ब्राउन सुगरसहित भारतीय पक्राउ, खरिद गर्न आएकाबाट चार लाख ७१ हजार बरामद
विराटनगर : विराटनगरबाट प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । उक्त लागुऔषध खरिद गर्न आएका युवक पनि चार लाख ७१ हजार रूपैयाँसहित पक्राउ परेका छन् । भारतबाट लागुऔषध बोकेर नेपाल प्रवेश गर्दै गरेका भारतीय नागरिक र उक्त लागुऔषध खरिद गर्न विराटनगर आएका जुम्लाका एक युवक पक्राउ परेका हुन् । पक्राउ परेका नेपाली युवकको साथबाट ४ लाख ७१ हजार रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ ।
आइतबार बिहान करिब १०ः४० बजे विराटनगर महानगरपालिका–१५ स्थित रानीको २ नम्बर ढाटमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका एक व्यक्तिमाथि शंका लागेपछि चेकजाँच गरेको थियो । सो क्रममा उनले बोकेको कालो प्लास्टिकको झोलाभित्र रहेका दुईवटा टिफिन बट्टामा लुकाएर ल्याइएको ठूलो परिमाणको खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्ने भारतीय नागरिक भारतको पश्चिम बंगाल राज्य दक्षिण दिनाजपुर जिल्लाको गंगारामपुर थानाअन्तर्गत बनिहारीका ३२ वर्षीय चञ्चल सिकदार हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सिकदारको साथबाट २८९ ग्राम ७२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो ।
बरामद लागुऔषधसहित पक्राउ परेका सिकदारलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । उनीविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका भारतीय नागरिकले ल्याएको लागुऔषध नेपालमै बिक्री गर्ने तयारी रहेको र त्यसलाई खरिद गर्न एक नेपाली युवक विराटनगर आएको सूचना प्रहरीले प्राप्त गरेको थियो । त्यसपछि प्रहरीले निगरानी बढाउँदै सम्भावित खरिदकर्ताको खोजी थालेको थियो ।
त्यस क्रममा जुम्लाको चन्दननाथ नगरपालिका–८ का २५ वर्षीय तेज रावल पक्राउ परेका हुन् । प्रहरीका अनुसार भारतीय नागरिक पक्राउ परेको जानकारी पाएपछि रावल विराटनगरबाट भाग्ने प्रयास गरेका थिए । पछ्याउँदै गएको प्रहरीले सुनसरीको कोशी गाउँपालिका–८ भण्टाबारीबाट उनलाई नियन्त्रणमा लिएको हो ।
रावलको साथबाट ४ लाख ७१ हजार रुपैयाँ नगद र बागमती प्रदेश ०२–०२४ प ०१७७ नम्बरको मोटरसाइकल बरामद गरिएको मिश्रले बताए । अनुसन्धानका क्रममा बरामद नगद लागुऔषध खरिदका लागि ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी स्रोतका अनुसार भारतीय नागरिक चञ्चल सिकदारले भारतबाट ब्राउन सुगर नेपाल ल्याई तेज रावललाई बिक्री गर्ने योजना बनाएका थिए । तर, सीमामै प्रहरीले चेकजाँच कडा बनाएका कारण उक्त योजना सफल हुन नपाउँदै दुवै जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ । बरामद लागुऔषधको वास्तविक स्रोत, नेपालभित्र सक्रिय सम्भावित तस्कर समूह, कारोबारमा संलग्न अन्य व्यक्तिको पहिचान तथा सीमापार सञ्चालन हुँदै आएको लागुऔषध तस्करी सञ्जालका बारेमा पनि अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।
नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै पछिल्लो समय लागुऔषध ओसारपसारका घटना बढ्दो चुनौतीका रूपमा देखिन थालेपछि मोरङ प्रहरीले सीमावर्ती क्षेत्रमा निगरानी बढाएको छ । प्रहरीले लागुऔषधविरुद्ध विशेष अभियान सञ्चालन गर्दै नियमित चेकजाँच, निगरानी तथा नियन्त्रणको काम गरिरहेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । उनका अनुसार लागुऔषधको अवैध आयात, बिक्री–वितरण र सेवन नियन्त्रणका लागि सीमा क्षेत्रमा प्रहरी परिचालन बढाइएको छ ।
प्रतिक्रिया दिनुहोस !