अघिल्लो वर्षको तुलनामा जेठमा महँगी झन्डै दोब्बर, मुद्रास्फीति ५.२२ प्रतिशत
काठमाडौं : अघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको जेठ महिनामा उपभोक्ता महँगी झन्डै दोब्बर पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार २०८३ जेठमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ।
गत आर्थिक वर्षको सोही अवधिमा वार्षिक मुद्रास्फीति करिब २.७२ प्रतिशतको हाराहारीमा रहेकामा यस वर्ष ५ प्रतिशत नाघेसँगै उपभोक्ताले दैनिक उपभोग्य वस्तु तथा सेवामा बढी मूल्य तिर्नुपर्ने अवस्था देखिएको हो। यद्यपि चालु आर्थिक वर्षका एघार महिनाको औसत मुद्रास्फीति भने २.८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार देशको बाह्य क्षेत्र भने थप मजबुत बनेको छ। कुल विदेशी विनिमय सञ्चिति ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ भने अमेरिकी डलरमा यो २४ अर्ब ६८ करोड बराबर रहेको छ। हालको सञ्चिति १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको छ।
चालु खाता ८०२ अर्ब ६ करोड रुपैयाँ र शोधनान्तर स्थिति ९२६ अर्ब ६ करोड रुपैयाँ बचतमा रहेको छ। विप्रेषण आप्रवाह पनि उल्लेख्य रूपमा बढेको छ। चालु आर्थिक वर्षको जेठसम्म विप्रेषण नेपाली रुपैयाँमा ३८.२ प्रतिशत र अमेरिकी डलरमा २९.६ प्रतिशतले वृद्धि भई जेठ महिनामा मात्र २०३ अर्ब ८९ करोड रुपैयाँ भित्रिएको राष्ट्र बैंकले जनाएको छ।
वैदेशिक व्यापारतर्फ निर्यात १२.३ प्रतिशत र आयात १५.२ प्रतिशतले बढेको छ। त्यस्तै, सरकारको खर्च १३ खर्ब ४६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने राजस्व संकलन १० खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ रहेको छ।
मौद्रिक सूचकअनुसार विस्तृत मुद्राप्रदाय ९.८ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यसको वृद्धि १४.२ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १०.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा ६.२ प्रतिशतले बढेको छ।
बैंकिङ प्रणालीमा तरलता सहज देखिएको राष्ट्र बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैंक ब्याजदर २.७३ प्रतिशत, ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.६४ प्रतिशत, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.२९ प्रतिशत तथा कर्जाको भारित औसत ब्याजदर ६.६४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !