सीमादेखि ब्यारेकसम्म गृहमन्त्री गुरुङको स्थलगत अनुगमन

सीमादेखि ब्यारेकसम्म गृहमन्त्री गुरुङको स्थलगत अनुगमन
सुन्नुहोस्

विराटनगर : गृहमन्त्री सुधन गुरुङले शनिबार कोशी प्रदेशको राजधानी विराटनगरमा दिनभर विभिन्न सुरक्षा तथा प्रशासनिक निकायको स्थलगत निरीक्षण गर्दै नेपाल–भारत सीमा सुरक्षा, प्रहरीको भौतिक अवस्था, प्रशासनिक सेवा प्रवाह र सीमावर्ती क्षेत्रको चुनौतीका बारेमा प्रत्यक्ष जानकारी लिएका छन्।
 
उनले सीमा सुरक्षालाई प्रभावकारी बनाउन तथा प्रहरी संगठनको भौतिक पूर्वाधार सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताए। काठमाडौंबाट बुद्ध एयरको नियमित उडानमार्फत बिहान करिब ११ बजे विराटनगर विमानस्थलमा अवतरण गरेका गृहमन्त्री गुरुङलाई सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरेका थिए। 

विमानस्थलमै सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले धेरै प्रहरी कार्यालयका भवन जीर्ण अवस्थामा रहेको स्वीकार गर्दै बजेटको सीमितताका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको बताए। उनले उपलब्ध स्रोतसाधनको व्यवस्थापन गरी प्रहरी भवन निर्माणलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाए। 

विमानस्थलमा सुरक्षामा परिचालित प्रहरीका तालिमप्राप्त कुकुरसँग गृहमन्त्रीले देखाएको आत्मीय व्यवहारले उपस्थितहरूको ध्यान तानेको थियो। उनले कुकुरलाई सुम्सुम्याउँदै स्नेह प्रकट गरेका थिए। दाहिने हात मुखमै पुर्‍यायाएर चाट्न दिए। कुकुरसँग उनले देखाएको सामीप्यताले केहीबेर विमानस्थलको वातावरणलाई सहज र रमाइलो बनाएको थियो। 

त्यसपछि गृहमन्त्री गुरुङ जिल्ला प्रशासन कार्यालय मोरङ पुगेका थिए। नवनिर्मित भवनको निरीक्षण गर्दै उनले प्रमुख जिल्ला अधिकारी युवराज कटेलसँग जिल्लाको समग्र प्रशासनिक अवस्था, शान्तिसुरक्षा, सेवा प्रवाह तथा समसामयिक चुनौतीका बारेमा जानकारी लिए। प्रशासन कार्यालयसँग पर्याप्त सरकारी जग्गा उपलब्ध रहेकाले एउटै परिसरबाट नागरिकलाई एकीकृत सेवा उपलब्ध गराउन सकिने सम्भावनाका बारेमा पनि उनले चासो व्यक्त गरेका थिए। त्यसका लागि आवश्यक व्यवस्थापनतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ थियो। 

प्रशासन कार्यालयको निरीक्षणपछि उनले कार्यालय परिसरबाहिर रहेको हनुमान मन्दिरमा पूजाअर्चना गरे। त्यसपछि शुभेच्छुकहरूसँग भेटघाट र तस्बिर खिचाएपछि उनी रानीस्थित कोशी प्रदेश प्रहरी कार्यालय पुगे। प्रदेश प्रहरी कार्यालयमा गृहमन्त्रीले प्रदेशस्तरीय सुरक्षा अधिकारीहरूसँग केही छलफल गरेका थिए। छलफलमा नेपाल–भारत सीमा सुरक्षा, अपराध नियन्त्रण, प्रहरी परिचालन, सीमावर्ती क्षेत्रमा देखिएका चुनौती तथा सुरक्षा व्यवस्थापनका विषयमा ‘ब्रिफिङ’ लिइएको थियो। सुरक्षा अधिकारीहरुले सीमा क्षेत्रमा भइरहेका गतिविधि, उपलब्ध स्रोतसाधन र सुधार गर्नुपर्ने पक्षका बारेमा गृहमन्त्रीलाई जानकारी गराएका थिए। 

प्रदेश प्रहरी कार्यालयबाट उनी भारतबाट विराटनगर प्रवेशको मुख्य मार्ग रानीस्थित जोगवनी नाकातर्फ लागे। त्यहाँ उनले सीमा क्षेत्रमा अपनाइएको सुरक्षा व्यवस्था, आवतजावतको अवस्था, निगरानी प्रणाली तथा सम्भावित चोरी तस्करी नियन्त्रणको उपायका बारेमा प्रत्यक्ष अवलोकन गरेका छन्। सीमामा खटिएका सुरक्षाकर्मीसँग उनले अनौपचारिक छलफल गर्दै आवश्यक सुधारका विषयमा सुझावसमेत सुनेका थिए। 

त्यसपछि गृहमन्त्री विराटनगर भन्सार कार्यालयअन्तर्गतको एकीकृत जाँच चौकी (आईसीपी) पुगे। त्यहाँ उनले भन्सार प्रशासन, राजस्व संकलनसँग सम्बन्धित गतिविधि, सुरक्षा व्यवस्थापन तथा सीमाबाट हुने अवैध कारोबार नियन्त्रणका विषयमा छलफल गरेका थिए। सीमा अपराध नियन्त्रणमा सम्बन्धित निकायबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको धारणा थियो। 

निरीक्षणको अर्को चरणमा गृहमन्त्री जिल्ला प्रहरी कार्यालय मोरङ पुगे। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जिल्लाको समग्र शान्तिसुरक्षाको अवस्था, अपराध अनुसन्धान, प्रहरी परिचालन, जनशक्ति व्यवस्थापन तथा हाल सामना गरिरहेका चुनौतीका बारेमा गृहमन्त्रीलाई जानकारी गराएका थिए। प्रहरी कार्यालयमा उनले हिरासत कक्ष, प्रहरी बस्ने तथा सुत्ने ब्यारेक र अन्य भौतिक संरचनाको समेत निरीक्षण गरे।

निरीक्षणका क्रममा उनले प्रहरी संगठनको पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको पुनः दोहोर्‍याए। प्रहरीलाई सुरक्षित र व्यवस्थित कार्य वातावरण उपलब्ध गराउन आवश्यक बजेट व्यवस्थापन गर्दै पूर्वाधार निर्माणलाई अगाडि बढाइने उनको भनाइ थियो। सुरक्षा स्रोतका अनुसार गृहमन्त्रीको विराटनगर भ्रमणको मुख्य उद्देश्य नेपाल–भारत सीमा सुरक्षाको वास्तविक अवस्था, प्रहरीको कार्यक्षमता, सीमावर्ती क्षेत्रका चुनौती तथा प्रशासनिक सेवाको प्रभावकारिता प्रत्यक्ष रूपमा मूल्यांकन गर्नु रहेको थियो।

निरीक्षणका क्रममा प्राप्त जानकारीका आधारमा आवश्यक सुधारका योजना अघि बढाइने संकेत पनि उनले गरेका छन्। मोरङमा निरीक्षण सम्पन्न गरेपछि गृहमन्त्री गुरुङ सुनसरीतर्फ प्रस्थान गरेका थिए। विराटनगर बसाइका क्रममा उनले सीमा सुरक्षा, चोरी तस्करी नियन्त्रण, प्रशासनिक सेवा प्रवाह, प्रहरीको पूर्वाधार विकास तथा सुरक्षा संयन्त्रको समग्र कार्यसम्पादनका बारेमा प्रत्यक्ष जानकारी लिँदै सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशनसमेत दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.