अध्यागमन विभागले कार्यान्वयनमा ल्यायो डिजिटल अपोइन्टमेण्ट व्यवस्थापन प्रणाली, साउनदेखि नयाँ व्यवस्था
काठमाडौं : अध्यागमन विभागले डिजिटल अपोइन्टमेण्ट व्यवस्थापन प्रणाली विकास गरी कार्यान्वयनमा ल्याएको छ। प्रचलित अध्यागमन कानुन बमोजिम भौतिक रूपमै उपस्थित भई भिसाको म्याद थप तथा भिसा रूपान्तरण जस्ता सेवामा सन्तुलन कायम गर्नका लागि प्रणाली कार्यान्वयनमा ल्याएको हो।
यसअघि विभागमा आवेदन गर्ने सेवाग्राहीको कुनै दिन अत्यधिक भिडभाड हुने र कुनै दिन अत्यन्तै न्यून उपस्थिति हुने गरेको थियो। विभागले यसअघि नै पदयात्रा अनुमति र इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन जस्ता सेवाहरूलाई पूर्ण रूपमा अनलाइन बनाएको हुँदा सेवाग्राहीको भौतिक उपस्थिति शून्य भएको छ।
उक्त प्रणाली गत असार १२ गतेदेखि नै परीक्षणको रूपमा कार्यान्वयनमा रहेको छ। हाल नेपालीपोर्ट मार्फत् भिसा आवेदनसँगै आवरली अपोइन्टमेन्ट स्लट उपलब्ध गराइएको छ। कुनै पनि स्लटमा कोटा निर्धारण गरी नसकिएको र अपोइन्टमेन्ट स्लिप नभएका सेवाग्राहीलाई समेत सेवा प्रदान हुँदै आइरहेको विभागले जनाएको छ।
विभागका अनुसार आगामी साउन १ गतेदेखि प्रत्येक घण्टाका लागि आवेदनको कोटा निर्धारण गरी सोही बमोजिम मात्र सेवा प्रवाह गर्ने गरी यस प्रणालीलाई अनिवार्य गरिएको छ। कोटा प्रणालीले दैनिक रूपमा आउने सेवाग्राहीको संख्यालाई कार्यतालिका अनुसार समान रूपमा विभाजन गर्ने हुँदा कार्यालय समयमा सेवाग्राहीको चाप सन्तुलित र व्यवस्थित हुने विभागको अपेक्षा छ।
नेपालमा रहेका सम्पूर्ण विदेशी राहदानी वाहक तथा अन्य सरोकारवालाहरूले आफ्नो अनुकूलता अनुसार उपलब्ध स्लट अनुसारको समय निश्चित गरी सोही समयमा मात्र विभागमा उपस्थित भई काम कारबाहीलाई मर्यादित र व्यवस्थित बनाउने कार्यमा सहयोग गराउन विभागले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !