युनाइटेड अजोड इन्स्योरेन्सको ३२ औं वार्षिक साधारणसभा : बोनस सेयर कति दियो ?
काठमाडौं : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण तथा सेयरधनीलाई वितरण गर्ने बोनस सेयर र नगद लाभांशको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।
साधारणसभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू अनुमोदन गरेको कम्पनीले जनाएको छ। साथै, सञ्चालक समितिबाट प्रस्तुत सबै सामान्य तथा विशेष प्रस्ताव पनि सर्वसम्मतिले पारित भएका छन्।
सभाले वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ। यसअनुसार कम्पनीले ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर जारी गर्नेछ।
बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशत नगद लाभांश, अर्थात् ५२ लाख १० हजार ५ सय २६ रुपैयाँ ३२ पैसा वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ। सम्बन्धित नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि बोनस सेयर जारी गरिनेछ। त्यसपछि कम्पनीको जारी तथा चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ।
कम्पनीले २०८३ जेठ मसान्तसम्म शाखा तथा उपशाखा, तेस्रो पक्ष बिमा काउन्टर र प्रादेशिक कार्यालयको समायोजन गर्दै हाल प्रधान कार्यालयसहित १ सय ४ शाखा, उपशाखा तथा तेस्रो पक्ष बिमा काउन्टरमार्फत देशभर बिमा सेवा प्रदान गरिरहेको जनाएको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ मा सेयरधनीलाई अपेक्षित प्रतिफल उपलब्ध गराउने, व्यवसाय विस्तार गर्ने तथा कम्पनीका दीर्घकालीन लक्ष्य हासिल गर्ने दिशामा सम्पूर्ण टिम प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !