वाम शीर्ष नेता एउटै मञ्चमा, सहकार्यको प्रस्ताव

वाम शीर्ष नेता एउटै मञ्चमा, सहकार्यको प्रस्ताव

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अगुवाइमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल, नेकपाका सहसंयोजक माधव नेपाल र नेता झलनाथ खनालले आइतबार एउटै मञ्च ‘सेयर’ गरे ।

आपसी तिक्तता, मनमुटाव र झैझगडाका कारण टाढिँदै गएका उनीहरू एउटै मञ्चमा देखा पर्दा नेता, कार्यकर्तामा हौसला त थपिएको थियो नै, कम्युनिस्ट शक्तिबीच पुनः सहकार्यको सन्देश पनि प्रवाह भयो । ओली, दाहाल, नेपाल र खनाल चारैजना पूर्वप्रधानमन्त्री पनि हुन् । 

एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उनीहरूसँगै देखिएका हुन् । जेन–जी आन्दोलनपछिको चुनावमा ‘शर्मनाक हार’ पछि उनीहरूबीच संवाद बढेको छ, सहकार्यमा जोड दिइरहेका छन् । त्यसैकारण पनि नेताहरूले तत्कालै पार्टी एकताको सम्भावना नरहे पनि कार्यगत सहकार्यको सुरुवातको संकेत गरेका छन्।

कार्यक्रममा नेता नेपालबाहेकका अन्य नेताहरूले वामपन्थी एकता अपरिहार्य रहेको उल्लेख गरे। जसमध्ये प्रचण्ड र खनालले वामपन्थी दलहरूबीचको एकता र सहकार्य तत्काल आवश्यक रहेको बताए भने एमाले अध्यक्ष ओलीले वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्नेमा जोड दिए। राजनीतिक रूपमा सक्रिय देखिनुभएकी पूर्वराष्ट्रपति भण्डारीले भने एउटा निर्वाचनको परिणामकै आधारमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न उचित नहुने तर्क गरिन्।

प्रतिगमन रोक्न वाम–लोकतान्त्रिक सहकार्य आवश्यकः केपी शर्मा ओली
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले मुलुकमा प्रतिगमन रोक्न सबै वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिलेर अघि बढ्नुपर्ने बताए । उनले भने, ‘यस प्रतिगमनलाई रोक्नका निम्ति सबै वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिल्नुपर्छ। अब संविधान संशोधन गर्दा पनि देश र जनताको पक्षमा हुनुपर्दछ। झन्डै दुईतिहाइको बलमा देशविरुद्ध हुने गतिविधि रोकिनुपर्छ।’

अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरूलाई मिल्न नदिन षड्यन्त्र भइरहेको दाबी गर्दै त्यसैको परिणाम स्वरूप कांग्रेस फुटाइएको आरोपसमेत लगाए। लोकतान्त्रिक शक्तिहरूबीचको सहकार्य बिथोल्न र मुलुकलाई प्रतिक्रान्तिको बाटोमा लैजान उद्यत् समूहहरूले एमालेमाथि समेत प्रहार गर्ने प्रयास 
गरिरहेको उनको भनाइ छ। एमाले जनताको बहुदलीय जनवाद (जबज) बाट निर्देशित र समाजवाद निर्माणको लक्ष्य बोकेको पार्टी भएकाले आफ्ना नीति र सिद्धान्तमा सजग र सचेत रहेको उनले प्रस्ट पारे। पछिल्लो समय प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको उल्लेख गर्दै ओलीले भने, ‘हामी मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं। धुलो टकटक्याउँदै उठेर अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौं।’

सरकार र बालेन शाहको आलोचना
अध्यक्ष ओलीले बालेन शाह नेतृत्वको सरकारका गतिविधिको तीव्र आलोचना गरे। विगतमा असंवैधानिक ढंगले संसद् विघटन गरी चुनावमा गएको प्रसंग उल्लेख गर्दै उनले भने, ‘हामीले चुनाव रोकौंभन्दा साथीहरूले एमालेका लागि भिर र आफ्ना लागि हाइवे ठाने। त्यो चुनाव वामपन्थी र लोकतान्त्रिक शक्तिहरूका लागि थिएन, परिणाम पहिले नै तय थियो। 

अहिले पनि प्रतिगमनको सिलसिला जारी छ।’ वर्तमान सरकार संविधानविपरीत बनेको र संविधानविपरीत नै चलिरहेको उनको आरोप थियो । ओलीले काठमाडौंका मेयर बालेन शाहको विवादित अभिव्यक्तिको अझै खण्डन नभएको टिप्पणी गरे। ‘अस्ति चितवनमा गएर लिपुलेक र कालापानी हाम्रो हो भनेपछि ‘नेपालले थुप्रै ठाउँमा सिमाना मिचेको छ’ भन्ने अभिव्यक्तिको खण्डन भयो भन्ने विद्वानहरू निस्किए। लिपुलेक र कालापानी नेपालको हो भन्नु बेग्लै कुरा हो। विवाद नेपालले भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्तिमा हो, जसको खण्डन भएको छैन,’ उनले भने। 

विगतमा जनता असन्तुष्ट हुनुपर्ने गरी आफूहरूले कुनै नराम्रो काम नगरेको दाबी गर्दै ओलीले थपे, ‘हाम्रा कतिपय कमी, कमजोरी रहे होलान्, त्यसमा आत्मसमीक्षा गरौंला। तर देश बर्बाद पार्‍र्यौं भन्ने भाष्य गलत हो। हामीले त विकासको मूल फुटाएका हौं। हामीविरुद्ध अफवाह फैलाएर बदनाम गरियो।’ उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्यमा पार्टी अडिग रहेको र ‘जबज’लाई समयानुकूल परिमार्जन गर्दै लैजाने बताए। उनले भदौ २३–२४ मा भएको आन्दोलनलाई लोकतन्त्र सिध्याउने प्रतिगामी षड्यन्त्रको रूपमा चित्रण गरे।

सहकार्यमा ढिलाइ गरे भयानक दुर्घटना : दाहाल
नेपाली कम्युनिस्ट पार्टीका संयोजक ‘दाहाल ले कम्युनिस्टहरूबीच तत्कालै सहकार्य थाल्नुपर्नेमा जोड दिए । सहकार्यमा ढिलाइ गरे देश भयानक दुर्घटनामा फस्ने चेतावनी दिँदै उनले भारतमा जस्तै नेपालमा पनि कम्युनिस्ट आन्दोलन सिध्याउने प्रयास भइरहेको दाबी गरे। ‘नेपालमा कम्युनिस्ट आन्दोलनलाई कसरी सिध्याउने भनेर प्रतिक्रियावादीहरू लागिरहेका छन्। भदौ २४ को घटना यसै षड्यन्त्रको परिणाम हो,’ दाहालले भने, ‘त्यसैले राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशता, फाँसीवाद र वैदेशिक दबाबका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तहरू एक हुनुपर्छ।’

आफूले तत्कालै पार्टी एकता नभई कार्यगत सहकार्यको कुरा गरेको उनले स्पष्ट पारे। आफूलाई ‘क्रमभंग’ गर्ने नेताका रूपमा चिनाउँदै उनले परिस्थितिअनुसार परिमार्जन हुन नसक्ने दलहरू हराएर जाने तर्क गरे। ‘परिस्थिति फेरिएको छ, हामी पनि फेरिनुपर्छ। म त्यस्तो नेता हुँ जसले जनयुद्धलाई शान्ति प्रक्रियामा ल्याउन कठोर मिहिनेत गर्‍यो। संसद्, सडक र चुनावमा आजैदेखि सहकार्य गरौं, ढिलाइ गर्नु दुर्भाग्यपूर्ण हुनेछ’, 
उनले भने।

भावनामा बगेर कम्युनिस्ट एकता सम्भव छैनः नेपाल
नेकपाका सहसंयोजक नेपालले तत्कालै कम्युनिस्ट एकता हुने सम्भावना आफूले नदेखेको बताएका छन्। केवल भावनाका कुरा गरेरमात्र एकता नहुने स्पष्ट पार्दै उनले भने, ‘कम्युनिस्ट पार्टी आजै मिले, भोलि मिले भन्ने चर्चाले मेरो पनि दिमाग खराब भइरहेको छ, मैले त्यस्तो आधार देखेको छैन।’

