जसपा नेपाल सातामै तीन टुक्रा

जसपा नेपाल सातामै तीन टुक्रा
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल एक सातामै तीन टुक्रामा विभाजित भएको छ। उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपालबाट छुट्टिएर बिहीबार प्रा.डा.महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा गठन गरिएको छ।

आइतबार मात्रै यादवबाट अलगिएर अशोक राई समूहले जनता समाजवादी पार्टी गठन गरेका थिए। यादवको स्वच्छाचारी प्रवृत्तिले पार्टी भताभुंग भएर टुक्राटुक्रामा विभाजित भएको असन्तुष्ट नेता राई र लावतीको भनाइ छ। तर, उपेन्द्र यादवले पार्टी फुटको कारण व्यक्तिगत स्वार्थ रहेको प्रष्टीकरण दिइरहेका छन्।

जसपा नेपालभित्र चुलिएको विवादले त्यस पार्टीका वरिष्ठ नेता अशोक राईले यादवसँग डिभोर्स गरेको पाँच दिनपछि लावती समूहले पार्टी टुक्र्याएका हुन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेर पहिचानवादी मोर्चा घोषणा गरेका थिए। पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको डा. लावतीको आरोप छ। 

उनले भने, ‘अहिले हामी जसपा नेपाल वा जसपा कुनैको पक्षमा छैनौं। तर, पहिचानवादीहरूसँग सहकार्य गर्छौं।’ उनका अनुसार नेपाल बहुजातीय समाज हो। राज्य पनि बहुजातीय हुनुपर्ने हो। सबैको पहिचान स्थापित हुनुपर्छ। तर, सदियौंदेखि एकल जातीय राज्य स्थापित भएको र अहिले पनि एकल जातीय राज्य नै कायमै रहेकाले पहिचानको मुद्दा राजनीतिक एजेन्डा हो।

नेता लावतीले जसपा नेपालले पहिचानका मामलामा स्पष्ट विचार नराखेकाले समेत आरोप लगाए। उनले भने, ‘प्रदेश नं. १ को पुनः नामांकन गर्न आन्दोलन गर्दै आएको संयुक्त संघर्ष समितिलाई सघाउँछौं।’

अशोक राईले पनि मुख खोले 

नवगठित जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष अशोक राईले पार्टी नै आफ्नो कब्जामा राख्न खोजेकाले पार्टी टुक्र्याएको बताएका छन्। उपेन्द्र यादवले एकलौटी ढंगले चलेपछि पार्टी विभाजन बाध्यता भएको उनको भनाइ छ।

स्वार्थी समूहले पैसाको चलखेल गरे जसपा नेपाल फुटाएको भन्दै अध्यक्ष यादवले अभिव्यक्ति दिएपछि बिहीबार अध्यक्ष राईले पत्रकार सम्मेलन गर्दै त्यसको खण्डन गरेका हुन्। बुधबार पार्टी मुख्यालयमा अध्यक्ष यादवले पार्टी फुटेपछि पत्रकार सम्मेलन गरेका थिए।

अध्यक्ष राईले उपेन्द्र यादवले विधानविपरीत महाधिवेशन गर्न खोजेको आरोप लगाएका छन्। जेठ २८, २९ र ३० गते जसपा नेपालको राष्ट्रिय एकता महाधिवेशन तय गरिएको छ। त्यही मुखमा जसपा नेपाल तीन टुक्रामा विभक्त भएको हो।
‘एकताको महाधिवेशन बनाउनुपर्नेमा, नेता–कार्यकर्ताको भावनाअनुरूप महाधिवेशन गर्नुपर्नेमा, विधानसम्मत महाधिवेशन गर्नुपर्नेमा उपेन्द्रजीले पार्टी कब्जा गर्न खोज्नुभयो’, अध्यक्ष राईले भने, ‘अनियमित ढंगले महाधिवेशन गर्न खोज्नुभयो। पार्टी नै कब्जा गर्ने मनस्थिति बनाएपछि उहाँलाई श्रीपेच लगाइदिन नेता–कार्यकर्ता तयार भएनन्।’

उपेन्द्र यादवले पार्टीलाई आफ्नो स्वामित्वको कम्पनी बनाउनका लागि अनियमित तरिकाले महाधिवेशनको तयारी गरेका थिए। त्यसको भन्डाफोर गर्दै पार्टीमा विद्रोह चर्किएको अध्यक्ष राईको दाबी छ।

‘आफ्ना हजारौं गोजीका मान्छेलाई बिनाआधार सदस्यता बाँड्ने काम गरियो। जुन सदस्यताको न मिति छ, न विधानअनुसार केही भएको छ। महाधिवेशन प्रतिनिधि छान्ने कुरामा पनि उपेन्द्रजीको आपत्ति रह्यो,’ नेता राईले भने, ‘कमिटीगत र पार्टी सदस्यताको हिसाबले प्रतिनिधि बनाउने व्यवस्था विधानमा छ। त्यसमा क्षेत्रीयता र समावेशितालाई आधार मान्ने भनिएको छ। तर, उपेन्द्रजी अनियमित ढंगले प्रतिनिधि छान्नेतिर लाग्नुभयो।’ 

अध्यक्ष यादवले अरूलाई अल्पमतमा पारेर अगाडि बढ्नेतिर लागेको परिणामले पार्टी विभाजनमा पुगेको राईले स्पष्ट पारेका छन्।महाधिवेशनबारे एक महत्वपूर्ण निर्णय गरेर उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका अध्यक्ष यादव अमेरिका उडेका थिए। आफूलाई मात्रै फाइदा हुने गरी निर्वाचन समिति बनाउने र उसैले आवश्यक प्रक्रियाहरू तयारी गर्ने अधिकारसहितको परिपत्र गरेको आरोप राई समूहको छ। 

नेता राईका अनुसार अमेरिकी उड्नुअघि बसेको बैठकमा १८ जना कार्यकारिणी सदस्यमा जम्मा ८ जना मात्रै उपस्थित थिए। बैठकबाट आफू अनुकूल हुने गरी परिपत्र जारी गरियो। त्यसले सिर्जना भएको विवाद बिस्फोट भएर पार्टी फुटेको हो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.