मुम्बईमा भारी वर्षा : विद्यालय–कलेज बन्द, पुणेमा पहिरो जाँदा चारको मृत्यु
भारत : भारतको महाराष्ट्र राज्यमा अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनेको छ । मुम्बईमा मंगलबार बिहानदेखि घना बादल, तीव्र हावा र लगातार वर्षा भएपछि जनजीवन प्रभावित भएको छ । मौसम विभागले मुम्बईका लागि ‘अलर्ट’ जारी गरेको छ । भारी वर्षा र तीव्र हावाहुरीको सम्भावनालाई ध्यानमा राख्दै मुम्बईका सबै सरकारी, निजी तथा महानगरपालिकाद्वारा सञ्चालित विद्यालय र कलेजमा मंगलबार बिदा घोषणा गरिएको छ ।
सोमबारदेखि परेको निरन्तर वर्षाका कारण मुम्बई तथा आसपासका जिल्लाहरूको जनजीवन लगभग ठप्प भएको छ । धेरै सडकहरू जलमग्न भएका छन् भने रुख ढलेका, पर्खाल र होर्डिङ बोर्डहरू भत्किएका घटनाहरू पनि भएका छन् । दादरस्थित शिवाजी पार्क नजिक एउटा रुख कारमाथि खसेको छ ।
आपतकालीन चेतावनीमा खराब मौसमका कारण सतर्क रहन चेतावनी दिइएको छ । यस्तो अवस्थामा जनजीवन गम्भीर रूपमा प्रभावित हुन सक्छ, यातायात अवरुद्ध हुन सक्छ र विद्युत् आपूर्ति समेत प्रभावित हुन सक्छ । चार तहको चेतावनी प्रणालीमा अलर्ट तेस्रोस्तरको चेतावनी हो, जुन पहेंलो ‘अलर्ट’ भन्दा माथि र रेड अलर्टभन्दा तल पर्छ ।
यसैबीच, समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षाका कारण गएको पहिरोले बन्द भएको मुम्बई–पुणे एक्सप्रेसवे बाइपासको मुम्बईतर्फ जाने सडक करिब १८ घण्टापछि पुनः सञ्चालनमा ल्याइएको छ । उता, पुणे जिल्लामा भारी वर्षासँग सम्बन्धित विभिन्न दुर्घटनामा चार जनाको मृत्यु भएको छ । मृतकमध्ये एकै परिवारका तीन जना पहिरो र पर्खाल भत्किँदा ज्यान गुमाएका हुन् भने अन्य दुई जना तीव्र भेलमा बगेर मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस !