रास्वपा केन्द्रीय समितिमा हेरफेर : श्रेष्ठ र शर्मा हटाइए, थापामगर र बाँस्तोला थपिए
काठमाडौं : सत्तासीन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यको निर्वाचन परिणाममा त्रुटि भएको भन्दै दुई जना केन्द्रीय सदस्यलाई हटाएर नयाँ दुई जनालाई थप गरेको छ।
चितवनमा भएको महाधिवेशनबाट निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठ र सोम शर्माको नाम केन्द्रीय सदस्यको सूचीबाट हटाइएको छ भने उनीहरूको स्थानमा ध्रुवकुमार थापामगर र पूजा बाँस्तोलालाई थप गरिएको छ।
असार ७ गतेदेखि ६ दिनसम्म चितवनमा रास्वपाको प्रथम महाधिवेशन भएको थियो। महाधिवेशनले सभापतिमा रवि लामिछाने र ९९ जना केन्द्रीय सदस्य निर्वाचित गरेको थियो।
पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीका अनुसार बढी मत ल्याए पनि क्लस्टर मिलाउने क्रममा कतिपय उम्मेदवार निर्वाचित नभएको गुनासो आएपछि आयोगले सूची सच्याएर केन्द्रीय सदस्यहरूको नाम हेरफेर गरेको हो।
रास्वपाको निर्वाचन आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशन निर्वाचन कार्यविधि २०८३ अनुसार जनजाति क्लस्टरतर्फ कृष्णमान श्रेष्ठ निर्वाचित भएकोमा मत परिणाम तथा उम्मेदवारी दर्ता गर्दा पेस गरिएका कागजात र प्रमाण अध्ययन गर्दा ध्रुवकुमार थापामगर निर्वाचित भएको देखिएकाले निजलाई नै निर्वाचित गर्ने निर्णय गरियो।’
यस्तै प्रादेशिक (भूगोलतर्फ) गण्डकी प्रदेशको मत परिणाममा पूजा बाँस्तोला निर्वाचित हुनुपर्नेमा प्राविधिक त्रुटिका कारण सोम शर्मा हुन गएकाले मत परिणामको आवश्यक अध्ययन गरी बाँस्तोलालाई निर्वाचित घोषणा गरिएको आयोगका अध्यक्ष केसीले बताए।
केन्द्रीय सदस्यको सूचीबाट नाम हटेपछि शर्माले रास्वपाको केन्द्रीय निर्वाचन आयोगमा उजुरी दिएका छन्। उनले गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यको नामावलीबाट आफ्नो नाम हटाउनुको कारण माग गर्दै सूची पुनः सच्याउन उजुरी दर्ता गराएका हुन्।
प्रतिक्रिया दिनुहोस !