चीनले २२ करोड अमेरिकी मतदाताको विवरण चोरी गरेको ट्रम्पको आरोप
वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार केही गोप्य दस्तावेजहरू सार्वजनिक गर्दै सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा चीनले हस्तक्षेप गरेको दाबी गरेका छन्। अमेरिकी गुप्तचर निकायहरूले सो निर्वाचनमा बेइजिङले हस्तक्षेप गरेको कुनै प्रमाण फेला नपारेको स्पष्ट निष्कर्ष निकालेको भएपनि ट्रम्पले निर्वाचन सुरक्षाको मुद्दालाई पुनः ब्युँत्याएका हुन्।
ह्वाइट हाउसको इस्ट रुमबाट राष्ट्रका नाममा गरिएको २५ मिनेट लामो प्राइम-टाइम सम्बोधनमा ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि चुनावअघि निर्वाचन सुरक्षालाई केन्द्रीय राजनीतिक मुद्दा बनाउने स्पष्ट प्रयास गरेका छन्।
सम्बोधनका क्रममा ट्रम्पले सार्वजनिक गरिएका सामग्रीहरूले अमेरिकी निर्वाचन पूर्वाधारमा चकित पार्ने खालका कमजोरीहरू उजागर गर्ने दाबी गरे। तर, तीमध्ये अधिकांश दस्तावेजहरू अमेरिकी निर्वाचन प्रणालीसँग सम्बन्धित नै छैनन्।
सार्वजनिक गरिएको एउटा सीआईए दस्तावेज अमेरिकाको नभई भेनेजुएलाको निर्वाचनसँग सम्बन्धित थियो। अर्को दस्तावेजमा भनिएको छ, हाम्रो निष्कर्ष छ कि निर्वाचन परिणामलाई असर पार्ने गरी ठूलो स्तरमा मत गणना प्रणालीमा हेरफेर गर्न अत्यन्तै कठिन हुन्छ।
तेस्रो दस्तावेजले चिनियाँ जासुसहरूले जो बाइडेनको चुनावी अभियानलाई निसाना बनाएको उल्लेख गरे पनि बेइजिङको तत्कालै निर्वाचन परिणामलाई गोप्य रूपमा प्रभाव पार्ने कुनै मनसाय नरहेको स्पष्ट पारेको छ। ट्रम्पले चिनियाँ पक्षले २२ करोड अमेरिकी मतदाताहरूको नाम र ठेगानासहितको डेटा अवैध रूपमा प्राप्त गरेको आरोप लगाएका छन्।
सन् २०२१ मा सार्वजनिक गरिएको अमेरिकी गुप्तचर निकायको आधिकारिक मूल्यांकन प्रतिवेदन अनुसार सन् २०२० को निर्वाचनमा मतपत्र, मतदाता दर्ता वा नतिजालगायतका कुनै पनि प्राविधिक पक्षमा फेरबदल गर्ने प्रयास कुनै पनि विदेशी राष्ट्र वा पक्षबाट नभएको बताइएकाे छ ।यो प्रतिवेदन तत्कालीन राष्ट्रिय गुप्तचर निर्देशक जोन र्याटक्लिफको नेतृत्वमा तयार पारिएको थियो, जो हाल ट्रम्प प्रशासनमा सीआईए प्रमुख छन्।
विपक्षी डेमोक्र्याटिक सिनेटर मार्क वार्नरले ट्रम्पको दाबीलाई पूर्ण रूपमा भ्रामक र गलतभन्दै गुप्तचर निकायहरूले चीनले एउटै मत पनि बदल्ने प्रयास नगरेको कुरामा सर्वसम्मत रहेको बताएका छन्।
ट्रम्पकाे यो सम्बोधन उनी र उनको रिपब्लिकन पार्टी चर्को ऊर्जा मूल्य र इरान युद्धका कारण राजनीतिक दबाबमा परेका बेला अाएकाे हाे । ट्रम्पले सम्बोधनका क्रममा कांग्रेसमा अड्किएको सेभ अमेरिका एक्ट विधेयक पारित गर्न जोड दिए, जसले मतदानका लागि फोटोसहितको परिचयपत्र र नागरिकताको प्रमाण अनिवार्य गर्ने व्यवस्था गर्दछ।
डेमोक्र्याटहरूले भने यस विधेयकलाई सर्वसाधारणको मताधिकार संकुचित पार्ने प्रयासको रूपमा हेरेका छन्। केही रिपब्लिकन नेताहरूले नै ट्रम्पलाई सन् २०२० को चुनावको पुरानो एजेन्डा छोडेर सर्वसाधारणको दैनिक जीवनसँग जोडिएको बढ्दो महँगी जस्ता प्रमुख आर्थिक मुद्दाहरूमा ध्यान केन्द्रित गर्न सुझाव दिएका छन्।
प्रतिक्रिया दिनुहोस !