२० प्रतिशत कमिसन मागेको आरोपमा भेटेरनरी अस्पतालका प्रमुख र चालक पक्राउ
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको राजविराजस्थित भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त कार्यालय प्रमुख डा. राम पवित्र दास र सवारी चालक भोगेन्द्र यादवलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
भ्याक्सिनेटरहरुबाट सेवा उपलब्ध गराए बापत पाउनुपर्ने भुक्तानी रकमको २० प्रतिशत कमिसन माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।
उनका अनुसार अख्तियारले सवारी चालक भोगेन्द्र यादवलाई घुस बापतको ३३ हजार ३५० रुपैयाँ लिइसकेको अवस्थामा फेला पारेको र यादवको साथबाट थप ४८ हजार ७० रुपैयाँ र १ लाख २९ हजार बराबरका विभिन्न ४ वटा चेकहरू समेत बरामद गरिएको छ।
कार्यालय प्रमुख डा. दासको कार्यकक्षबाट पनि १ लाख २५ हजार रुपैयाँको चेक र मोबाइल बरामद भएको अधिकारीले जानकारी दिए । उनीहरु दुवै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !