एम्बुलेन्समार्फत जनकपुर ल्याउँदै गर्दा बाटैमा कुटपिटपछि मृत्यु
थमन विक हत्या प्रकरण : जिल्लाको आदेश उल्ट्याएर सांसद शर्मा र पूर्वसांसद कोइरीलाई ५ वर्ष कैद
जनकपुरधाम : मधेश आन्दोलनको क्रममा सशस्त्र प्रहरीका घाइते असई थमन विश्वकर्माको हत्यामा संलग्न आरोपमा उच्च अदालत जनकपुरले निलम्बित सांसद अभिराम शर्मा र पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई ५ वर्षको सजाय हुने फैसला गरेको छ।
जिल्ला अदालत महोत्तरीले सफाइ दिएका कोइरी, शर्मा र पवन कापरलाई पनि दोषी ठहर गर्दै पाँच वर्ष कैद सजाय सुनाएको छ। यसरी उच्च अदालतले जिल्ला अदालतको फैसला आंशिक रुपमा सदर र आंशिक रुपमा संशोधन गरेको गर्दै यस्तो फैसला सुनाएको हो।
जिल्ला अदालत महोत्तरीको फैसला उल्टयाउँदै अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई सुनाएको जन्मकैदको फैसला उच्च अदालतले उल्ट्याएको छ भने पूर्वसांसद महतो तथा पवन कापरको हकमा भने फरक निष्कर्ष निकालेको छ। उनीहरुले मृतकमाथि प्रत्यक्ष प्रहार गरेको पुष्टि हुने वस्तुनिष्ठ प्रमाण नभेटिए पनि मुख्य प्रतिवादीहरुको पोलयुक्त बयान तथा घटनाको समग्र परिस्थितिले उनीहरु हत्या गराउने संयोग पार्ने कार्यमा संलग्न रहेको देखिएको अदालतले ठहर गरेको छ।
२०८० मंसिर २८ मा महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको एकल इजलासले मुद्दामा फैसला सुनाएको थियो। सोही आधारमा उनीहरुलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी व्यवस्थाअनुसार जनही ५ वर्ष कैद सजाय हुने फैसला सुनाइएको छ। जिल्ला अदालतबाट जन्मकैदको सजाए पाएका नेता शर्मा, मिश्र, पाण्डेय, धर्मेन्द्र राय सहितले उच्च अदालत जनकपुरधाममा पुनरावेदन नगरी फरार रहेका थिए। उनीहरुले पुनरावेदनको म्याद ७० दिन र थमाउने म्याद ३० दिन गरी सय दिन समाप्त हुँदा पनि उच्च अदालतमा पुनरावेदन गरेनन्।
विक हत्या प्रकरणमा साधक बहस भएपछि जन्मकैदको सजाय पाएका परिवारजनहरुले न्याय प्रशासन ऐन २०७३ को दफा १०(४) बमोजिम उच्च अदालतमा निवेदन दिएका छन्। जन्म कैदको सजाय पाएका नेता अभिराम शर्माका बुवा महेन्द्र शर्मा र पूर्वमेयर मिश्रकी पत्नी संगीताकुमारी मिश्रले आफ्ना मान्छे निर्दोष रहेको भन्दै ९ वैशाख २०८१ मा उच्च अदालत जनकपुरधाममा निवेदन दर्ता गराएका थिए।
उच्च अदालत जनकपुरधामले प्रदीप साह माझी, सञ्जय कुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐन, ज्यानसम्बन्धी महल अन्तर्गत जन्मकैदको सजाय यथावत् कायम गरेको छ। अदालतले उनीहरु विरुद्ध रहेका प्रमाण, साक्षी तथा अनुसन्धानका क्रममा संकलित तथ्यहरु पर्याप्त रहेको निष्कर्ष निकालेको हो।
मृतक थमन विकको मृत्यु कर्तव्यबाट भएको पुष्टि हुने चिकित्सकीय प्रमाण, प्रतिवादीविरुद्ध परेको किटानी जाहेरी, अनुसन्धानका क्रममा उनीहरुले दिएको बयान तथा घटनापछि उपचारका लागि लैजाँदै गरेका एम्बुलेन्स चालक सुशील मिश्र, साथै पप्पुकुमार साह, सियाराम पासवान र राजकुमार झाले अनुसन्धान अधिकारी समक्ष दिएको बयानले तीनै प्रतिवादीको प्रत्यक्ष संलग्नता पुष्टि गरेको ठहर गरिएको छ।
फैसलामा घटनास्थलमा खिचिएका तस्बिर समेतलाई महत्वपूर्ण प्रमाणका रुपमा उल्लेख गरिएको छ। ती तस्बिरमा प्रतिवादी सञ्जयकुमार साहले थमन विकमाथि आक्रमण गरिरहेको देखिने भन्दै अदालतले त्यसलाई प्रत्यक्ष प्रमाणका रुपमा ग्रहण गरेको छ।मृतक थमन विश्वकर्माको मृत्यु कर्तव्यवाट भएको देखिएको, प्रतिवादीहरु प्रदिप साह माझी, संजय कुमार साह र मोहन ठाकुरको हकमा किटानी जाहेरी परेको, निज प्रतिवादीहरुले अनुसन्धानको क्रममा आरोपित कसूर स्वीकार गरी बयान गरेको उल्लेख छ।
‘घाइतेलाई उपचार गर्न एम्बुलेन्समा राखी जनकपुरतर्फ जाँदै गरेको अवस्थामा सो एम्बुलेन्सका चालक सुशिल मिश्र र संगसाथ रहेका पप्पु कुमार साह, सियाराम पासवान र राजकुमार झाले अनुसन्धान अधिकारीसमक्ष उल्लिखित प्रतिवादीहरुको घटनामा संलग्नता रहेको भनी घटना विवरण कागजमा व्यहोरा लेखाएको एवं प्रथम चरणको घटनामा प्रतिवादी संजय कुमार साह समेतले थम्मन बिकलाई प्रहार गरेको फोटोहरुबाट समेत देखिएको छ। अतः उल्लिखित तथ्य प्रमाणहरुको विवेचना गरी यी प्रतिवादीहरु प्रदिप साह माझी, संजय कुमार साह र मोहन ठाकुरलाई तत्काल प्रचलित मुलुकी ऐन, ज्यान सम्बन्धीको १ नम्बरको कसुरमा सोहि महलको १३(३) नम्बर वमोजिम जनही जन्मकैद हुने ठहर्याई भएको महोत्तरी जिल्ला अदालतको मिति २०८०/०८/२८ को फैसला निज प्रतिवादीहरुको हकमा मिलेको देखिंदा साधक सदर हुने ठहर्छ।’ आदेशमा भनिएको छ, ‘अन्य प्रतिवादीहरु अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरको हकमा हेर्दा, यी प्रतिवादीहरुले थमन विकलाई प्रहार गरेको भन्ने तथ्य कुनै वस्तुनिष्ठ प्रमाणबाट प्रमाणित भएको पाइँदैन। यसै सिलसिलामा कसूर ठहर भएका प्रतिवादीहरु प्रदिप साह माझी, संजय कुमार साह र मोहन ठाकुरले अनुसन्धानको क्रममा गरेको पोलयुक्त वयानमा माथि उल्लिखित प्रतिवादीहरुले निज थमन विकको ज्यान मार्ने संयोग पार्ने कार्यमा संलग्न भएको भनी उल्लेख गरेको देखिन्छ। यस अवस्थामा निज प्रतिवादीहरुले मुलुकी ऐन ज्यान सम्बन्धीको १७(२) को कसुर गरेको देखिएकोमा प्रतिवादीहरु अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १ नम्बरको कसूरमा सोही महलको १३(३) वमोजिम जन्मकैद सजाय हुने ठहर गरेको एवं प्रतिवादीहरु लक्ष्मी महतो र पवन कापरलाई आरोपित कसुरबाट सफाई दिएको महोत्तरी जिल्ला अदालतको मिति २०८०/०८/२८ को फैसला सो हदसम्म नमिलेको हुँदा केहि उल्टी भई प्रतिवादीहरु अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र, सुरेश पाण्डे, लक्ष्मी महतो र पवन कापरलाई मुलुकी ऐन ज्यान सम्बन्धीको १७(२) बमोजिम जनही ५ वर्ष कैद सजाय हुने ठहर्छ।’
यता, पुनरावेदनको म्याद समाप्त भएपछि उच्च अदालत जनकपुरले सो मुद्दामा साधक सुनवाइ गर्ने भएको छ। उच्च अदालत जनकपुरधामका अनुसार अदालतले सो मुद्दाको साधक पेसी बुधबार नै तोकेको छ। जन्मकैद तथा २० वर्ष वा २० वर्षभन्दा माथिको सजाय पाएको मुद्दामा साधक सुनवाइ गर्ने कानुनी प्रावधान छ।
अढाइ वर्षसम्म सुनुवाइको क्रममा ४९ पटक पेसी स्थगित भएको थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले अन्ततः ५० औँ पेसीमा फैसला सुनाएको छ। कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारिबाबु श्रेष्ठको संयुक्त इजलासले महोत्तरी जिल्ला अदालतको फैसला आंशिक रुपमा सदर गर्दै आंशिक रुपमा उल्ट्याएको हो।
थमन विक हत्या प्रकरण २०७२ सालको मधेश आन्दोलनसँग जोडिएको चर्चित घटनामध्ये एक हो। २५ भदौ २०७२ मा हेटौँडाबाट आफ्नो कार्यस्थल महोत्तरी सदरमुकाम जलेश्वर पुगेका सशस्त्र प्रहरीका असई थमन विक आन्दोलनका क्रममा आक्रमणमा परेका थिए। घाइते विकलाई सुरुमा जलेश्वर अस्पताल पुर्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि एम्बुलेन्समार्फत जनकपुर ल्याउँदै गर्दा तत्कालीन अनैठामा आन्दोलनकारीले एम्बुलेन्स रोकी उनलाई बाहिर निकालेर कुटपिट गरेका थिए। सोही कुटपिटका कारण उनको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीमाथिको आक्रमण, आन्दोलनका क्रममा भएको हिंसा तथा त्यससँग सम्बन्धित राजनीतिक र कानुनी बहसका कारण यो मुद्दा लामो समयदेखि सार्वजनिक चासोको विषय बनेको थियो।
प्रतिक्रिया दिनुहोस !