गिट्टी–बालुवा निकाल्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु, २ घाइते
रुकुम पूर्व : रुकुम पूर्वमा माटोको ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्। भुमे गाउँपालिका–६ कन्तिगानेस्थित महत–सिमखोला भित्री सडक खण्डमा मंगलबार साँझ सडकको भित्ताबाट गिट्टी–बालुवा निकाल्ने क्रममा माथिबाट ढिस्को खस्दा ५० वर्षीय दलखम्ब बुढाको मृत्यु भएको हो।
घाइतेलाई उद्धार गरी रुकुम पूर्व अस्पताल पुर्याइएलगत्तै चिकित्सकले बुढालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ। घटनामा ५१ वर्षीय सम्पूर्ण बुढा र ३० वर्षीय चिन्तामणि बुढा घाइते भएका छन्। प्रहरी निरीक्षक हिमराज विकका अनुसार सम्पूर्ण बुढाको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था बोल्न सक्ने रहेको छ भने अर्का घाइते चिन्तामणि बुढाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घटना साँझ करिब साढे ५ बजे भएको थियो। सडकको भित्ताबाट गिट्टी–बालुवा निकाल्ने क्रममा माथिबाट ढिस्को खसेर तीनै जना पुरिएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट महतबाट प्रहरी सहायक निरीक्षक तुल्सीराम चौधरीको कमाण्डमा ४ जना तथा इलाका प्रहरी कार्यालय काक्रीबाट प्रहरी निरीक्षक हिमराज विकको कमाण्डमा ७ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। टोलीले तीनै जनाको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !