झापाको अर्जुनधारामा ब्राउन सुगरसहित एकजना पक्राउ
झापा : झापाको अर्जुनधारामा ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–८ का ४१ वर्षीय सरोज गहतराज रहेका छन्।
अर्जुनधारा नगरपालिका–८ सब्जीलाइन क्षेत्रमा शनिबार अपराह्न करिब ३ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र प्रहरी चौकी शनिश्चरेबाट खटिएको संयुक्त टोलीले बिर्तामोडबाट शनिश्चरेतर्फ आउँदै गरेको बा ५७ प ७७३३ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो।
चेकजाँचका क्रममा मोटरसाइकल चालक गहतराजको साथबाट एनटेन लेखिएको ३० थान सेतो ट्याब्लेट र प्लास्टिकबाहेक २३ ग्राम ५५० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। साथै, उनको साथबाट दुई थान मोबाइल फोन समेत बरामद गरिएको छ।
प्रहरीले लागूऔषध, मोटरसाइकल तथा पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !