तिब्बती अधिकारकर्मीले संयुक्त राष्ट्रसंघ मुख्यालयअगाडि किन गरे आत्मदाह ?
न्युयोर्क : अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ (UN) को मुख्यालयबाहिर एक ५२ वर्षीय तिब्बती अधिकारकर्मीले आत्मदाह गरेका छन्। लामो समयदेखि न्युयोर्कमा बस्दै आएका, ट्याक्सी चालकका रूपमा कार्यरत र स्थापित तिब्बती अभियान्ता लोब्साङ पाल्डेन (जो 'लोब्गा राङ्जेन' नामले परिचित थिए) उनको उपचारका क्रममा बेलभ्यु अस्पतालमा मृत्यु भएको हो।
न्युयोर्क र न्युजर्सी क्षेत्रका तिब्बती युवा कांग्रेसका अध्यक्ष जाम्पेल छोसाङले 'रेडियो फ्री एसिया'लाई दिएको जानकारी अनुसार, राङ्जेन चिनियाँ शासनअन्तर्गत तिब्बतको स्वतन्त्रता र मानव अधिकारका सवालमा विश्वव्यापी चेतना जगाउन विभिन्न प्रदर्शन र अभियानहरूमा सधैं सक्रिय रहँदै आएका थिए।
न्युयोर्क प्रहरीका अनुसार बिहीबार साँझ करिब ६:३० बजे प्राप्त आपतकालीन ९११ कलपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। फर्स्ट एभिन्युस्थित राष्ट्रसंघ भवनको विपरित दिशामा पर्ने सडकमा शरीरभरि चोट र जलन भएका राङ्जेनलाई फेला पारिएको थियो। घटनाको करिब एक मिनेटमै सुरक्षाकर्मीले अग्निनियन्त्रक उपकरण (फायर एक्स्टिंगुइशर) प्रयोग गरी आगो निभाए पनि अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए।
राङ्जेनले आत्मदाह गर्नुअघि आफ्नो फेसबुक अकाउन्टमार्फत प्रत्यक्ष प्रसारण (लाइभ स्ट्रिम) गरेका थिए। भिडियोमा उनले आफ्नो क्यामेरा सडकको किनारमा राखेर संयुक्त राष्ट्रसंघको भवन अगाडिको सडकको बीच भागमा (ट्राफिक मेडियन) गएको देखिन्छ। त्यहाँ उनले एउटा ट्राफिक पोस्टमा तिब्बतको ठूलो झण्डा राखे र 'तिब्बतको स्वतन्त्रता' का लागि नारा लगाउँदै आफ्नो शरीरमा आगो लगाएका थिए ।
आगो लगाउनुअघि फेसबुकमा पोस्ट गरिएको अर्को भिडियोमा राङ्जेनले तिब्बतको वर्तमान अवस्था र तिब्बती भाषा एवं संस्कृतिको संरक्षणको महत्त्वबारे कुरा गरेका थिए। उनले चिनियाँ सरकारको नीतिहरूको कडा आलोचना गर्दै त्यसलाई तिब्बती पहिचान मेट्ने प्रयासका रूपमा वर्णन गरेका थिए। उनले विश्वभर रहेका र प्रवासमा रहेका तिब्बतीहरूलाई आफ्नो हक, स्वतन्त्रता र पहिचानका पक्षमा एकजुट हुन र आफ्नो संस्कृति 'कहिल्यै नभुल्न' आह्वान गरेका थिए।
लोब्गा राङ्जेनका मित्र थुप्तेन छोएनीले रेडियो फ्री एसियालाई बताए अनुसार राङ्जेनले आत्मदाह गर्नुभन्दा करिब १५ मिनेटअघि (बेलुकी ५:३० बजेतिर) उनीसँग व्हाट्सएपमा भिडियो कल गरेका थिए। छोएनीले भने, 'हाम्रा अघिल्ला कुराकानीहरू भन्दा फरक, यस पटक उनी निकै शान्त स्वरमा बोलिरहेका थिए र निकै निराश सुनिएका थिए। उनले मलाई भने-‘मलाई लाग्छ चीनले हाम्रो कुरा कहिल्यै सुन्ने छैन।’
छोएनीका अनुसार कलका क्रममा राङ्जेनले चुरोट खाइरहेका थिए र कोकको बोतलबाट घुट्क्याउँदै थिए, जसका कारण उनको टी-शर्ट भिजिसकेको थियो। उनले आफू संयुक्त राष्ट्रसंघको भवन अगाडि रहेको बताएका थिए र अचानक सोधेका थिए- 'के म हाम्रो भिडियो कलको स्क्रिनसट लिन सक्छु?' स्वीकृतिको लगत्तै उनले तस्बिर पठाए र त्यसको केही समयपछि यो आत्मघाती कदम चाले। यो कदम चाल्नुअघि उनले आफ्ना केही अन्य नजिकका साथीहरूलाई पनि फोन गरेका थिए।
यो आत्मदाह चीन सरकारले नयाँ ‘जातीय एकता र प्रगति कानुन’ लागू गरेको भोलिपल्टै भएको हो। बेइजिङको भनाइमा यो कानुनले विभिन्न जातीय समुदायलाई राष्ट्रिय मूलधारमा अझ मजबुत रूपमा समाहित गर्ने, अल्पसंख्यक क्षेत्रहरूमा चिनियाँ भाषाको प्रयोगलाई अनिवार्य गर्ने र धर्मको 'सिनिसाइजेसन' (चिनियाँकरण) गर्दै राष्ट्रिय एकता र स्थायित्व ल्याउने लक्ष्य राखेको छ।
