कक्षा ४ देखि ८ सम्म स्थानीय पाठ्यक्रम थप्दै हेटौंडा
हेटौंडा : नगरका बिभिन्न बिद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई स्थानीय विषयमा जानकारी दिने उद्देश्यसहित हेटौंडा उपमहानगरपालिकाले नयाँ पाठ्यक्रम निर्माणको तयारी गरेको छ।
२०७९ सालबाट कक्षा १ देखि ३ सम्म अध्यापन गराउँदै आएको स्थानीय पाठ्यक्रमलाई ४ देखि ८ कक्षासम्म सञ्चालनको तयारी गरिएको हो। चालु शैक्षिक सत्रबाट लागू हुनेगरी निर्माण गर्न लागिएको ४ देखि ८ सम्मको स्थानीय पाठ्यक्रमका लागि सुझाव संकलन गरिएको छ।
शिक्षा विकास इकाइका प्रमुख दिनानाथ गौतमले अन्य पालिकाले पनि आफ्नो पाठ्यक्रम निर्माण गरी अध्यापनमा लगाइसकेको भन्दै चाडै पुस्तक निर्माणका काम सकेर अघि बढ्न सुझाव दिए। पालिकाले पाठ्यक्रम निर्माण गर्दा स्थानीय पहिचानको विषयलाई राम्रोसँग उजागर गर्न जरुरी रहेको बताए। सानै उमेरबाट उनिहरुले स्थानीय पहिचानलाई सहज भाषमा बुझ्नेगरी पुस्तक तथार गर्न सुझाव दिए।
‘हाम्रो हेटौंडा’ नाम रहेको स्थानीय पाठ्यक्रमलाई नगरको आफ्नो मौलिकता झल्कने गरी निर्माण गर्ने तयारी रहेको छ। पाठ्यक्रममा स्थानीय बिषयबस्तुलाई बालबालिका माझ लैजाने गरी पुस्तक निर्माण हुने उपमहानगरको शिक्षा विकास महाशाखाले जनाएको छ। पुस्तकमा स्थानीय कला, सस्कृति, भाषा, भेषभुषा र जातिय पहिचानसहितको सन्दर्भ सामग्री समेटिने महाशाखा प्रमुख सिताराम कोइरालाले जानकारी दिए।