामुखी’ र ‘नकारात्मक’ हुन्छ, जसले मानिसलाई एउटै पीडाको चक्रव्यूहमा फसाएर राख्छ र समस्यामात्र सिर्जना गर्छ। चिन्तनले मानिसलाई कर्मशील, उत्साही र साहसी बनाउँछ भने चिन्ताले मानिसलाई दिनानुदिन असहाय, कमजोर र निष्क्रिय तुल्याउँछ। चिन्तन विवेकको उपज हो जसले जीवन सुधार्छ, जबकि चिन्ता डरको उपज हो जसले जीवन बिगार्छ। त्यसैले, जीवनलाई सार्थक बनाउन चिन्ताको दलदलबाट निस्किएर चिन्तनको खुला आकाशमा उड्न सिक्नु आजको अपरिहार्यता हो।
जिज्ञासा के हो ? : जिज्ञासा भन्नाले कुनै पनि नयाँ कुरा जान्ने, बुझ्ने वा सिक्ने तीव्र मानवीय इच्छा र कौतूहलता हो। यो मानव मस्तिष्कमा स्वतः उब्जने त्यो प्रश्नवाचक चिह्न हो, जसले ‘यो के हो ?’, ‘किन हो ?’ र ‘कसरी भयो ?’ भन्दै सत्य र यथार्थको खोजी गर्न प्रेरित गर्छ। जिज्ञासा नै संसारका सम्पूर्ण ज्ञान, विज्ञान, अनुसन्धान र नयाँ आविष्कारहरूको जननी हो। त्यसैले त जब मानिसको मनमा जिज्ञासा पैदा हुन्छ, तबमात्र उसले चिन्तन गर्न थाल्छ र अज्ञानताको अँध्यारोबाट ज्ञानको उज्यालोतर्फ पाइला चाल्छ। छोटकरीमा भन्नुपर्दा, जिज्ञासा मानव चेतनालाई जीवन्त र सक्रिय राख्ने एउटा यस्तो ऊर्जा हो, जसले हामीलाई सधैं अगाडि बढ्न र केही नयाँ कुरा सिक्न निरन्तर घचघच्याइरहन्छ।
चिन्तन, चिन्ता र जिज्ञासा : यी तीन कुरा मानव जीवनका अभिन्न पक्ष हुन्। तर, कुन पक्षलाई प्राथमिकता दिने भन्ने कुरा हरेक व्यक्तिको आ–आफ्नो चेतना र अभ्यासमा निर्भर गर्ने कुरा हो। चिन्ताले मानिसलाई कमजोर बनाउँछ भने चिन्तनले ऊर्जावान् र सशक्त बनाउँछ। जिज्ञासाले मानिसलाई अँध्यारोबाट उज्यालोतर्फ लैजान्छ। त्यसैले जीवनलाई अर्थपूर्ण, सिर्जनात्मक र सकारात्मक बनाउन चिन्ताभन्दा चिन्तनलाई रोज्न आवश्यक छ।
हरेक व्यक्तिले आफूलाई एउटा प्रश्न सोध्नुपर्छ— ‘म डर र चिन्तामा बाँचिरहेको छु कि खोज, प्रश्न र चिन्तनमा ?’ यदि उत्तर चिन्तामा छ भने, आजैबाट जिज्ञासाको दीप बालेर चिन्तनतर्फ यात्रा सुरु गर्नुपर्छ। किनकि उज्यालो भविष्यको ढोका खोल्ने साँचो बाहिर होइन, आफ्नै सोचभित्र लुकेको हुन्छ।
प्रतिक्रिया दिनुहोस !