वैदेशिक रोजगारीको पीडा

रोमानियाबाट ग्रीस पुगेकी विष्णुको मिर्गौला फेल भएपछि...

वैदेशिक रोजगारीको पीडा
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारीका लागि रोमानिया पुगेर गैरकानुनी रूपमा ग्रीस छिरेकी एक नेपाली युवती अस्पतालमा अलपत्र परेकी छन्। सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका–८, चौताराकी विष्णु गुरुङ आवश्यक कागजात नहुँदा स्वदेश फर्कन नसकेकी हुन्।

श्रम स्वीकृति लिएर रोमानिया पुगेकी विष्णुले त्यहाँ काम पाइनन्। त्यसपछि उनी अवैध बाटो हुँदै ग्रीस पुगेकी थिइन्। ग्रीस पुगेको केही समयमै उनी गम्भीर बिरामी परिन्। गत जेठ ४ गते ग्रीसको क्रेट आइल्यान्डमा अचानक बेहोस भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले उनका दुवै मिर्गौलाले काम गर्न छाडेको बताएका छन्।

ग्रीस नेपाल फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनका अध्यक्ष कृष्ण पोखरेलका अनुसार नेपाली समुदायको सहयोगमा उनलाई क्रेट आइल्यान्डबाट एथेन्स ल्याइएको हो। हाल उनको एथेन्सस्थित इभान्जेलिस्मोस जनरल अस्पतालमा उपचार भइरहेको छ।

अवैध रूपमा ग्रीस पुगेकाले विष्णुसँग कुनै आधिकारिक कागजात छैन। उनीसँग कम्पनी सम्झौता र वर्क परमिट नभएकाले उपचार खर्च कम्पनीबाट बेहोर्ने अवस्था छैन। हाल नेपाली समुदायकै सहयोगमा उनको उपचार भइरहेको छ। चिकित्सकहरूले उनलाई यथाशीघ्र नेपाल फर्काएर मिर्गौला प्रत्यारोपण गर्न सल्लाह दिएका छन्। तर, प्रत्यारोपण र यात्राका लागि ठूलो रकम चाहिने भएपछि परिवार गम्भीर आर्थिक संकटमा परेको छ। स्वास्थ्य अवस्थाका कारण चिकित्सकहरूले तत्काल यात्रा गर्ने अनुमति भने दिएका छैनन्। कागजात तयार भएपछि नेपाल फर्किएर उपचार गराउने विष्णुको इच्छा छ।

विष्णुकी दिदी सरिता गुरुङले बहिनीलाई जतिसक्दो छिटो नेपाल ल्याएर उपचार गराउन चाहेको बताएकी छन्। घरको आर्थिक अवस्था सुधार्न बिदेसिएकी विष्णु आफैं ओछ्यान परेपछि परिवार चिन्तित छ। परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको छ। यसैबीच, ग्रीस नेपाल फ्रेन्डसिप एन्ड कल्चरल एसोसिएसनले पनि विष्णुको जीवनरक्षाका लागि सहयोग गर्न सम्पूर्ण नेपाली समुदाय र संघ–संस्थालाई सार्वजनिक आह्वान गरेको छ।

बुल्गेरियाबाट ग्रीस पुगेका हेमबहादुर लिम्बुको निधन
वैधानिक रूपमा बुल्गेरिया पुगेर गैरकानुनी रूपमा ग्रीस छिरेका हेमबहादुर लिम्बुको अस्पतालमै निधन भएको छ। बुल्गेरियाको वर्क परमिट लिएर गएका लिम्बुले त्यहाँ काम नपाएपछि ग्रीस रोजेका थिए। त्यहाँ पुगेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।

ग्रीसमा ‘बादल सिङ’ नामले चिनिने लिम्बु लामो समयदेखि परिवार र आफन्तको सम्पर्कमा थिएनन्। नेपाली संघ–संस्थाहरूले खोजी गर्ने क्रममा एथेन्सको अस्पतालमा उनको निधन भइसकेको जानकारी प्राप्त भएको हो। आवश्यक कागजात नहुँदा उनको शव अझै नेपाल पठाउन सकिएको छैन।
एसोसिएसनका अध्यक्ष कृष्ण पोखरेलका अनुसार पछिल्लो समय गैरकानुनी रूपमा ग्रीस पुग्ने र समस्यामा पर्ने नेपालीको संख्या बढ्दो छ। सन् २०२५ मा मात्रै कागजातविहीन अवस्थाका १३ नेपालीको शव नेपाल पठाइएको थियो। सन् २०२६ को हालसम्म चार जनाको शव नेपाल पठाइसकिएको छ। अहिले पनि ३७ जना नेपाली विभिन्न अस्पतालमा उपचाररत छन्।

पोखरेलका अनुसार हाल ग्रीसमा करिब २० हजार नेपाली रहेको अनुमान छ, तर यकिन तथ्यांक कसैसँग छैन। तीमध्ये करिब ७५ प्रतिशतसँग वैधानिक कागजात छैन। अधिकांश नेपाली एउटा देशको भिसा वा वर्क परमिट लिएर अर्को देशमा गैरकानुनी रूपमा प्रवेश गर्ने गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.