भल्ताभा नदी शान्तसँग बगिरहेको छ। पर्यटकका हल्ला बोकेर ससाना पानीजहाज र डुंगाहरू दौडिरहेका छन्। म रोकिएको छु– भल्ताभा नदीमाथि बनेको ऐतिहासिक चार्ल्स ब्रिजमा। रोकिएका छैनन्, पर निकै पर नदी किनारैकिनार दौडिएका मेरा आँखा। घरी माथि निकै माथि नीलो आकाशमा बादलका ससाना टुक्राहरूसँगै दौडिन्छन् आँखा। घरी बुर्कुसी मार्दै दौडिन्छन्– वरपरका प्राचीन र कलात्मक भवनहरूमा। ७ सेप्टेम्बर, २०२५ को सुन्दर बिहान। यतिबेला किताबदेखि किताबसम्मको यात्रामा छु।
चेक रिपब्लिकको राजधानी प्राग सहरमा शेक्सपियर नामको पुस्तक पसलबाट भर्खर बाहिर निस्केको छु। धेरै अघि बेलायतमा जन्मिएका संसार प्रसिद्ध साहित्यकार शेक्सपियरलाई खोज्दै उनको जन्मघर पुगेको थिएँ। उनलाई समाधीस्थ गरेको चर्चभित्र पुगेर श्रद्धासुमन अर्पण गरेको थिएँ। लन्डनमा बनाइएको शेक्सपियर मन्दिरमा पुगेर उनलाई दर्शन गरेको थिएँ। जहाँ–जहाँ पुग्छु– शेक्सपियरको नाम देख्नेबित्तिकै रोकिएको छु। यस पटक फेरि रोकिएको थिएँ, शेक्सपियर पुस्तक पसलका अगाडि। रोकिएका मेरा पाइला अनायसै पसलभित्र प्रवेश गरेका थिएँ।
पसलभित्र उडिरहेका थिए पुस्तकका सुगन्ध। मुस्कुराई रहेका थिए पुस्तकहरू। शान्त थिए पुस्तक खोज्ने ग्राहकहरू तर तिनका नयन दौडिरहेका थिए, विभिन्न पुस्तकहरूमा। अंग्रेजी भाषाका पुस्तकहरू भएको निकै पुरानो पुस्तक पसलका अधिकांश ग्राहक पर्यटकहरू थिए। सायद शेक्सपियरको नाम भएकाले होला– तिनीहरू पसलमा पुगेका। शेक्सपियरको देशबाट गएको म घुमन्तेले पसलभित्र किन्नु केही थिएन। पुस्तकहरूमा सर्सती नजर दौडाएर निस्केको थिएँ– पुस्तकहरूको धरहरातर्फ।
बाटो छेउको स्टारबक्स कफी सपमा अमेरिकानो कफी किन्छु। हातमा कफी बोकेर चुस्की लिँदै हिँडिरहेको छु–प्राग सहरको पुराना गल्लीहरूमा। बडो रमाइला हुन्छन्, युरोपका पुराना गल्लीहरू। तर प्राग सहरका गल्ली भने अलिक फरक छन्। इतिहास, वास्तुकला र साहित्यको महानगर प्राग सहरका गल्लीहरूबाट देख्न सकिन्छ– गोथिक शैलीका झ्यालहरू र बारोक शैलीका भवनहरू, ससाना क्याफे र रेस्टुरेन्टहरू। तिनलाई देख्दा मध्ययुगीन सहरमा हिँडेको झल्को दिलाउँछ। ती दृश्य देखेर गल्लीमा हिँड्ने पर्यटक मुग्ध हुन्छन्। म घुमन्ते पनि दुई दिनदेखि अलमलिरहेको छु प्राग सहरका विभिन्न गल्लीमा।
‘इनफिनिटी बुक टावर’ अर्थात् पुस्तकहरूको त्यो अनन्त धरहरा पाठक, लेखक र सामान्य व्यक्तिका लागि समेत प्रेरणादायी स्थल हो। जसले प्रेरणामात्र दिँदैन, बरु सिकाउँछ जीवन उपयोगी पाठ।
ढुंगा बिछ्याइएको पुराना गल्लीमा पाइला चालिरहेको छु। सामुन्ने देखिएका वास्तुकलाहरूले मलाई बारम्बार रोक्न खोज्छन्। सुन्छु– गल्लीहरूमा बसेका संगीतकारहरूले बजाइरहेका कर्णप्रिय धुन। देख्छु– गल्लीमा बसेका चित्रकारहरूले बनाइरहेका जीवन्त चित्रहरू। प्राग सहरले मलाई नदेखेको कला र संगीतको अर्को संसारमा देखाइरहेको छ। ती दृश्यमा नअल्मलिई लगातार हिँडिरहेको छु– पुस्तकहरूको संसार खोज्दै। जहाँ शब्दहरू धरहरा बनेर ठडिएका छन्।
चढ्छन्– अवलोकनकर्ताका आँखा पुस्तकहरूको धरहरामा। हराउँछन्– मानिसहरू पुस्तकहरूको अद्भुत संसारमा। धेरै समयदेखि पढ्दै आएको, चित्रमा देखेको, टीभीमा हेरेको उक्त ठाउँ प्रत्यक्षरूपमा हेर्ने उत्साहले छिटछिटो चलिरहेका छन्, मेरा पाइला। कफी पिएर सकिएकै छैन। पुगिसकेछु मेरो गन्तव्य नगरपालिकाको पुस्तकालय अगाडि। पुस्तकालयभित्र रहेको ‘आइडम’ नाम दिइएको ‘इनफिनिटी बुक टावर’ हेर्ने हतारो छ मलाई। पुस्तकालयभित्र कफीको कप लिएर प्रवेश गर्न पाइँदैन, स्वादिलो कफी फाल्न पनि सक्दिनँ। कफी लिएर पुस्तकालयको ठीक अगाडि ढुंगा बिछ्याइएको खुला चोकमा पुग्छु।
चोकमा बस्न थुप्रै कुर्सी राखिएका छन्। आफूलाई बिसाउँछु एउटा कुर्सीमा। म बसेको ठीक अगाडि आमनेसामने छन् चेक रिपब्लिकको राष्ट्रिय पुस्तकालय र नगरपालिकाको पुस्तकालय। दुवै पुस्तकालय म बसेको ठाउँबाट करिब ५० मिटरको दूरीमा छन्। पुस्तक र पुस्तकालयको महt\व चेक रिपब्लिकका नागरिकले राम्ररी बुझेका छन् र त आमनेसामने खोलिएका छन् ठूलठूला पुस्तकालय। प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेका छन्, ‘तपाईंले अनिवार्यरूपमा जान्नुपर्ने एकमात्र कुरा भनेको पुस्तकालयको ठेगाना हो।’ पुस्तकालयका बारेमा ‘ह्यारी पोटर’की लेखिका प्रसिद्ध उपन्यासकार जे. के. रोलिङले भनेको सम्झन्छु, ‘शंका लागेमा पुस्तकालय जानुहोस्।’ वास्तवमा पुस्तकालय हरेक व्यक्तिले पुग्नै पर्ने गन्तव्य हो। ज्ञानको उज्यालो हो। शंका निवारण गर्ने थलो हो।
मायालु घाम खसिरहेको छ धरतीमा। घाम तापेर बसेका छन् गमलामा फुलेका फूलहरू। उडिरहेका छन् फूलका वासना हावामा। गुञ्जिरहेका छन् सहरका हल्लाहरू मेरा कानमा। म कफी घुट्काउँदैछु। केही मानिसहरू कुर्सीमा बसेर पुस्तक पढिरहेका छन्। देखिरहेको छु मेरो अगाडिको कुर्सीमा बसेकी एक बेचैन सुन्दरी। ती सुन्दरी सायद कसैको प्रतीक्षामा या कुनै तनावमा होलिन्। उनी घरी मोबाइल फोन र घरी सडकतिर आँखा लगाइरहेकी छन्। वरपरका दृश्य मेरा आँखाले स्वाद मानेर हेरिरहेका छन्। अन्त्यमा, कफीको अन्तिम घुट्को पिएर उठ्छु।
जिज्ञासु मन लिएर नगरपालिकाको पुस्तकालयभित्र प्रवेश गर्छु। भित्र पस्ने बित्तिकै पुस्तकहरूको अनौठो संसारमा पुग्छु। अगाडि देख्छु पुस्तकहरूले बनेको अग्लो धरहरा। अवलोकन गर्नेहरूको लामो लाइन छ। रोकिँदै, हिँड्दै सुस्तरी पाइला चलिरहेका छन् अवलोकनकर्ताहरू। पुस्तकहरूको धरहरा अगाडि फोटो खिचिरहेका केही मानिसहरू। एक युगल जोडी धरहरालाई तलदेखि माथिसम्म हेर्दै चक्कर लगाइरहेका छन्। धरहराको छेउमा एक युवक डायरीमा केही टिपिरहेका छन्। अवलोकनकर्ताहरू ध्यानमा बसेजस्ता मौन छन्। सहरको हल्ला यहाँसम्म आइपुगेको छैन। मानिसले चालेको पाइलाका हल्का आवाज र मानिसले सास फेरेको आवाजमात्र सुनिन्छ। शान्तिको साम्राज्य चलिरहेको छ पुस्तकहरूको धरहराको अगाडि। यहाँ आवाजभन्दा पनि मौनता बोलिरहेको छ। लाग्छ रहस्यमय ठाउँमा छु।
