कोइला जस्ता बने हिमाल

कोइला जस्ता बने हिमाल
हिउँ पग्लिएर कालो बन्दै गएको ताप्लेजुङको टिपताला क्षेत्रको हिमाल। राजेन्द्र श्रेष्ठ

ओलाङ्चुङगोला बस्तीबाट मंसिरको समयमा बिहानै हेर्दा उत्तरतर्फ चाँदी झैं टल्कने हिमाल देखिन्थे। नजिकै रहेका स–साना पहाड पनि हिउँले आकर्षक देखिन्थे। अनि, चीनको सीमा क्षेत्रतर्फ जाँदा हिउँ पन्छाउँदै जानुपथ्र्यो। तर, अहिले मंसिर सकिन लाग्दासमेत त्यो दृश्य देखिँदैन।

जलवायु परिवर्तनको असरले हिउँ पग्लिएर कालापत्थर जस्तै बनेका छन्। समुद्र सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइ भयो भने पहाडलाई सधैं हिउँले छोप्छ। हिमाल यस्तै हिउँले छोपिएको पहाड हो। तर, अहिले त्यहीँ हिमाल नांगिएर पहाड बनेका छन्। यो मार कञ्चनजंघा हिमाली क्षेत्रले पनि भोगेको छ।

फुङ्लिङ नगरपालिका–८ का सूर्यमान लिम्बु प्रत्येक दिन कञ्चनजंघा, कुम्भकर्णलगायतका हिमालमा आफ्नो आँखा डुलाएर मात्र दैनिकी सुरुआत गर्थे। अब यो अवस्था हराउने पो होकि भन्ने चिन्ता उनलाई छ। किनभने पहिले भारी बोकेर पर्यटकसँग कञ्चनजंघा आधार शिविरसम्म पुगेका उनी अहिले हिउँ नदेखेर आतिएका छन्। भन्छन्, ‘यहीँ हिउँ हेर्न आउने पर्यटक आएनन् भने हामी के गर्ने ?’

ताप्लेजुङका गुरुङ समुदाय हिमालमा हिउँ पातलिँदा अझै आतिएका भेटिन्छन्। किनभने उनीहरूको सम्बन्ध हिमाल र हिउँ अनि भेडा पालनसँग जोडिएको हुन्छ। हिमाल नाङ्गिए पानीको समस्या हुने र चरन क्षेत्रमा घाँस नहुने पीर उनीहरूलाई छ। गुरुङहरू भेडा चराउँदै कञ्चनजंघा र कुम्भकर्ण हिमालका टाकुराहरू चाहर्छन्। ती हिमालका फेदीमा अहिले पानीकै समस्या पर्लाकी भन्ने स्थानीयलाई चिन्ता पर्न थालेको छ। स्थानीय हर्कराज गुरुङ भन्छन्, ‘पहिलेका हिमाल त कोइला जस्ता पो भए। प्रकृतिले किन ठगिरहेछ यहाँ ?’

हर्कराज सानै उमेरमा बुबालाई सघाउन भेडा गोठसम्म पुगेका थिए। अहिले उनी त्यो सानु हुँदाको समयको जस्तो अवस्था हिमाली क्षेत्रमा देख्दैनन्। आजभोलि हिमाल हेर्न लायकको नभएको गुरुङले बताए। भने, ‘हिमाल सेताम्य हुन्थ्यो सधैं। तर, आजभोलि कोइला जस्तै कालो देखिन थालेको छ।’ लिम्बू र गुरुङको अनुभवले यस क्षेत्रमा छोटो समयमा नै चाँडै हिउँ पग्लिएको प्रष्ट पार्छ। 

हिमालमा हिउँ पर्न कम हुन थालेपछि चिसो पनि क्रमशः घट्दै गएको उनीहरूको अनुभव छ। पहिले मंसिर–पुससम्ममा अत्याधिक हिमपात र चिसो हुने हुँदा कात्तिक अन्तिमबाट तल्लो क्षेत्र झर्ने स्थानीय र गोठ पनि पछिल्लो समय कमै मात्र झर्ने गरेको गुरुङ बताउँछन्। हिमालमा यस्तो असर परेर हिउँ पग्लन थाले हिमाल सुक्खा हुन्छ। हिमाल काला भए पानीको मुहान सुक्छ। चौंरी याकहरूले पानी खान पाउँदैनन्। जमिन सुक्खा हुँदै गएपछि घाँस उम्रिँदैन। घाँस नभएपछि चौंरी, याक तिर्खा र भोकले मर्ने चिन्ता ताप्लेजुङका हिमाली क्षेत्रका स्थानीयलाई छ। 

ताप्लेजुङकै एक हिमाली गाउँ हो याङमा। यस गाउँका समुदायको मुख्य पेसा चौंरी याकपालन हो। उच्च हिमाली स्थान भएकाले अन्न हुँदैन। त्यसैले चौंरी, याक र गोठ नै मुख्य आम्दानीको स्रोत हो। जलवायु परिवर्तनको असर बढ्न थालेपछि यस क्षेत्रका स्थानीय धेरै चिन्तित छन्। हिमालमा हिउँ पग्लेर ढडेलो लागेको जस्तै कालो पत्थर जस्तै हिमाल हुँदै गएपछि स्थानीय चिन्तित बनेको फक्ताङलुङ गाउँपालिका–६ का बसन्त लिम्बू बताउँछन्। 

हिमालमा हिउँ नपर्दा यसको असर तल्लो क्षेत्रमा पनि परेको छ। पानी नपर्ने र हुरी बतास मात्र चल्ने भएकाले खरेडीबाट अलैंची बगान जोकाउनै मुस्किल हुने गरेको लिम्बू बताउँछन्। माथिल्लो क्षेत्रमा आलु रोप्ने र समयमा हिउँ र पानी नपरे रोपेको बाली नसप्रने स्थानीयको पीडा छ। विगतका वर्षहरूमा मंसिरको दोस्रो सातादेखि नै हिमाली क्षेत्रमा हिउँ पर्न सुरु हुन्थ्यो। तर, यसवर्ष भने सामान्य मात्रै हिमपात भएको स्थानीय बताउँछन्। समुद्रसतहदेखि ३ हजार ५०० मिटरमा अस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा हिउँ परे बाली सप्रने हुँदा किसान खुसी हुने बताउँछन्। तर, पछिल्लो समय हिमाल नै नांगिन थालेपछि चिन्ता बढेको बताए। 

क्षति गर्ने अरू, बेर्होने हिमाली नागरिक

ताप्लेजुङमा नै छ कञ्चनजंघा संरक्षण क्षेत्र। ठूलो क्षेत्रफल ओगटेकाले वनजंगल पनि धेरै नै छन्। स्थानीयहरू जलवायु परिवर्तन बढाउने क्रियाकलापमा पनि संलग्न छैनन्। तर, उनीहरू नै यसको क्षति बेहोर्न बाध्य छन्। फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू यस क्षेत्रका नागरिकलाई ‘नखाएको बिस लागेको’ बताउँछन्। भन्छन्, ‘जलवायु परिवर्तन गर्नमा अन्य ठूला राष्ट्र, जो धनी भनिएकाहरू लागेका छन्। तर, उनीहरूले गरेको असर हामी जस्ता नागरिक र हाम्रा हिमालले भोग्नुपरेको छ।’

उनी यसरी भएको क्षतिपूर्ति स्थानीयले पाउनुपर्ने बताउँछन्। ‘स्थानीयले पछिल्लो समय बाढी, पहिरो र अस्वाभाविक वर्षा सँगै हिमपातको असर भोगिरहेका छन्। उनीहरू कुन समय के गर्ने भन्ने सम्मको दोधारमा छन्। यो विषयमा सरकार मात्रै होइन यसरी क्षति गर्ने मुलुकहरू पनि जिम्मेवार बन्नुपर्छ।’

जलवायु परिवर्तनको असर खासगरी हिमाली क्षेत्रमा बढी छ। यसले स्थानीयवासीको जीवनशैली कष्टकर बनाएको अध्यक्ष लिम्बू बताउँछन्। भन्छन्, ‘हिमालमा हिमरेखाभन्दा माथिसम्म हिउँ पग्लदै गइरहेको छ। जलवायु परिवर्तनले गर्दा वातावरणमा प्रतिकूलता आएको छ। हिउँ समयमै नपर्नु पनि प्रत्यक्ष अप्रत्यक्ष वातावरणमा असर पुर्‍याएको हुन्छ।’ कञ्चनजंघा हिमशृंखला क्षेत्रमा विश्वकै दुर्लभ जनावर हिउँ चितुवाको विशेष बासस्थान मानिन्छ। हिउँ नै पग्लदै गएपछि हिउँ चितुवासमेत संकटमा पर्न सक्ने उनी बताउँछन्। जलवायु परिवर्तनका असरका कारण हिमाली क्षेत्रमा हिमताल सुक्ने, पानीको मुहान सक्दै जाने, वन–जंगल सुक्खा हुने भएकाले वन जंगलमा ढडेलो लाग्ने क्रमसमेत बढ्दै गएको छ। यो क्रमले वन जंगलमा रहने वन्यजन्तुको समेत स्थानान्तरण हुँदै जाने सम्भावना छ।


 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.