चेपाङलाई चिउरीको चटारो
गोरखा : बहुउपयोगी हुने भएकाले चेपाङ समुदायले चिउरीलाई ‘दुहुनु भैंसी’को संज्ञा दिने गर्छन्। त्यसैकारण माइतीले चेलीलाई विवाहमा चिउरीको रूख दाइजो दिने अनौठो परम्परा चेपाङ समुदायमा छ।
हाल चेपाङ समुदायमा त्यही महत्वपूर्ण चिउरी भित्र्याउने सिजन चलिरहेको छ। ‘हामीले त चिउरी भिœयाइसक्यौं’, गण्डकी गाउँपालिका–६ लुप्राङका भीमलाल चेपाङ भन्छन्, ‘यो वर्ष पोहोरको जस्तो धेरै भएन।’ केही आफैंले उपयोग गरेको र केही इष्टमित्र, साथीसंगीलाई उपहारसमेत दिएको उनले बताए।
धेरै उत्पादन गर्नेले एक क्विन्टलसम्म पनि भित्र्याएको गण्डकी–६ थुम्काका चन्द्र चेपाङ बताउँछन्। ‘एउटै रूखबाट १०÷२० डोकोसम्म भिœयाउँछन्’, उनले भने, ‘एक डोकोमै ४०/५० केजी पनि हुन्छ। यस्तो त धेरै रूखबाट ४०/५० डोको नै भित्र्याउने गरिन्छ।’ तर, यो वर्ष विगत वर्षमा भन्दा कम फलेको उनको भनाइ छ। ‘जलवायु परिवर्तनको असरले हुन सक्छ, यसपालि पोहोर, परारको जति फलेन। फलेको पनि झरेर गयो’, उनले भने।
अहिले गोरखाको चेपाङ गाउँमा चिउरी सिजन सकिन लागेको तर मकवानपुर, चितवनका चेपाङ गाउँमा चिउरीको सिजन सुरु भएको उनको भनाइ छ।
चिउरी कात्तिक, मंसिरमा फूल खेल्छ। फूलको रस पनि खाने गरिन्छ। फूल खेलेको बेलामा चमेरो चिउरीको बोटभरि धुरिन्छन्। यही मौका छोपेर जाल थापेर चमेरो सिकार पनि गर्ने गर्छन्। ‘चिउरी फुल्ने सिजनमा त गाउँलेको बास नै जंगलमा हुन्छ’, चन्द्र चेपाङ भन्छन्, ‘गोरखातिर त आफूले खानमात्र प्रयोग हुन्छ। चितवन, मकवानपुरका चेपाङहरू त सिकार गरेर बेच्ने पनि गर्छन्।’ धेरै पौष्टिक हुने हुँदा चमेरो महँगोमा बिक्ने उनले बताए।
चिउरी पाकेपछि यसलाई खाने चलन छ। चिउरीको फल धेरै पोसिलो खानेकुरा अन्तर्गत पर्ने अर्का स्थानीय बिलबहादुर चेपाङ बताउँछन्। ‘यति मीठो र यति पोसिलो हुन्छ कि, कतिपयलाई चिउरी खाएपछि खाना खानै पर्दैन’, उनी भन्छन्, ‘यो धेरै राम्रो, मीठो, पोसिलो, तागतिलो हुने भएकाले पहिले पहिले आफ्नो चेलीलाई बारीको चिउरी दाइजो दिएर पठाउने गरिन्थ्यो।’ चेलीको नाउँ पारेको चिउरी माइती पक्षले उपभोग गर्न हुन्न भन्ने मान्यता छ।
फल खाइसकेपछि चिउरीको बियाँ पनि धेरै उपयोगी हुने चेपाङ समुदायको भनाइ छ। ‘यसको बियाँलाई सुकाएर पेलेर तेल निकालिन्छ। यो तेल अरू तेलभन्दा धेरै पोसिलो, तागतिलो हुन्छ’, उनले भने, ‘त्यसैले यसलाई हामी तेल नभनेर घिउ भन्ने चलन छ।’
निजी बारीमा रहेको चिउरीको रूख सम्बन्धित जग्गाधनीकै हुन्छ। जंगल अथवा खोरियामा भएको चिउरी पनि पुर्खाले नै अनौपचारिक रूपमा बाँडेका हुने चन्द्र चेपाङको भनाइ छ। ‘हाम्रोतिरको पाखा, पखेरा त बाजेकै पालादेखि अनौपचारिक रूपमा भागबन्डा भइसकेको हुन्छ’, उनले भने, ‘चेपाङ समुदायले चाहिँ चिउरीलाई महŒवका साथ लिएका हुन्छन्। अरू समुदायलाई यसको वास्तै हुँदैन।’
तर, पछिल्ला वर्षहरूमा चिउरी मासिँदै गएका छन्। घाँस काटिदिनाले फल नलाग्ने गरेको बिल चेपाङ बताउँछन्। ‘त्यसैले हामीले वन कार्यालयसँग समन्वय गरेर चिउरीको बिरुवा मगाएर वृक्षरोपण गरेका छौं’, उनले भने, ‘अनि यसको घाँसको नकाट्ने नियम बनाएका छौं।’ सबै गाउँ टोलका चेपाङ समुदाय चिउरी संरक्षणमा लागेका उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !