सानाको कीर्तिमान, ठूला राष्ट्रको अप्रत्याशित हार
काठमाडौं : अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६ को समूह चरण सम्पन्न भएसँगै प्रतियोगिताले नयाँ इतिहास रचेको छ। पहिलोपटक ४८ टोली सहभागी विश्वकपमा १२ समूहका शीर्ष दुई टोलीसँगै तेस्रो स्थानका उत्कृष्ट ८ टोली अन्तिम ३२ मा पुगेका छन्।
विस्तारित ढाँचाका कारण समूह चरणमै कीर्तिमान, रोमाञ्चक प्रतिस्पर्धा र अप्रत्याशित नतिजाले विश्व फुटबललाई तरंगित बनाएको छ। यस विश्वकपको समूह चरणमै केही महत्त्वपूर्ण कीर्तिमान रचिएका छन्।
१२ समूह र अन्तिम ३२ टोलीको नकआउट चरण पहिलोपटक लागू गरिएको छ। समूह चरणमै ७२ खेल सम्पन्न हुनु पनि विश्वकप इतिहासकै सबैभन्दा धेरै हो। केप भर्डे पहिलोपटक विश्वकपको नकआउट चरणमा पुगेर आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो उपलब्धि हासिल गर्न सफल भएको छ। क्यानडाले घरेलु समर्थकमाझ समूह चरण पार गर्दै विश्वकप इतिहासमा पहिलोपटक नकआउट चरणमा स्थान बनाउन सफल भयो। मेक्सिकोले समूह चरणका तीनवटै खेल जित्दै आयोजक राष्ट्रमध्ये सबैभन्दा प्रभावशाली प्रदर्शन गर्यो। फ्रान्सले ३ खेलमा १० गोल गर्दै समूह चरणको सर्वाधिक गोल गर्ने टोलीको कीर्तिमान बनायो।
समूह चरणमा कुल २ सय १५ गोल दर्ता हुँदा प्रतिखेल गोलको औसत अघिल्ला केही संस्करणको तुलनामा उल्लेखनीय रूपमा उच्च रह्यो। यद्यपि केही स्थापित टोलीका लागि यो संस्करण निराशाजनक पनि बन्न पुग्यो। उरुग्वे, दक्षिण कोरिया, इरान, टर्की, स्कटल्यान्ड र कतारजस्ता टोली समूह चरणबाटै बाहिरिए भने केही समूहमा गोलअन्तर र अनुशासन अंकका आधारमा अन्तिम ३२ को निर्णय हुनुले प्रतिस्पर्धालाई अझ रोमाञ्चक बनाइरहेको छ।
अब प्रतियोगिता नकआउट चरणमा प्रवेश गरेको छ, जहाँ प्रत्येक खेल जित या बिदाइको अवस्थासँग जोडिनेछ। समूह चरणका कीर्तिमानपछि अब व्यक्तिगत उपलब्धि, सर्वाधिक गोलकर्ता, उपाधि दाबेदार टोली र नयाँ इतिहासतर्फ विश्व फुटबलप्रेमीको ध्यान केन्द्रित भएको छ।
समूह चरणमै कीर्तिमानको वर्षा
फिफा विश्वकप २०२६ को समूह चरण सम्पन्न भएसँगै प्रतियोगिताले खेलस्तर, दर्शक सहभागिता र आर्थिक पक्ष तीनै क्षेत्रमा नयाँ इतिहास रचेको छ। पहिलोपटक ४८ टोली सहभागी भएको विश्वकपमा समूह चरणका ७२ खेल सम्पन्न हुँदा २ सय १५ गोल भयो। जुन विश्वकप इतिहासकै समूह चरणमा भएको सर्वाधिक गोल हो। यसपटक प्रतिखेल झन्डै ३ गोलको औसत निस्किएको छ। प्रतियोगिताको समूह चरणमा रेफ्रीहरूले एक ८० पहेंलो कार्ड र १० रातो कार्ड देखाएका थिए। हाइटीले सबैभन्दा धेरै फल गर्ने टोलीको कीर्तिमान बनाउँदा पराग्वेले सर्वाधिक ८ पहेंलो कार्ड बेहोर्यो।
व्यक्तिगत प्रदर्शनतर्फ अर्जेन्टिनाका कप्तान लियोनेल मेसी गोल्डेन बुटको दौडमा अग्रस्थानमा छन्। फ्रान्सका काइलिन एमबाप्पे, नर्वेका एर्लिङ हालान्ड र ब्राजिलका भिनिसियस जुनियर पनि सर्वाधिक गोलकर्ताको प्रतिस्पर्धामा छन्। समूह चरणमा केही महत्त्वपूर्ण खेलाडीले चोट बोकेपछि खेल फिक्का बन्न पुग्यो। क्यानडाका इस्माएल कोने प्रतियोगिताबाट बाहिरिए भने फ्रान्सका विलियम सालिबा मांसपेशीको समस्याबाट पीडित बन्न पुगे। 
आर्थिक रूपमा इतिहासकै ठूलो संस्करण
विश्वकप २०२६ खेलका हिसाबले मात्र होइन, आर्थिक रूपमा पनि इतिहासकै सबैभन्दा ठूलो संस्करण बनेको छ। फिफाले यस संस्करणका लागि कुल ८७१ मिलियन अमेरिकी डलर (करिब १ खर्ब २० अर्ब) बराबरको आर्थिक प्याकेज स्वीकृत गरेको छ। त्यसमध्ये ६५५ मिलियन डलर प्रदर्शनका आधारमा पुरस्कारका रूपमा वितरण हुनेछ भने बाँकी रकम सहभागिता र तयारी खर्चका लागि छुट्ट्याइएको छ।
प्रतियोगिताको विजेता टोलीले ५ करोड अमेरिकी डलर (५० मिलियन डलर) पुरस्कार प्राप्त गर्नेछ, जुन नेपाली रुपैयाँमा करिब ६ अर्ब ८० करोडबराबर हुन्छ। उपविजेताले ३३ मिलियन डलर, तेस्रो हुने टोलीले २९ मिलियन डलर र चौथो हुने टोलीले २७ मिलियन डलर प्राप्त गर्ने छन्। समूह चरणबाटै बाहिरिने प्रत्येक टोलीले पनि नौ मिलियन डलर प्रदर्शन बोनसका साथै सहभागिता र तयारी खर्च गरी न्युनतम १२.५ मिलियन डलर पाउने व्यवस्था गरिएको छ।
केप भर्डेको उडान
अफ्रिकाको सानो द्विपीय राष्ट्र केप भर्डेले फिफा विश्वकप २०२६ मा इतिहास रच्दै पहिलो सहभागितामै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। विश्व फुटबलका शक्तिशाली राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्दै केप भर्डेले आफ्नो साहसिक प्रदर्शनबाट विश्वभरका फुटबल समर्थकको ध्यान नान्न पनि सफल भएको हो।
केप भर्डे समूह उपविजेताका रूपमा नकआउट चरणमा पुगेको हो। समूह ‘एच’ बाट स्पेन विजेता र केप भर्डे उपविजेताका रूपमा नकआउट चरणमा पुग्दा दुई पटकको विजेता उरुग्वे र साउदी अरेबिया भने प्रतियोगिताबाट बाहिरिएका थिए।
करिब ५ लाख जनसंख्या भएको केप भर्डेले पहिलोपटक विश्वकपमा छनोट हुँदै यसअघि नै इतिहास बनाएको थियो। अब प्रतियोगिताको पहिलो सहभागितामा नकआउट चरणसम्म पुगेर आफ्नो उपलब्धिलाई थप ऐतिहासिक बनाएको छ। टोलीका प्रशिक्षक पेड्रो ब्रिटोले यो सफलतालाई ‘सानो राष्ट्रका लागि ठूलो सपना साकार भएको क्षण’का रूपमा व्याख्या गरेका छन्।
समूह चरणभर केप भर्डेले अनुशासित रक्षापंक्ति, उत्कृष्ट गोलरक्षण र दृढ प्रदर्शन प्रस्तुत गरेको थियो। केप भर्डेको यो यात्रा विश्व फुटबलमा ‘अन्डरडग’ कथाको उत्कृष्ट उदाहरण बनेको छ। सीमित स्रोत र सानो जनसंख्या हुँदाहुँदै पनि दृढ इच्छाशक्ति, रणनीति र सामूहिक एकताले विश्व फुटबलमा नयाँ इतिहास लेख्न सकिने सन्देश यस दिएको छ।
अभागी १६ टोली
फिफा विश्वकप २०२६ को ४८ टोलीको ढाँचाले धेरै राष्ट्रलाई पहिलोपटक विश्व फुटबलको महाकुम्भमा खेल्ने अवसर दिलायो। तर, केही टोलीका लागि भने यात्रा सुखद् बन्न सकेन। ४८ टोलीमध्ये ३२ टोली नकआउट चरणमा पुग्दा बाँकी १६ टोलीको विश्वकप यात्रा समूह चरणमै टुंगियो। केही कमजोर प्रदर्शनका कारण बाहिरिए भने केही टोली उत्कृष्ट प्रतिस्पर्धाका बाबजुद पनि गोलअन्तर, अंकगणित र ‘बेस्ट थर्ड प्लेस’को कठिन समीकरणमा परेर
अभागी सावित भए।
यस विश्वकपका सबैभन्दा ठूलो निराशामध्ये दुईपटकको विश्वविजेता उरुग्वेले बेहोर्यो। प्रशिक्षक मार्सेलो बिएल्साको टोलीलाई उपाधि दाबेदारमध्ये एक मानिए पनि ३ खेलबाट दुई अंक मात्र जोड्दै समूह चरणबाटै घर फर्किनुपर्यो। यस्तै एसियाली महारथि दक्षिण कोरिया पनि उत्कृष्ट तेस्रो स्थानमा पर्न नसक्दा नकआउट चरण पुग्न असफल भयो।
पहिलोपटक विश्वकप खेलेका उज्वेकिस्तान र कुरासाओले ऐतिहासिक सहभागिता जनाए पनि अनुभवको कमी उनीहरूका लागि महँगो सावित भयो। जोर्डनले पनि पहिलो विश्वकप यात्रालाई स्मरणीय बनाउन सकेन। यद्यपि यी टोलीले भविष्यका लागि आशा जगाउने प्रदर्शन भने
गर्न सफल भए।
ट्युनिसिया, टर्की, चेक रिपब्लिक, कतार, इराक, साउदी अरेबिया, न्युजिल्यान्ड, स्कटल्यान्ड र इरानजस्ता टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। विशेषगरी स्कटल्यान्ड र इरान समान अंक जोडेर पनि उत्कृष्ट तेस्रो स्थानको सूचीमा अटाउन नसक्दा बाहिरिन बाध्य भए। विश्वकपको नयाँ ढाँचाले अन्तिम क्षणसम्म आशा जीवित राखे पनि अन्ततः उनीहरूको यात्रा समूह चरणमै सीमित भयो।
हाइटी र पानमाले पनि प्रतियोगितामा संघर्षपूर्ण प्रदर्शन नै गरे। हाइटी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो भने पानमाले प्रतिस्पर्धात्मक खेल खेले पनि अंक जोड्न सकेन। समूह चरणबाट बाहिरिने १६ टोलीमा हाइटी, ट्युनिसिया, टर्की, जोर्डन, पानामा, कतार, चेकिया, कुरासाओ, इराक, उरुग्वे, साउदी अरेबिया, न्युजिल्यान्ड, स्कटल्यान्ड, उज्बेकिस्तान, दक्षिण कोरिया र इरान छन्।
विश्वकपमा हार र जित खेलको स्वाभाविक पाटो हो। तर, यी १६ टोलीका लागि २०२६ संस्करण एउटा महत्त्वपूर्ण सिकाइ पनि बन्यो। कतिपयले भविष्यका लागि नयाँ पुस्ता तयार पारे, कतिपयले आफ्नो कमजोरी पहिचान गरे। अब उनीहरूको लक्ष्य अर्को ४ वर्षपछि हुने विश्वकपमा अझ बलियो रूपमा फर्किने छ। किनभने विश्वकपमा एकपटकको असफलताले कुनै राष्ट्रको फुटबल यात्रा समाप्त हुँदैन, बरु नयाँ सुरुवातको आधार तयार पार्दछ।
प्रशिक्षकको बर्हिगमन
विश्वकप फुटबलमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि केही प्रशिक्षक हटाइए भने केहीले आफ्नै स्वइच्छाले बिदा लिए। तिनैमध्येका एक हुन्, दक्षिण कोरियाको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक होङ म्युङ–बो। दक्षिण कोरिया फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएपछि उनले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए। दक्षिण कोरियाको निराशाजनक प्रदर्शनपछि राष्ट्रपति ली जे म्युङले प्रशिक्षकको क्षमतामाथि सार्वजनिक रूपमा प्रश्न उठाउँदै राष्ट्रिय टोलीको समग्र संरचनामाथि पुनरावलोकन गर्न निर्देशन दिएका थिए। त्यसलगत्तै होङको राजीनामा दिएका थिए।
राष्ट्रपति लीले योग्यताभन्दा निष्ठा र गुटगत स्वार्थलाई प्राथमिकता दिँदा यस्तै परिणाम आउने टिप्पणी गर्दै नेतृत्व चयन नै सफलताको आधार हुने बताएका थिए। दक्षिण कोरियाले चेक रिपब्लिकसँगको पहिलो खेल जितेर सुखद् सुरुवात गरे पनि त्यसपछि मेक्सिको र दक्षिण अफ्रिकासँग पराजित भएको थियो। विस्तारित प्रतियोगितामा उत्कृष्ट तेस्रो स्थानको टोलीका रूपमा नकआउट चरण पुग्ने आशामा पनि कंगो तगारो बनेको थियो। कंगोले उज्वेकिस्तानलाई ३–१ गोलले हराएपछि दक्षिण कोरिया समूह चरणबाटै घर फर्किएको थियो।
यसैगरी स्कटल्यान्डका मुख्य प्रशिक्षक स्टिभ क्लार्कले पनि आफ्नो पदबाट राजीनामा दिएका थिए। स्कटल्यान्ड समूह चरणबाटै बाहिरिएपछि ६२ वर्षीय क्लार्कले पद त्याग्ने घोषणा गरेका थिए। उनले गत मेमा मात्रै सन् २०३० को विश्वकपसम्मका लागि आफ्नो सम्झौता नवीकरण गरेका थिए।
समर्थकहरूका नाममा एक भावुक पत्र लेख्दै क्लार्कले भनेका थिए, ‘यो बिदाइको सबैभन्दा भावुक पक्ष मेरा खेलाडीहरू हुन्। उनीहरूबिना सन् २०१९ देखि अहिलेसम्मका कुनै पनि मीठा सम्झनाहरू सम्भव हुने थिएनन्। मलाई साथ दिनुभएकोमा धन्यवाद र मेरो उत्तराधिकारी (नयाँ प्रशिक्षक) लाई शुभकामना।’ स्टिभ क्लार्ककै नेतृत्वमा स्कटल्यान्ड २८ वर्षपछि पहिलो पटक विश्वकपमा छनोट भएको थियो।
स्कटल्यान्डले समूह चरणको पहिलो खेलमा हाइटीलाई १–० गोलले हराएर सानदार सुरुवात गरे पनि त्यसपछिका खेलहरूमा मोरक्को र ब्राजिलसँग पराजित भएर समूह चरणबाटै बाहिरिन पुग्यो। यसैगरी पहिलोपटक विश्वकपमा स्थान बनाएको कुराकाओका प्रशिक्षक फ्रेड रुटेनले पनि राजीनामा दिएका थिए। उनले कुराकाओले विश्वकपमा डेब्यु गर्नु अघि नै पदबाट राजीनामा दिएका थिए।
