विभेद र अन्यायविरुद्ध

विभेद र अन्यायविरुद्ध

प्रगतिशील साहित्यका मानकलाई आख्यामा उतार्ने, सामाजिक विसंगतिमा जातीय विभेद, लैंगिक उत्पीडन तथा नारी शोषणजन्य पीडालाई परिस्थितिगत चित्रण गरिने क्रम बढेको छ। यसै क्रममा लक्ष्मणराज सिटौलाको उपन्यास ‘लाटीको सपना’ हालै प्रकाशित भएको छ, जसले सामाजिक पृष्ठभूमिमा संस्कारगत विभेद र नारी उत्पीडनको चित्रण गरेको छ।

सिटौलाका गीत, निबन्ध, चलचित्र, जीवनी, कविता, उपन्यास आदि डेढ दर्जनभन्दा बढी साहित्यिक कृतिहरू बजारमा आइसकेका छन्। नेपाली समाजमा जरा गाडेर बसेको जातीय विभेदले दिएका दर्दनाक पीडा र नारीलाई भोग्न बाध्य पारिएका अक्षम्य अपराधहरूको दस्तावेज लाग्ने ‘लाटीको सपना’ उपन्यास पढ्दै जाँदा हामी समाजमा कहाँनेर छौं ? हाम्रो सोचाइको स्तर कस्तो छ ? सभ्यताको कुन युगमा बाँचिरहेछौं र न्याय कहाँ छ ? भन्ने आफैंलाई शंका हुन्छ र यथार्थबोध हुन्छ। समाजशास्त्रीय जीवनदृष्टिको मूलभूत स्रोत समाज नै हो। यही स्रोतद्वारा पात्रको भोगाइ र यथार्थलाई कला–मूल्य प्रदान गर्नु उपन्यासकारको वैशिष्ट्य देखिन्छ।

चार खण्डमा विभाजित यो उपन्यास कालो भेषमा अपवित्र मान्छे भन्ने प्रतीकात्मक शीर्षक खण्डबाट सुरु हुन्छ। अदालत परिसरभित्र अपराधी मानिएकी कथाकी नायिका मौनताले प्रथमपुरुष दृष्टिबिन्दुमा वर्णन गरिएको आख्यान हो यो। ऊ भन्ने पुरुष पात्रको वेश्यालय अनुभवबाट सुरु भएको यो आख्यानमा वेश्यालय गएर सबै बोझबाट हलुंगो आभास गरेको पुरुष पात्र छ। पीरैपीरले थकित मन लिएर बाँचेका पुरुषहरूको लागि वेश्यालय चिकित्सालय जत्तिकै हुन्छ र त्यहाँ कुनै जात, धर्म, पेसा सम्प्रदायको हावी नहुने स्वतन्त्र संसारको वर्णन गर्दै, पुरुष वेश्यालयको अवधारणा राख्छ। उपन्यासमा परिस्थितिले अराजक बनेकी मातृकाले आफूले भोगेका अनेक विसंगतिलाई जस्ताको तस्तै बयानमा उतारेको साहसयुक्त चरित्र प्रस्तुत हुन्छ। अदालत परिसरमा भेटिएका धेरैजसो अपराधी बनाइएकाहरूका विभिन्न थरी बयान सुन्दै बसेकी उपन्यासकी नायिका मौनता नेपाली आफू बलात्कृत भएर पनि जेलसजाय भोगिरहेकी विरोधाभास निर्णयको सामु लाचार विवश पात्र हो।

आमाको यौनकुण्ठाको आगोमा डढेको सुन्दर परिवारको अवशेष भएर अपराधी बनेकी लाटी दिदी, जो बोल्न सक्दिनन्, समय घटनाक्रमले लाटी भएकी छन् तर लेख्न सक्छिन्। अदालतदेखि जेलको चारदिवार र मुख्यतः यी दुई नायिकाको वरपर घुमेको यस उपन्यासमा दुवै नारी बलात्कृत छन् र सजाय पनि उनीहरूले नै पाइरहेका छन्। घटनाको निष्पक्ष फैसला नहुनुको कारण बलात्कारी जीवन शर्मा न्यायाधीशको छोरा हुन्छ। लाटी दिदी पहिले सरस्वती केसी र पछि झड्केलो बाउ विकको थर दिइएकी उनले झड्केलो बाउको बलात्कार सहन नसकी उसको हत्या गर्छिन्। जेल परिसर, कार्यालयदेखि गाउँघरसम्म जातीय विभेदमा दलितले भोगेका हिंसाहरूको मर्म छ, यहाँ। बलात्कृत भएपछि भएको गर्भको बच्चालाई विष खुवाएर मारेका अति नै निकृष्ट काम देखिन्छ र बच्चा मारेको आरोपमा अझ थपिन्छ जेल सजाय। जेलभित्र पनि जातीय विभेदको नराम्रो उदाहरण पाइन्छ।