तर, तिब्बती, उइगुर तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूले यस कानुनप्रति गम्भीर चिन्ता र विरोध जनाएका छन्। आलोचकहरूका अनुसार यो कानुनले तिब्बती र उइगुर समुदायको जबरजस्ती आत्मसातकरण र सांस्कृतिक पहिचान मेटाउने कार्यलाई तीव्र बनाउनेछ। यसले बेइजिङको बढ्दो अन्तरदेशीय दमन र विदेशमा रहेका असन्तुष्ट आवाजहरूलाई दबाउने चिनियाँ क्षमतालाई कानुनी बल पुर्याउने चेतावनी दिइएको छ।
यस घटनाप्रति एम्नेस्टी इन्टरनेसनलले गहिरो दुःख व्यक्त गर्दै यसलाई तिब्बतमा लामो समयदेखि जारी चिनियाँ दमनको विवश परिणाम भएको उल्लेख गरेको छ। एम्नेस्टीकी उप-क्षेत्रीय निर्देशक सारा ब्रुक्सले भनिन्, 'हाम्रो सहानुभूति मृतकका परिवार र सम्पूर्ण तिब्बती समुदायप्रति छ। तिब्बतीहरूद्वारा विरोध स्वरूप गरिने आत्मदाह बिना कारण भएको होइन। यसले मानव अधिकार उल्लंघनका घटनातर्फ विश्वको ध्यानाकर्षण गराउन मानिसहरू कतिसम्म विवश र निराश छन् भन्ने देखाउँछ।' एम्नेस्टीले चीनसँग तिब्बतमा संयुक्त राष्ट्रसंघका विज्ञहरू र स्वतन्त्र पर्यवेक्षकहरूलाई निर्बाध पहुँच दिन माग गर्दै मृतकका परिवारमाथि हुन सक्ने प्रतिशोधपूर्ण कारबाही रोक्न समेत आग्रह गरेको छ।
त्यस्तै भारतको धर्मशालास्थित निर्वासित तिब्बती प्रशासन (केन्द्रीय तिब्बती प्रशासन) का प्रमुख पेन्पा छिरिङले राङ्जेनको राष्ट्रप्रतिको समर्पणको सम्मान गर्दै उनको निधनमा गहिरो दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, 'हामी उनको समर्पणको सम्मान गर्छौँ, तर मानव जीवन बहुमूल्य छ र तिब्बतको दीर्घकालीन संघर्षका लागि यसलाई जोगाउँदै शान्तिपूर्ण र अहिंसात्मक माध्यमबाट आवाज उठाउनु आवश्यक छ।'
मानवअधिकार संस्थाहरूका अनुसार चिनियाँ शासन र नीतिको विरोधस्वरूप सन् २००९ यता १५० भन्दा बढी तिब्बतीहरूले आत्मदाह गरिसकेका छन्। जसलाई तिब्बती अभियानमा 'शरीरको आहुति' भनिन्छ। यद्यपि चीनले तिब्बत आफ्नो अभिन्न भूभाग भएको दोहोर्याउँदै आफ्ना नीतिहरू राष्ट्रिय एकता, स्थायित्व र विकासका लागि आवश्यक रहेको बताउँदै आएको छ।
शुक्रबार बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा यस घटनाबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले 'सिजाङ' (तिब्बतको चिनियाँ नाम) प्राचीन कालदेखि नै चीनको अविभाज्य भूभाग रहेको दाबी दोहोर्याए। उनले आफ्ना नीतिहरू राष्ट्रिय एकता र विकासका लागि आवश्यक रहेको बताउँदै 'सम्बन्धित देश (अमेरिका) ले यस मामिलालाई आफ्नो देशको कानुन बमोजिम सुल्झाउने' मा बेइजिङ विश्वस्त रहेको टिप्पणी गरे।
यता, संयुक्त राष्ट्रसंघका प्रवक्ताले यो घटना बिहीबारका सबै बैठकहरू सकिएपछि भएको हुनाले राष्ट्रसंघको दैनिक कार्यतालिका र बैठकहरूमा कुनै असर नपरेको जानकारी दिएका छन्। घटनाको खबर फैलिएसँगै न्युयोर्कस्थित राष्ट्रसंघ मुख्यालयबाहिर तिब्बतीहरूले दीप प्रज्वलन र प्रार्थना सभा गरेका थिए भने धर्मशाला (भारत), अष्ट्रेलिया, ताइवान र संयुक्त राज्य अमेरिकाका विभिन्न क्षेत्रमा रहेका तिब्बती समुदायहरूले उनको सम्झनामा शोक तथा प्रार्थना सभाहरू आयोजना गरिरहेका छन्।
त्यस्तै चिनियाँ केन्द्रीय सरकारले तिब्बतीहरूमाथि दमन गर्न थालेपछि सन् १९५९ मार्च ३१ का दिन १४ औँ दलाई लामाले तिब्बत छाडेका थिए। त्यसपछि नेपाल, भारत लगायत अधिकांश मुलुकहरूमा तिब्बती नागरिकहरू शरण लिएर बसिरहेका छन्।
विश्वभरका तिब्बती नागरिकहरूले जुलाई ६ मा दलाई लामाको जन्मोत्सव धुमधामसँग मनाउने तयारी गरिरहेका छन्। दलाई लामाको जन्मदिनको पूर्वसन्ध्यामा, तिब्बतमा आफ्ना नागरिकहरूमाथि भइरहेको चिनियाँ दमनको विरोधमा एक तिब्बती नागरिकले संयुक्त राष्ट्रसंघको मुख्यालय अगाडि गरेको आत्मदाहलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यस घटनाले यतिबेला विश्वको ध्यान समेत आकर्षित गरेको छ।
-एजेन्सीहरुकाे सहयाेगमा
प्रतिक्रिया दिनुहोस !