अनुशासनमा जापानको कीर्तिमान
विश्व फुटबलमा जापानलाई अनुशासित र संगठित टोलीका रूपमा चिनिन्छ। मैदानभित्र संयमित खेल खेल्ने र मैदानबाहिर सभ्य व्यवहारका कारण प्रशंसा कमाएको जापानले फिफा विश्वकप २०२६ मा पनि आफ्नो यही पहिचानलाई नयाँ कीर्तिमानसँग जोडेको छ।
समूह चरणदेखि नै कम फल, कम कार्ड र उच्च खेल अनुशासन प्रदर्शन गरेको जापान विश्वकपको ‘फेयर प्ले’ सूचीमा शीर्ष टोलीमध्ये एक बन्न सफल भएको छ। प्रतियोगिताको नकआउट चरणसम्म आइपुग्दा जापानले कुनै रातो कार्ड बेहोरेन भने पहेंलो कार्डको संख्या पनि अत्यन्त कम मात्रै खायो।
जापानी फुटबलको सफलताको आधार केवल प्राविधिक क्षमता मात्र होइन, अनुशासन, सामूहिक खेल र रणनीतिक प्रतिबद्धता पनि मानिएको छ। प्रशिक्षक हाजिमे मोरियासुले पनि प्रतियोगिताभर आफ्नो टोलीको एकता, जिम्मेवारीबोध र अनुशासन नै कीर्तिमानको प्रमुख आधार भएको बताएका थिए। चोटका कारण मुख्य खेलाडीहरू अनुपस्थित हुँदा पनि टोलीले आफ्नो संरचना र खेलशैलीलाई कायम राख्न सफल भएको उनले उल्लेख गरेका थिए।
जापानले समूह चरणमा ट्युनिसियामाथि ४–० को प्रभावशाली जित निकाल्दै विश्वकप इतिहासमा एसियाली राष्ट्रका रूपमा एकै खेलमा ४ गोल गर्ने तथा ४ गोलको अन्तरले जित्ने पहिलो टोली बन्ने कीर्तिमान पनि बनाएको थियो। त्यही प्रतियोगितामा जापानले लगातार ४ विश्वकप खेलमा नियमित समयमा अपराजित रहने नयाँ राष्ट्रिय कीर्तिमानसमेत कायम गरेको थियो।
नकआउट चरणमा भने जापानको यात्रा पाँचपटकको विश्वविजेता ब्राजिलसँग २–१ को रोमाञ्चक हारसँगै टुंगियो। हारपछि पनि जापानको संगठित रक्षा, संयमित खेल र खेल भावनाको विश्वभर प्रशंसा भइरहेको छ। अन्तिम समयसम्म ब्राजिललाई दबाबमा राखेको जापानले परिणाम आफ्नो पक्षमा पार्न नसके पनि अनुशासित टोलीको पहिचानलाई भने थप मजबुत बनाउन सफल भएको छ।
विश्वकप इतिहासमा फिफाको फेयर प्ले पुरस्कार दोस्रो चरण पुगेका टोलीमध्ये सबैभन्दा अनुशासित टोलीलाई प्रदान गरिन्छ। जापान विगतदेखि नै कम कार्ड खाने राष्ट्रमध्ये एक रहँदै आएको छ। सन् २०१८ को विश्वकपमा पनि जापान कम पहेंलो कार्डका आधारमा अन्तिम १६ मा पुगेको थियो, जुन विश्वकप इतिहासकै चर्चित ‘फेयर प्ले’ उदाहरणमध्ये एक मानिन्छ।
यसपटक उपाधिको यात्रा समाप्त भए पनि जापानले फेरि एकपटक प्रमाणित गरेको छ, विश्व फुटबलमा सफलता केवल गोल र जितबाट मात्र होइन, अनुशासन, खेलभावना र सामूहिक संस्कृतिबाट पनि मापन गरिन्छ। त्यसैले जापान आज पनि विश्व फुटबलको सबैभन्दा अनुशासित टोलीका रूपमा अलग पहिचान बनाउन सफल भएको छ।
प्रतिक्रिया दिनुहोस !