पीडितले भोगेको यथार्थ र मनोदशाले पाठक धरधरी रुन्छ। जीवन शर्माबाट बलात्कृत मौनता परिस्थितिजन्य कारणको सुनुवाइले दोहोरो सजाय भोगकी छ सरस्वती। न्यायालयमा बसेका न्यायकर्मीले पीडितको जीवन उद्धार गरी न्यायलाई जीवित राख्दै अपराधीलाई दण्ड दिनु हो, न कि पीडितको आँसु हेरेर रमाउनु। न्यायालय स्वतन्त्र र निष्पक्ष हुनुपर्छ। जातपात, धनी गरिब किनबेचजस्ता कुराले न्याय दूषित बनाउनु हुन्न र न्यायकर्मीले मानवता बिर्सनुहुन्न भन्ने सन्देश छ। न्यायलाई वस्तु वा चिज बनाएर न्यायको खिल्ली उडाइएको छ।

यसमा सामाजिक व्यवस्था र व्यवहारको कुरूप प्रतिबिम्बप्रतिको आक्रोश छ, घृणा छ। यो उपन्यास आफैंमा मानवताको आवाज बनेको छ।

उपन्यासले बाल्यकालका स्वप्नील बालसुलभ अवस्थादेखि विभेदजन्य नारी वेदनालाई प्रतिनिधित्व गरेको छ। कैदी कविले जेलको भित्तामा कोरेका भावनाहरूले आख्यानलाई कवितामय बनाएको छ। ती पात्रमार्फत प्रेम, प्रकृति गरिबी, समाज दुःखसुखका कुराहरू कविता शैलीमा गरेर उपन्यासकारले आफ्नो कवित्वको प्रतिभा देखाएका छन्। कवि जसको महान् कार्यले मौनताले मारी भनेको छोरा बाँचेको छ र लडेको छ आफ्नै आमाको पक्षमा मुद्दा। आख्यानभरि नै जेल र अदालत गर्दै उमेर बितेको छ पात्रहरूको। न्याय दिन वर्षांै लागेको छ र न्यायालय पहुँच भएकाहरूका लागि क्रयविक्रय गर्ने स्थान बनेको छ। नाटकीय ढंगले अन्त्यमा मौनताको छोरो आएर बहस गरेको छ र जेलमुक्त बनाइएका पात्रहरूमार्फत न्याय जिउँदै रहेको व्याख्या गरिएको छ। नारी चरित्रप्रधान यो उपन्यास पीडित नारीहरूको प्रतिनिधि स्वर बनेको छ।

यो उपन्यास चार भागमा विभाजित छ। यसको भाषिक प्रस्तुति रोचक, आकर्षक र काव्यिक रहेको छ। प्रतीक र विम्बको प्रयोग गरिएको छ। करुण रसको प्रवाहमा बगेको यो आख्यानले पाठकलाई सुरुवातमा अल्मलिएजस्तो आभास गराए पनि प्रस्तुति सलल बगेको छ। पढ्दा अब के होला भन्ने उत्सुकता भइरहन्छ। यो नै आख्यानकारको प्रस्तुतिको सफलता हो।

आँसु र पीडाको प्रतिबिम्ब लाग्ने यो उपन्यासले हाँस्न बिर्साइदिन्छ। शीर्षक प्रतीकात्मक छ। चित्कार दिएर पनि बोली नसुनिएका नारी पात्रहरूलाई लाटीको प्रतीकको रूपमा राखिए पनि शीर्षक विरोधाभास लाग्छ। शीर्षक र विषयवस्तुको तालमेल नमिलेको हो कि जस्तो लाग्ने यो उपन्यासमा सामाजिक व्यवस्था र व्यवहारको कुरूप प्रतिबिम्बप्रतिको आक्रोश छ, घृणा छ। यो उपन्यास आफैंमा मानवताको आवाज बनेको छ।                                      


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.