पुस्तकहरूको धरहराको सामुन्ने पुग्दा केही क्षण निःशब्द भएँ। जसरी पुस्तकभित्रका शब्दहरू मौन छन्, त्यसरी नै मेरो मन पनि मौन बन्यो। मेरा चञ्चल आँखा सरासर पुस्तकहरूको धरहरामाथि चढ्छन् र परिक्रमा गर्छन् धरहरालाई। हार्ड कभर भएका आठ हजार वटा पुस्तक एकमाथि अर्को राखेर बनाइएको करिब १५ फिट अग्लो गोलाकार धरहराको संरचना भुईंदेखि छतसम्म जोडिएको छ। पुस्तकको धरहराभित्र टाउको छिराएर हेर्न अग्रभाग अलिकति खाली राखिएको छ। त्यहाँबाट भित्र चियाइरहेका छन् केही अवलोकनकर्ता। मेरो पालो आएपछि धरहराको भित्र टाउको छिराएर चियाउँछु।
पुस्तकहरूको धरहराको भुइँ र माथि छतमा जडान गरिएको रहेछ, ऐना। ऐनामा झल्किएको प्रतिबिम्बले गर्दा पुस्तकै पुस्तकको धरहरालाई तलदेखि माथिसम्म जता हेर्दा पनि अनन्त बनाइदिएको छ। तल झुकेर हेर्दा होस् वा माथि हेर्दा पुस्तकहरू समाप्त हुँदैनन्। त्यहाँ अनन्तताको आभासमात्र भएन, पुस्तकहरूको एउटा लामो सुरुङजस्तो भ्रम सिर्जना ग र् यो। मानौं, म ज्ञानको सुरुङमा चियाइरहेको छु। पुस्तकहरूको धरहराले ज्ञानको अनन्ततालाई प्रतीकात्मक रूपमा देखाएको जस्तो लाग्यो। त्यत्रा पुस्तकहरूका अगाडि अज्ञानी देखिन्छु। मेरो ज्ञानको परिधि धुलोको एउटा सानो कण बराबर छ तर मेरो उत्सुकता भने विशाल थियो।
पुस्तकहरूको सुरुङबाट आँखा भने बाहिर निस्कन मानेका छैनन्। पुस्तकहरूको गहिरो इनारमा हेरेजस्तो, लामो सुरुङमा चिहाए जस्तो, दुई अनन्तताको बीचमा उभिएजस्तो भ्रममा छु। भ्रम मार्गमा बेस्सरी दौडिरहेका छन् मेरा आँखा। आफूलाई मनपर्ने पुस्तकको पाना पल्टाउँदै जाँदा समय बितेको थाहा नै नहुने अवस्था जस्तो हराइरहेको छु पुस्तकहरूको सुरुङमा। त्यसलाई हेरिरहँदा अनन्त यात्रामा हिँडे जस्तो अनुभूति। अनेक कुरा सिकिने र देखिने त्यस्ता यात्रामा गन्तव्यभन्दा पनि यात्राको अनुभव नै महt\वपूर्ण हुन्छन्। म कल्पना गर्छु, पुस्तकहरूको सुरुङमा हिँडिरहँदा थकाइ लागेमा सायद पुस्तकहरूमा अडेस लागेर त्यहीँको पुस्तक झिकेर पढ्छु होला।
अथवा, पुस्तकको सिरानी लगाएर आँखा चिम्म गरेर आराम गर्छु होला। यदि सुरुङ मार्गमा रात पर्यो भने त्यो ठाउँ कस्तो देखिन्छ होला ? सायद ज्ञानका उज्यालो बोकेका अक्षरहरू अँध्यारोमा झन् चम्किन्छन् होला। ती अक्षरहरूले देखाउलान् सहज बाटो। ती अक्षहरूलाई हेर्न र पढ्नलाई त दिव्यचक्षु नै चाहिन्छ होला। हेरेर धीत मरेकै छैन। मोबाइल फोन निकालेर फटाफट तस्बिर खिच्छु। तर मेरा आँखाले देखे जस्तै ठ्याक्कै उही दृश्य क्यामेरामा कैद हुन सकेनन्। ती अद्भुत दृश्यहरू क्यामेरामा हैन हृदयमा कैद गर्नु पथ्र्यो। हृदयमा भण्डार भएका अनुपम दृश्यहरू बोकेर धरहराको बाहिरी भाग वरिपरि बिस्तारै घुम्न थालें।
