विश्वविद्यालयको दलीय भागबण्डा र राजनीतिकरण पूर्णरुपमा अन्त्य गर्छौ : शिक्षामन्त्री पोखरेल
काठमाडौं : शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्ण रूपमा अन्त्य हुने बताएका छन् । बिहीबार काठमाडौंमा त्रिभुवन बिश्वविद्यालयको ६७ औं वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका सहकुलपति समेत रहेका मन्त्री पोखरेलले अबका ४ वर्षमा भागबण्डाको राजनीति पूर्ण रूपमा अन्त्य गरिने बताएका हुन् ।
उनले सरुवा, बढुवा, वा नियुक्तिमा कुनै पनि राजनीतिक वा दलीय दबाब आउन नदिने भन्दै दलीय दबाब आए तुरुन्त शिक्षा मन्त्रालयमा जानकारी गराउन आग्रह गरे । इतिहासमै पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिहरूको चयन हुनुले उच्च शिक्षामा नयाँ ऊर्जा र प्रतिबद्धता थपेको उनले बताए ।
मन्त्री पोखरेलले विश्वविद्यालयको सुधार पदाधिकारीहरूबाट मात्र सम्भव नरहेकाले सम्पूर्ण प्राध्यापक, कर्मचारी तथा सरोकारवालाहरूले आ–आफ्नो ठाउँबाट नेतृत्व र जिम्मेवारी लिनुपर्नेमा जोड दिए । विदेशी विश्वविद्यालयका प्राध्यापकहरूलाई नेपाल ल्याउने तथा नेपालका प्राध्यापक÷विद्यार्थीहरूलाई विदेशमा रहेका विश्वविद्यालयमा अध्ययन–अध्यापनको अवसर मिलाउन विभिन्न देशका राजदूतहरूसँग छलफल भइरहेको उनले जानकारी दिए । उनले विश्वविद्यालयलाई बढी स्वायत्तता र प्राध्यापकहरूलाई शैक्षिक स्वतन्त्रता प्रदान गर्ने नीति सरकारको रहेको धारणा राखे ।
समारोहमा त्रिभुवन विश्वविद्यालयको उपकुलपति प्रा.डा. भोला थापाले सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी उपयोग, शैक्षिक कार्यक्रमहरूको पुनर्संरचनामा विशेष ध्यान दिने बताए । अनुसन्धान तथा नवप्रवर्तनको प्रवर्द्धन, अन्तरविषयक सहकार्य, अनुसन्धान कोषको विस्तार तथा अन्तर्राष्ट्रिय साझेदारीलाई सुदृढीकरणलाई आफ्नो रणनीतिक प्राथमिकताका रूपमा अघि बढाउने उनले प्रतिबद्धता व्यक्त गरे । उपकुलपति थापाले राष्ट्रिय आवश्यकता र विश्वव्यापी श्रम बजारको माग अनुरूप दक्ष, सिर्जनशील, नैतिक तथा प्रतिस्पर्धी मानव संसाधन उत्पादनतर्फ विश्वविद्यालय निरन्तर क्रियाशील रहने बताए ।
प्रतिक्रिया दिनुहोस !