वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ५ जना पक्राउ
काठमाडौं : वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-२ बस्ने सिन्धुली घर भएका ३६ वर्षीय कुनसाङ लामा, काठमाडौं तारकेश्वर नगरपालिका-८ बस्ने बर्दिया घर भएका ४२ वर्षीय धन बहादुर शाही, काठमाडौं टोखा नगरपालिका-५ बस्ने ताप्लेजुङ घर भएका ४८ वर्षीय उमेश लिम्बु, काठमाडौं महानगरपालिका-३ बस्ने तनहुँ घर भएकी २१ वर्षीया सचिता परियार र काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने खोटाङ घर भएका ४१ वर्षीय निरोज राई रहेका छन्।
पक्राउ मध्ये कुनसाङले युएईका लागि २ लाख ७ हजार रुपैयाँ, धन बहादुरले जर्जियाका लागि २ लाख ९५ हजार रुपैयाँ, उमेशले बेलारूसका लागि ५ लाख रुपैयाँ, सचिताले रोमानियाका लागि १ लाख ५० हजार रुपैयाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै २ जना पीडितबाट ७ लाख ९० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।
पीडितको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कुनसाङलाई बुढानिलकण्ठ नगरपालिका-२ बाट र धन बहादुरलाई तारकेश्वर नगरपालिका-८ बाट बिहीबार तथा उमेशलाई टोखा नगरपालिका-५ बाट, सचितालाई काठमाडौं महानगरपालिका-३ बाट र निरोजलाई काठमाडौं महानगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
प्रतिक्रिया दिनुहोस !