जम्मू–कश्मीरमा त्यस्तो के भयो, किन छन् प्रहरी र सेना आमनेसामने ?
भारत : जुन २४ मा जम्मू–कश्मीरको किश्तवार जिल्लामा भारतीय सेना र स्थानीय प्रहरीबीच कथित विवाद र झडप भएको घटना सार्वजनिक भएको छ। यातायात विभागका एक अधिकारीले प्रहरीको सहयोगमा सेनाका एक अधिकृतले प्रयोग गरिरहेको सरकारी टोयोटा हाइलक्स एसयूभी नियन्त्रणमा लिएपछि घटना सुरु भएको हो ।
त्यसपछि उक्त गाडी अठोली प्रहरी चौकीमा लगियो, जहाँ विवाद थप चर्किएको बताइएको छ । बुधबार विवाद यति बढ्यो कि सेना र स्थानीय प्रहरी आमनेसामने भए । स्थानीय प्रहरीले सेनाविरुद्ध एफआईआर दर्ता गरेको छ भने भारतीय सेनाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
के हो घटना ?
तस्लीम वानीले बीबीसीलाई भनेका छन्, ‘म यस विषयमा केही भन्न चाहन्न ।’ घटनाका बेला किश्तवारका उपायुक्त (डिप्टी कमिश्नर) पंकज कुमार शर्मा पाडर तहसीलमा आयोजित सरकारी बैठकमा जाँदै थिए । अठोली प्रहरी चौकी नजिक साँघुरो र घुमाउरो सडकमा उपायुक्तको काफिला रोकियो, किनभने विपरीत दिशाबाट सेना चढेको एसयूभी आइरहेको थियो । पहाडी जिल्ला भएकाले सडक साँघुरा र भूस्खलनको जोखिमयुक्त छन्, जसका कारण दुवैतर्फका सवारी साधनलाई आवतजावत गर्न कठिनाइ हुने गरेको छ ।
प्रत्यक्षदर्शीले के भने ?
प्रत्यक्षदर्शीका अनुसार उपायुक्तको सुरक्षा टोलीको अगाडिको गाडीबाट एक प्रहरी अधिकारी ओर्लिएर सेनाको एसयूभी चालकलाई गाडी पछाडि सार्न आग्रह गरेका थिए । यही विषयमा प्रहरी अधिकारी र सेना मेजरबीच विवाद सुरु भयो । त्यसपछि एआरटीओ तस्लीम वानी, किश्तवारका अतिरिक्त प्रहरी उपरीक्षक (एएसपी) तथा अतिरिक्त प्रमुख जिल्ला अधिकारी (एडीसी) पनि घटनास्थलमा पुगे । स्थानीय प्रशासनका अनुसार सेना अधिकृतले गाडीका कागजात देखाउन अस्वीकार गर्दै आफू नागरिक प्रशासनको आदेश पालना गर्न बाध्य नभएको बताएका थिए, जसले विवाद झन् चर्कियो ।
विधायकको आरोप
डोडाका विधायक मेहराज मलिकले फेसबुकमार्फत आरोप लगाउँदै भने, ‘किश्तवारका उपायुक्तले आफ्नो काफिला १० मिनेट ढिलो पुगेको रिसमा प्रहरीलाई प्रयोग गरेर भारतीय सेनामाथि हतियार तेस्र्याए ।’ उनले प्रशासनले जनतालाई दुःख दिने काम गरिरहेको आरोप लगाउँदै यस्तो व्यवहारले जनविश्वास घटाएको टिप्पणी गरेका छन् । यस विषयमा उपायुक्त पंकज शर्मा तथा सेनाका प्रवक्ता एम.के. साहूसँग सम्पर्क गर्ने प्रयास भए पनि प्रतिक्रिया प्राप्त हुन सकेको छैन ।
प्रहरीको आरोप
प्रहरीका अनुसार जुन २४ कै साँझ सेना आफ्नो एसयूभी फिर्ता लिन अठोली प्रहरी चौकी पुगेको थियो । एफआईआरमा उल्लेख भएअनुसार सेनाका जवानहरूले प्रहरी चौकीको पर्खाल नाघेर भित्र प्रवेश गरेका थिए । एक स्रोतका अनुसार प्रहरीका एक वरिष्ठ अधिकृतले आफ्नो राइफल मेजर विकास शर्मातर्फ तेस्र्याएपछि अवस्था थप तनावपूर्ण बनेको थियो । हातपातपछि सेनाले एसयूभी आफ्नो नियन्त्रणमा लिएको बताइएको छ भने प्रहरीले त्यसपछि एफआईआर दर्ता गरेको हो ।
एफआईआरमा के–के आरोप छन् ?
प्रहरीले भारतीय न्याय संहिता (बीएनएस) २०२३ अन्तर्गत हत्या प्रयास, जानाजानी चोट पुर्याउने, सरकारी काममा अवरोध गर्ने, गैरकानुनी जमघट, दंगा लगायत कम्तीमा १४ वटा धारामा मुद्दा दर्ता गरेको छ । एफआईआरमा १७ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर कर्नेल एन. अरुण गान्धी, मेजर विकास शर्मा, नायब सुबेदार शंकर गुर्खे, सिपाही राहुल कुमार, अनूप सिंह, ओंकार इंगले, राजकुमार तथा ३०–४० जना अज्ञात सैनिकलाई प्रतिवादी बनाइएको छ । प्रहरीले उनीहरूले कमान्डिङ अफिसरको प्रत्यक्ष निर्देशनमा प्रहरी अधिकारीमाथि हातपात गरेको आरोप लगाएको छ ।
गिरफ्तारी हुने सम्भावना कम
एफआईआरमा हत्या प्रयासजस्ता गैरजमानती धाराहरू भए पनि तत्काल गिरफ्तारी हुने सम्भावना कम रहेको बताइएको छ, किनभने यसका लागि गृह विभागको पूर्वस्वीकृति आवश्यक पर्छ । जम्मू–कश्मीरमा तैनाथ भारतीय सेनालाई सशस्त्र बल विशेष अधिकार ऐन अन्तर्गत केही कानुनी संरक्षण प्राप्त छ ।
भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘घटनाको अनुसन्धान संस्थागत प्रक्रियाअनुसार भइरहेको छ । भारतीय सेना कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्नेछ। संयुक्त अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कारबाही गरिने छ । अनुसन्धान जारी रहेकाले अहिले थप टिप्पणी गर्नु उपयुक्त हुँदैन ।’
प्रतिक्रिया दिनुहोस !