राष्ट्रियसभामा नौ मन्त्रालयमाथि विनियोजित शीर्षकमा छलफल
काठमाडौं : राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत बिभिन्न ९ वटा मन्त्रालयमाथि विनियोजित शीर्षकमाथि छलफल भएको छ । बिहीबार बसेको बैठकमा युवा, श्रम तथा रोजगार, सूचना तथा सञ्चार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन, महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा, विज्ञान, प्रविधि तथा नवप्रवर्तन र कानुन मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल भएको हो ।
विनियोजन शीर्षकमाथिको छलफलमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै राष्ट्रियसभा सदस्य सम्झाना देवकोटाले सरकारले बजेट छुट्याए अनुसारको अंक बजेट पुस्तिकमा नभेटेको बताइन् । त्यस्तै राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले पहाडी क्षेत्रमा रहेका बिमानस्थललाई सुविधा दिएर उडान सुचारु गर्न सुझाव दिए ।
उनले संघीय व्यवस्थालाई कमजोर नभए थप बलियो बनाएर लैजानु पर्नेमा जोड दिए । त्यस्तै अन्य सदस्यहरुले पर्यटन क्षेत्रका विस्तार, स्वास्थ्यमा सहज पहुँच, रोजगारी सिर्जना लगायतमा ध्यान दिन सरकारलाई सुझाव दिए । विनियोजन विधेयक अन्तर्गत बाँकी मन्त्रालयहरुका शीर्षकहरुमाथि असार १९ गते शुक्रबार छलफल हुने राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !