रोकिएन सेयर बजारको ओरालो यात्रा
काठमाडौं : बजेट घोषणापछि ओरालो यात्राको सेयर बजार असारको पहिलो सातामा आइपुग्दा पनि रोकिएको छैन। यस साता ५ दिनै सेयर कारोबार भयो। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) २ दिन अति सामान्य बढ्यो भने ३ दिन घट्यो। अघिल्लो साता पनि सेयर बजार घटेकै थियो।
अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७२४.०३ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। त्यसदिन नेप्से १२.२६ अंकले घटेर २७११.७६ विन्दुमा झर्यो। त्यसको भोलिपल्ट मंगलबार पनि ६.३१ अंकले घट्यो। बुधबार भने नेप्से अति सामान्य अंकले बढ्यो। त्यसदिन नेप्से ०.०८ अंकले बढ्यो। त्यसपछि बिहीबार नेप्से ५.०६ अंकले घट्यो भने र शुक्रबार नेप्से सामान्य बढ्यो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार १.६३ अंकले बढेर नेप्से २७०२.११ विन्दुमा आइपुग्यो।
सातामा ३ दिनमा २३.६३ अंकले घटेकोमा दुई दिनमा १.७१ अंकले बढे पनि नेप्सेमा २१.९२ अंकले गिरावट आयो। अघिल्लो साता पनि नेप्से २६.६९ अंकले घटेकै थियो। यस सातामा शुक्रबार न्यून विन्दु २६९१.८६ मा र सोमबार उच्च विन्दु २७२९.५९ अंकसम्म मात्रै नेप्से बढेर सेयर कारोबार भयो।
साताकै सबैभन्दा कम बिहीबार ३ सय ४७ वटा कम्पनीको कारोबार भएकोमा मंगलबार साताकै सबैभन्दा बढी ३ सय ५५ स्क्रिप्टहरूको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ५३ स्क्रिप्टहरूको कारोबार भएको थियो।
यस साता सबैभन्दा कम बिहीबार ३ अर्ब ४१ करोड ४८ लाख र सबैभन्दा बढी शुक्रबार ४ अर्ब ५३ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भयो। साताभरीमा ५ दिनको कारोबारमा २० अर्ब ४ करोड ७३ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। यसबाट औसतमा दैनिक ४ अर्ब ९४ लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो साता औसतमा दैनिक ५ अर्ब ३८ करोड ९३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार लगभग २६ प्रतिशतले घटेको देखाउँछ। अघिल्लो साता पनि औसत दैनिक सेयर कारोबार करिब ४ प्रतिशलले घटेको थियो।
नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४६ खर्ब १७ अर्ब ९ करोड रुपैयाँ छ। गत साताको अन्तिम दिन शुक्रबार बजार पुँजीकरण ४६ खर्ब ५४ अर्ब ५५ करोड रुपैयाँ थियो। साताभरमा नेप्से २१.९२ घट्दा कुल बजार पुँजीकरण ३७ अर्ब ४५ करोड रुपैयाँले घट्न पुग्यो। अघिल्लो साता पनि कुल बजार पुँजीकरण ४५ अर्ब ५४ करोड रुपैयाँले घटेकै थियो।
यस साताभरिका ५ दिनै एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलका कारोबार भयो। एपोलोको प्रतिकित्ता सेयर ९ सय १६ रुपैयाँ पुगेको छ। सोपान फर्मास्युटिकल्सको ४ दिन सकारात्मक सर्किट लेभलमा कारोबार भयो भने शुक्रबार पनि १४.०२ प्रतिशतले बढ्यो। सेयर बजारमा सूचीकृत १३ उपसमूहमा यस साता म्यानुफ्याचरिङ एन्ड प्रोसेसिङबाहेक अरू १२ वटाको घटे। यस साता म्यानुफ्याचरिङ एन्ड प्रोसेसिङ उपसमूहको ५५.१९ अंकले बढेको थियो।
यस साता सेन्सेटिभ इन्डेक्स ३.११ अंक, फ्लोट इन्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०१ अंकले घटेका थिए। अघिल्लो साता पनि सेन्सेटिभ इन्डेक्स ३.५२ अंक, फ्लोट इन्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६६ अंकले घटकै थिए।
२ महिनापछि सेबोनले पायो अध्यक्ष
नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टले नियुक्ति पाएका छन्। निवर्तमान अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएको करिब दुई महिनापछि सरकारले नयाँ अध्यक्ष नियुक्त गरेको हो।
सेबोन अध्यक्षका लागि विनयदेव आचार्य, डा. गोपाल प्रसाद भट्ट र मुकुन्दकुमार क्षत्री तीन जनाको नाम सिफारिस भएको थियो। त्यसअघि अध्यक्ष पदमा ४३ जनाले आवेदन दिएका थिए।
मार्जिन कारोबारका लागि ३१ ब्रोकरलाई अनुमति
नेप्सेले मार्जिन कारोबार सुविधा सञ्चालनका लागि ३१ वटा धितोपत्र दलाल कम्पनी (स्टक ब्रोकर) लाई अनुमति दिएको छ। अनुमति प्राप्तमध्ये केही ब्रोकर कम्पनीले मार्जिन कारोबार सेवा सुरु गरिसकेका छन्। नेप्सेका अनुसार थप दुई दर्जनभन्दा बढी ब्रोकर कम्पनी मार्जिन कारोबार सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्ने क्रममा छन् भने २४ ब्रोकर कम्पनीले आशयपत्र प्राप्त गरिसकेका छन्।
एभरेस्ट कलरको आईपीओ बाँडफाँट
एभरेष्ट कलर कम्पनीको साधारण सेयर (आईपीओ) असार ४ गते बाँडफाँट भएको छ। कम्पनीको आईपीओमा २६ लाख ८७ हजार ४ सय २१ जनाले २ करोड ८८ लाख ३३ हजार ७ सय २० कित्ता सेयरका लागि आवेदन दिएका थिए। यसमा २६ लाख ४१ हजार ९ सय ५९ आवेदन स्वीकृत भएको छ। आईपीओमा ६५ हजार ५ सय ७० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले रहेको छ।
माउन्ट एभरेस्ट पावरको आईपीओको आवेदन असार ८ सम्म
माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट कम्पनीले असार ३ देखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीआ असार ८ गतेसम आवेदन दिन सकिने छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १४ करोड २७ लाख ६० हजार रुपैयाँका १४ लाख २७ हजार ६ सय कित्ता सेयर निष्कासन गरेको छ। आईपीओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ।
सानिगाढ हाइड्रोको आईपीओ बाँडफाँट
सानिगाढ हाइड्रो कम्पनीको असार १ गते आईपीओ बाँडफाँट भएको छ। उक्त आईपीओमा सेयर खरिदका लागि आवेदन दिएकामध्ये २७ लाख २७ हजार ५ सय १५ आवेदन स्वीकृत भएको छ। कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ४६ लाख ७४ हजार कित्ता सेयर निष्कासन गरेको थियो। आईपीओमा ४ लाख ६७ हजार ४ सय जनाले १० कित्ताका दरले सेयर पाएका छन्।
१ खर्बको मुद्दा चल्दा लगानीकर्ता तर्सिए : अर्थमन्त्री
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सेयर बजारमा देखिएको निरन्तर गिरावटबारे संसद्मा स्पष्टीकरण दिएका छन्। उनले गत शुक्रबार प्रतिनिधिसभा बैठकमा सेयर बजार घट्नुको मुख्य कारण अनियमित गर्ने ठूला लगानीकर्तामाथि सुरु भएको कानुनी प्रक्रिया र त्यसले लगानीकर्तामा पैदा गरेको मनोवैज्ञानिक त्रास रहेको बताए।
त्यसैगरी, सरकारको कार्यशैलीले लगानीकर्ताको मनोबल घटेकाले त्यसको असर सेयर बजारमा परेको जानकारहरूको बुझाइ छ। व्यावसायिक क्षेत्रमा त्रासको वातावरण भएको ब्रोकरहरूको भनाइ छ। लगानीकर्तामा निराशा रहेकाले बजार ओरालो लागेको हो। बहालवाला र अवकाशप्राप्त कर्मचारी सम्पत्ति विवरण भर्न व्यस्त र सेयर बेच्नतिर लागेका देखिन्छन्। सरकारी धरपकडले ठूला लगानीकर्ता बजारबाटै पलायन हुन थालेको आँकलन गर्न थालिएको छ।
पुँजी बजारको शुद्धीकरणका लागि चालिएका कदमहरूले तत्कालका लागि बजारमा केही असर देखिए पनि यसले भविष्यमा लगानीकर्ताको हित र बजारको जग बलियो बनाउने विश्वास अर्थमन्त्रीले व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस !