काठमाडौं: फिफा विश्वकप २०२६ को नकआउट चरण अन्तर्गत सेनेगललाई पराजित गर्दै बेल्जियम राउन्ड अफ १६ मा प्रवेश गरेको छ।सियाटल स्टेडियममा भएको खेलमा बेल्जियमले सेनेगललाई ३-२ले पराजित गरेको हो।
पहिलो हाफमा सेनेगलले १-० को अग्रता बनाएको थियो। दोस्रो हाफको सुरुवातमा नै सेनेगलले अग्रता दोब्बर बनायो। दोस्रो हाफमा सेनेगलले सुरुवाती दुई गोलको अग्रता जोगाउन सकेन। जसको फलस्वरूप सेनेगलले तीन मिनेटको फरकमा लगातार दुई गोल बेहोर्यो। निर्धारित ९० मिनेटमा खेल २-२ बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो। अतिरिक्त समयको पनि अन्तिमतिर बेल्जियमले पेनाल्टी पायो। पेनाल्टीबाट गोल गर्दै बेल्जियमले ३-२ को अग्रता सहित विजय हासिल गर्यो।
खेलको २४ औं मिनेटमा हबीब डिआराले गोल गरेका हुन्। उनले पोलमा ठोक्किएर रिबाउन्डमा आएको बललाई फिनिसिङ टच दिएका हुन्।पहिलो हाफमा यहि गोलमार्फत सेनेगलले १-० को अग्रता बनाएको थियो।
दोस्रो हाफ सुरु भएको छैटौं मिनेटमा सेनेगलले अग्रता दोब्बर बनायो। सेनेगलको लागि इस्माइला सार्रले गोल गरेका हुन्। खेलको ८६ औँ मिनेटमा बेल्जियमको लागि रोमेलु लुकाकुले उत्कृष्ट गोल गर्दै बेल्जियमलाई खेलमा फर्काउने कोसिस गरे। त्यसको तीन मिनेट पश्चात पुन बेल्जियमले गोल गर्यो। बेल्जियमको लागि यूरी टिलिमेन्सले गोल गरे।
खेलको निर्धारित ९० मिनेटसम्म खेल बराबरीमा रोक्यो। नकआउट चरण भएका कारण नतिजा आवश्यक भएपछि खेल अतिरिक्त समयमा लम्बियो अतिरिक्त समयको अन्तिम केही मिनेट बाँकी रहँदा बेल्जियमले पेनाल्टी पायो। पेनाल्टीको भिडियो असिस्टेन्ट रेफ्री (भार) बाट प्रमाणित भएपछि बेल्जियमले पेनाल्टी प्रहार गर्यो र पेनाल्टीमा यूरी टिलिमेन्सले गोल गर्दै बेल्जियमलाई ३-२ को अग्रतामा ल्याए। यो पेनाल्टी गोल नै निर्णायक रह्यो।
त्यसपछि, थप गरिएको अन्तिम मिनेटमा सेनेगलले डिबक्स बाहिर राम्रो स्थानमा पाएको फ्री किकको अवसर पनि सदुपयोग गर्न सकेन। यससँगै सेनेगलको विश्वकप यात्रा सकिएको छ।
प्रतिक्रिया दिनुहोस !