नेता नेपालले यथार्थको धरातलमा टेकेर व्यापक छलफल र बहसपछि मात्र अगाडि बढ्नुपर्ने धारणा राखे। ‘हामीभित्र रहेको ‘मै हुँ’ भन्ने अहंकार, भ्रष्टाचारीकरण र जनताबाट टाढिने प्रवृत्तिले गर्दा हामीले बदलिँदो जनमनोविज्ञान बुझ्न सकेनौं। हामीमा के–के विकृति आए, त्यसमा सबै कम्युनिस्ट घटकहरूले आत्ममन्थन गर्नुपर्छ’, उनले भने। आत्मसमीक्षाबाट सही निष्कर्ष निस्किएपछि मात्र कम्युनिस्टहरूलाई एक ठाउँमा ल्याउन सकिने उनको भनाइ छ।

कम्युनिस्ट आन्दोलनविरुद्ध चौतर्फी षड्यन्त्रः खनाल
नेकपाका नेता झलनाथ खनालले सिंगो कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र भइरहेकाले सम्पूर्ण वामपन्थीहरू एकताबद्ध हुनुपर्ने बताए। उनले भने, ‘यही दिनदेखि वामपन्थी एकतालाई दीर्घकालीन रूपमा अगाडि बढाउने कार्यको थालनी गरौं। विगतमा हाम्रा अनेकौं अहंकारका कारण एकता हुन सकेन, अब एकताबद्ध नभए साम्राज्यवादी र प्रतिक्रियावादीको सामना गर्न सकिँदैन।’

पूर्वप्रधानमन्त्री खनालले मदन भण्डारीको हत्या रहस्यमयी र षड्यन्त्रपूर्वक भएको उल्लेख गर्दै हत्यारा पत्ता लगाउन नसक्नु आफ्नै कमजोरी भएको स्वीकार गरे। उनले विगतमा गरिएका महाकाली सन्धि र एमसीसी सम्झौताको उपलब्धि शून्य रहेको दाबी गर्दै त्यसले देशलाई बदनामीबाहेक केही नदिएको टिप्पणी गरे। मदन भण्डारीको देशभक्तिपूर्ण अडानका कारण टनकपुर सम्झौता रोकिएको स्मरण गर्दै उनले भण्डारीको धारलाई निरन्तरता दिन नसक्दा महाकाली सन्धि हुन पुगेको बताए।

वर्तमान सरकारले राष्ट्रिय हितलाई कमजोर बनाएको र किसान,  श्रमिक तथा ट्रेड युनियनको अधिकार कटौती गरेको आरोप खनालले लगाए। निजी सञ्चारमाध्यमलाई दिइँदै आएको सहुलियत र सरकारी विज्ञापन कटौती गर्दा पत्रकारिता क्षेत्र कमजोर बनेको र ठूलो संख्यामा पत्रकारहरू बेरोजगार हुने जोखिम बढेकोप्रति उनले चिन्ता व्यक्त गरे।

‘एउटा निर्वाचनको परिणामका आधारमा मात्र निष्कर्ष निकाल्नु हतारो हुन्छ’ : पूर्वराष्ट्रपति भण्डारी
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कुनै एउटा निर्वाचनको परिणामका आधारमा मात्र जनताको बहुदलीय जनवाद (जबज) को सान्दर्भिकता वा कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न उचित नहुने बताएकी छन्। ‘हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले कम्युनिस्ट शक्तिहरूलाई आफ्ना कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई अझ प्रभावकारी बनाउने अवसर दिएको छ। यस सन्देशलाई गम्भीरतापूर्वक ग्रहण गर्न आवश्यक छ,’ उनले भनिन्। पूर्वराष्ट्रपति भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दा प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नहुने धारणा राखिन्। नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा यस्तो प्रणाली सान्दर्भिक नहुने उनको दाबी छ। उनले लोकतन्त्रमा आवधिक निर्वाचनमार्फत जनमत प्राप्त गर्नुमात्र पर्याप्त नभई, निर्वाचित भएपछि पनि संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वको निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हुने स्पष्ट पारिन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.