पुस्तकै पुस्तकले बनेको धरहराका पुस्तकहरूमा आँखा दौडाउँछु। त्यहाँ राखिएका प्रत्येक पुस्तकहरू फरकफरक विधाका थिए। चिकित्सा, इतिहास, राजनीति, दर्शन, उपन्यास, कथा, कविता आदिका पुस्तकहरूले बनेको ज्ञानको धरहराले संसारभरका विभिन्न आवाज बोकेका थिए। मानिसका कथाव्यथा, संघर्ष, सपना र विचार, आविष्कारका कुराहरू एकै ठाउँमा संकलित थिए। मानव सभ्यताको लिखित दस्तावेजहरूको प्रदर्शनी जस्तो ती पुस्तकहरू ज्ञानको आलोकले चम्किरहेका थिए। त्यहाँ नेपाली पुस्तकहरू पनि छन् कि भनेर घुमीघुमी हेर्छु, अहँ देखिएन। अन्तर्राष्ट्रिय स्तरमा हाम्रो साहित्यको उपस्थिति कमजोर भएकाले त्यहाँ नराखिएको हो कि भन्ने अनुमान गर्छु। सायद कुनै दिन नेपाली कलाकारहरूले पनि बनाउँलान्, नेपाली पुस्तकहरूको धरहरा। ज्ञानको अनन्त उचाइले गर्दा सगरमाथाभन्दा पनि अग्लो देखिनेछ त्यो धरहरा। यस्तै कुराहरू मनमा खेल्न थाले।
दान गरिएका र केही फालिएका पुस्तकहरूबाट बनेको छ धरहरा। यो धरहरा पुस्तकहरूको संग्रहमात्र होइन न त कलाकारले बनाएको कला मात्र हो। यो त अनन्त ज्ञानको एकदम अग्लो स्तम्भ हो। पाठकहरूले पढेर नसकिने पुस्तकहरूको अग्लो चाङ हो। पुस्तकप्रेमीहरूका लागि स्वप्निल अनुभव हो। धरहराका प्रत्येक पुस्तक एउटा जीवन, एउटा अनुभव, एउटा सन्देश, एउटा इतिहास र एउटा युग हो। यसो विचार गर्छु, मानिस पनि पुस्तक जस्तै दुःख, सुख, सपना, संघर्ष र सफलताहरूका चाङ हुन्। तीमध्ये एउटा समाप्त हुन्छ र अर्को सुरु भइहाल्छ।
कहिलेकाहीँ ती सँगसँगै आउँछन् र जान्छन्। तर समय भने घुमिरहन्छ आफ्नै गतिमा अनन्त कालसम्म। पुस्तकको धरहराको अगाडि चक्कर लगाउँदै गर्दा मनमा यस्तै विचारले फन्को मारिरहे। धीत मरुञ्जेल पुस्तकहरूको धरहरा भित्र र बाहिर हेरिसकेको थिएँ। बाहिर निस्कनुअघि अन्तिम पटक धरहरालाई हेरें। पुस्तकहरूको धरहराले भनिरहेको थियो घर, टोल, सहरमा पुस्तकालय बनाऊ। नियमित पुस्तक पढ। मलाई यस्तो लाग्यो कि पुस्तक पढ्न रुचि नहुनेहरू यहाँ आएपछि पुस्तकको राम्रो पाठक बन्नेछन्। लेखकहरूले समेत यहाँबाट थप ऊर्जा प्राप्त गर्नेछन्। जसले मेरो मनमा समेत
लेखनका लागि थप ऊर्जा भरिदिएको थियो।
मनभरि उत्साह र ऊर्जा बोकेर बाहिर निस्कन्छु। मसँगै निस्केका जापानबाट आएका दुई अवलोकनकर्तासँग चिनजान भयो। ‘सामान्य जस्तो देखिए पनि पुस्तकहरूको धरहराले धेरै ठूलो अर्थ बोकेको छ’, हारुतो नामका सज्जनले भनेथे। मैले उनको कुरामा समर्थन जनाउँदै टाउको हल्लाएँ। ‘पुस्तकहरूले बनेको धरहरामाथिसम्म आँखाले चढिहाल्नु भयो। अब खुट्टाले नेपालको सगरमाथा चढ्न आउनु होला।’ उनीहरूलाई निम्तो दिएँ। उनीहरूले मुसुक्क हाँसेर टाउको झुकाउँदै धन्यवाद भने। दुई हात जोडेर नमस्ते भन्दै मैले पनि बिदा मागें।
