नवलपरासीका स्थानीय तहको बजेट घट्यो
परासी : नवलपरासीमा रहेका सात स्थानीय तहले झन्डै ५ अर्ब ३० करोड बराबरको बजेट ल्याएका छन् । स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको कुल बजेट ५ अर्ब २९ करोड ९७ लाख रहेको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ को तुलनामा आगामी आर्थिक वर्षको बजेट ३६ करोड ८७ लाखले घटेको हो । चालु आर्थिक वर्षमा स्थानीय तहले कुल ५ अर्ब ६६ करोड ८४ लाख बजेट विनियोजन गरेका थिए ।
चार स्थानीय तहले चालु वर्षभन्दा आगामी वर्षको बजेट बढाएका छन् । बढी बजेट ल्याउनेमा सुनवल नगरपालिका, प्रतापपुर, सुस्ता र सरावल गाउँपालिका छन् । रामग्राम, बर्दघाट, पाल्हीनन्दनले चालुभन्दा आगामी वर्षको बजेट घटाएर ल्याएका हुन् ।
संघ,प्रदेश र आन्तरिक आम्दानीको अनुमानका आधारमा स्थानीय तहहरूले बजेट निर्धारण गरेका हुन् । चालु वर्षमा सबैभन्दा बढी रामग्रामले बजेट कटौती गरेको छ । आगामी वर्षका लागि ३६ करोड ८६ लाख घटाएर बजेट बनाइएको छ । चालु वर्षमा १ अर्ब ३१ करोड ३६ लाख बजेट ल्याएको रामग्रामले आगामी वर्षका लागि ९४ करोड ५० लाख बजेट ल्याएको छ ।
सुनवल नगरपालिकाले बजेटमा २५ लाख वृद्धि गरेको छ । चालु वर्षमा ९९ करोड ९८ लाख बजेट ल्याएको सुनवलले आगामी वर्षका लागि १ अर्ब २३ लाख बजेट ल्याएको छ । बर्दघाट नगरपालिकाले ४ करोड ८० लाख बजेट कटौती गरेको छ । चालुवर्षमा ९७ लाख ७२ हजार बजेट ल्याएको बर्दघाटले आगामी वर्षका लागि ९२ करोड ९२ लाख बजेट ल्याएको छ ।
पाल्हीनन्दन गाउँपालिकाले १ करोड ८६ लाख बजेट कटौती गरेको छ । चालुवर्षमा ५३ करोड ११ लाख बजेट ल्याएको पाल्हीनन्दनले आगामी वर्षका लागि ५१ करोड २५ लाखको बजेट ल्याएको छ । सरावल गाउँपालिकाले २९ लाख वृद्धि गरेको छ । चालुवर्षमा ५३ करोड ३५ लाख बजेट ल्याएको सरावलले आगामी वर्षका लागि ५३ करोड ६४ लाखको बजेट ल्याएको छ । प्रतापपुर गाउँपालिकाले चालुवर्षको बजेटमा ८३ लाख वृद्धि गरेको छ ।
चालुवर्षमा ७६ करोड ३९ लाख बजेट ल्याएको प्रतापपुरले आगामी वर्षका लागि ७७ करोड २२ लाखको बजेट ल्याएको छ । सुस्ता गाउँपालिकाले चालुवर्षभन्दा ६ करोड ३९ लाख वृद्धि गरेर बजेट बनाएको छ । चालुवर्षमा ५४ करोड ९३ लाख बजेट ल्याएको सुस्ताले आगामी वर्षका लागि ६० करोड ३२ लाखको बजेट ल्याएको छ । यसैबीच स्थानीय तहले स्वास्थ्य, कृषि, शिक्षा, पूर्वाधार र रोजगारलाई विशेष प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएका छन् ।
प्रतिक्रिया दिनुहोस !