सम्झौतामा नआए इरानका विद्युत केन्द्र र पुलहरू ध्वस्त पार्ने ट्रम्पको धम्की

सम्झौतामा नआए इरानका विद्युत केन्द्र र पुलहरू ध्वस्त पार्ने ट्रम्पको धम्की
सुन्नुहोस्

अमेरिका : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अर्को हप्तादेखि इरानका विद्युत् उत्पादन केन्द्र (पावर प्लान्ट) र पुलहरूमा आक्रमण गरी ध्वस्त बनाउने धम्की दिएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘अर्को हप्ता उनीहरूका लागि अवस्था निकै खराब हुनेछ। अर्को हप्ता पावर प्लान्टको पालो आउँछ, त्यसपछि पुलहरूको । यदि उनीहरू वार्ताको टेबलमा आएर सम्झौता गर्दैनन् भने हामी उनीहरूका सबै पावर प्लान्ट र सबै पुलहरू ध्वस्त पार्नेछौं ।’

ट्रम्पले यसअघि पनि मार्च महिनामा इरानले छिट्टै शान्ति सम्झौता नगरे विद्युत् केन्द्र र खानेपानी आपूर्ति गर्ने संरचनाहरू ध्वस्त पार्ने चेतावनी दिएका थिए । अन्तर्राष्ट्रिय मानवीय कानुनअनुसार विद्युत् र खानेपानी जस्ता नागरिक पूर्वाधारलाई लक्षित गरेर आक्रमण गर्नु गैरकानुनी मानिन्छ र यो युद्ध अपराधको रूपमा पनि व्याख्या हुन सक्छ ।

यता, अमेरिकी सेनाले लगातार चौथो दिन पनि इरानमाथि आक्रमण जारी राखेको छ । साथै, होर्मुज जलडमरूमध्य हुँदै जाने इरानी बन्दरगाहहरूमा पुनः नौसैनिक नाकाबन्दी लागू गरेको छ । अमेरिकी सेनाको सेन्ट्रल कमाण्डका अनुसार पछिल्ला आक्रमणहरू होर्मुज जलडमरूमध्यमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्न प्रयोग हुने इरानी क्षमताहरू कमजोर पार्ने उद्देश्यले गरिएको हो । होर्मुज विश्वको तेल तथा प्राकृतिक ग्यास ढुवानी हुने सबैभन्दा महत्वपूर्ण समुद्री मार्गमध्ये एक हो ।

इरानी सरकारी सञ्चारमाध्यमहरूले बन्दर अब्बास, किश्म टापु तथा अन्य स्थानहरू नजिक विस्फोट भएको बताएका छन् । यसको जवाफमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले बहराइनस्थित अमेरिकी पाँचौँ नौसैनिक बेडासँग सम्बन्धित कमाण्ड, रसद, इन्धन र सैन्य उपकरण केन्द्रहरूलाई निशाना बनाएको दाबी गरेको छ ।

यसक्रममा बहराइन र कुवेत पनि आक्रमणको चपेटामा परेका छन् । जोर्डनको सेनाले बुधबार बिहान आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका तीन वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालेको जनाएको छ । इरानी सरकारी समाचार संस्था इस्लामिक गणतन्त्र इरान समाचार संस्थाले अमेरिकी लडाकु विमान रहेको जोर्डनको एक सैन्य अड्डामाथि ड्रोन आक्रमण गरिएको जनाएको छ । 

गार्ड कोर्प्सले चेतावनी दिँदै अमेरिका यदि समुद्री मार्ग नियन्त्रण गरेर क्षेत्रीय तेल तथा ग्यास निर्यात रोक्न खोजे, अमेरिका र उसका सहयोगीहरूले प्रयोग गर्ने अन्य निर्यात मार्गहरू पनि बन्द गरिन सक्ने जनाएको छ । गार्ड कोप्र्सले भनेको छ, ‘ऊर्जा निर्यात सबैका लागि हुनेछ, होइन भने कसैका लागि पनि हुने छैन ।’

इरान र अमेरिकाबीच पछिल्ला दिनहरूमा भएका प्रतिआक्रमण तथा होर्मुज जलडमरूमध्यमाथिको नियन्त्रणका लागि भइरहेको प्रतिस्पर्धाले मध्यपूर्वलाई पुनः पूर्ण युद्धतर्फ धकेल्ने जोखिम बढाएको छ । शान्तिकालमा विश्वको करिब २० प्रतिशत तेल र प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने गर्छ ।

यसअघि ट्रम्पले होर्मुज जलडमरूमध्य हुँदै गुड्ने जहाजबाट २० प्रतिशत ‘सुरक्षा शुल्क’ लिने चेतावनी दिएका थिए । तर पछि खाडीका अरब राष्ट्रहरूसँग भएको सकारात्मक वार्तापछि उक्त योजना फिर्ता लिएको र त्यसको सट्टा लगानी तथा व्यापार सम्झौतामा जोड दिने बताएका छन् । यद्यपि, इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी भने जारी रहने उनले स्पष्ट पारे ।

जुन १७ मा भएको अस्थायी युद्धविरामपछि स्थायी शान्ति सम्झौताका लागि हुने वार्ताको सम्भावना झन् कमजोर बन्दै गएको देखिएको छ । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले अमेरिकी नाकाबन्दी पुनः सुरु गर्ने निर्णयले ‘इस्लामाबाद सम्झौतालाई व्यवहारतः निष्प्रभावी बनाएको’ बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.