सडकमा प्रशस्त पर्यटकहरू छन्। सहरको हल्ला चलिरहेको छ। तर मेरो मन भने अझै पुस्तकहरूको धरहरा वरिपरि घुमिरहेको थियो। मेरा आँखाले घरी पुस्तकहरूको धरहरा चढ्थे घरी पुस्तकहरूको सुरुङ मार्गमा दौडन्थे। ती दृश्यहरू सम्झँदा म यसरी पुस्तकको संसारमा हराएछु कि बाटोमा हिँडिरहँदा प्रत्येक भवन एउटा पुस्तक जस्तो लाग्न थाल्यो। हिँडिरहेका मानिस कथाका पात्र जस्ता देख्छु। मानिसका बोलीचाली र हाउभाउ अभिनयजस्ता अनि वरपरका वातावरण कविताजस्ता लागे। आँखाले देखेको प्रत्येक वस्तु ज्ञानका स्रोतजस्ता थिए। पुस्तकहरूको धरहराले मलाई अवलोकनकर्ताबाट कथाकार, कवि, नाटकको दर्शक र खोज तथा अनुसन्धानकर्ता बनाइदियो। मेरो मनमा कथाका प्लट र कविताका बिम्बहरू दौडिन थाले, बेस्सरी।
ट्राफिक लाइटमा बाटो काट्न उभिएको बेला आफैंलाई सम्झन्छु। म पनि त विभिन्न पुस्तकहरूले बनेको धरहराजस्तै विविधताले भरिएको धरहरा त हो नि। संघर्ष, सफतता, धोका, दुःख, पीडा, सपना, आशा, निराशा आदिले जोडिएर बनेको छु म। प्रतिकूल अवस्थामा पनि ढलेको छैन, सतिसालझैं ठिंग उभिएको छु। मेरा जीवनयात्रा, मेरा शब्द, मेरा अनुभव र मेरा स्मृति सवै धरहराको भित्री संरचनाहरू हुन्। ‘म’ नामको धरहरा कुन दिन ढल्ने हो थाहा छैन। मेरो मात्रै के कुरा, पुस्तकहरूको धरहरा पनि कुनै दिन ढल्न सक्छ। संसारमा कोही अजम्बरी छैन, हरेक वस्तु नाशवान् छन्। अनन्तकालसम्म बाँचिरहने त समय मात्र हो। मनमा यस्तै अनौठा विचार मडारिन्छन्।
सडक पार गरेर अर्को पट्टी पुग्छु। सम्झन्छु, पुस्तकहरूको धरहराले मेरो मनमा पारेको गहिरो प्रभाव। त्यहाँ बिताएको समय, त्यहाँको मौनता र अद्भूत अनभूति मेरो यात्राको गहिरो अध्याय बनेर बसेका छन्। ‘इनफिनिटी बुक टावर’ अर्थात् पुस्तकहरूको त्यो अनन्त धरहरा पाठक, लेखक र सामान्य व्यक्तिका लागि समेत प्रेरणादायी स्थल हो। जसले प्रेरणामात्र दिँदैन त्यसले सिकाउँछ जीवन उपयोगी पाठ। त्यो धरहरा जहाँ वास्तविकता एउटा छ तर अनन्ताको भ्रम सिर्जना हुन्छ। मानिसको जीवन पनि त्यस्तै हो, वास्तविकता एउटा हुन्छ तर मानिसमा भ्रम हुन्छन्।
हरेक मानिस जिन्दगीभर भ्रमको पछिपछि दौडिरहन्छन्। भ्रममा रमाउँछन्। भ्रममा बाँच्छन्। अन्त्यमा, भ्रम बोकेरै मर्छन्। पुस्तकहरूको धरहरालाई पहिलो पटक देख्दा म निःशब्द भएको सम्झन्छु। त्यसलाई पहिलो पटक हेर्दा जो कोही एकछिन मौन हुन्छन्। जब तिनले पुस्तकहरूको अनन्त सुरुङ मार्ग देख्छन्, तिनका विचार तीव्र गतिमा दौडिन्छन्। त्यसबेला मौनता बोल्छ तर आवाजहरू शान्तसँग बस्छन्। बाटोमा हल्ला सुन्दै भिडसँगै चुपचाप हिँडिरहेको छु तर मनको सुरुङमार्गमा थुप्रै अनौठा विचार दौडिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !