मल अभावबीच धान रोपाइँ सुरु, यो सिजनमा नआउने
परासी : नवलपरासीमा यस वर्षको धान रोपाइँ सुरु भएको छ । सिँचाइ सुविधा पुगेका क्षेत्रका किसानहरुले रोपाइँ थालिसकेका छन् भने केही किसानले बोरिङमार्फत पानीको व्यवस्था गरेर धान रोप्न सुरु गरेका छन् । तर रोपाइँको मुख्य समयमा समेत रासायनिक मलको अभाव कायम रहँदा किसानहरु चिन्तित बनेका छन् ।
धान खेतीको सुरुआती चरणमै देखिएको मल अभावले किसानलाई थप आर्थिक तथा मानसिक दबाबमा पारेको छ । किसानहरुले तत्काल पर्याप्त मल आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् । धानको ब्याड राख्ने समयदेखि नै आवश्यक मल सहज रुपमा उपलब्ध नभएको किसानहरुको गुनासो छ ।
खेतीको सबैभन्दा महत्वपूर्ण समयमा समेत सरकारले पर्याप्त मात्रामा मल उपलब्ध गराउन नसक्दा उत्पादनमा असर पर्ने चिन्ता पनि उत्तिकै बढेको छ। धान रोपाइँका लागि आवश्यक युरिया, डीएपी मल खोज्दै किसानहरु सहकारी र कृषि सामग्री बिक्री केन्द्रमा धाउन बाध्य भएका छन् । कतिपय किसानले महँगो मूल्य तिरेर पसलहरुबाट मल खरिद गर्नुपर्ने बाध्यता रहेको छ ।
धान रोप्ने बेला मल नपाएपछि खेतीको लागत बढ्ने र उत्पादन घट्ने चिन्ता किसानलाई छ । सरकारले हरेक वर्ष खेतीको समयअघि नै मलको पर्याप्त व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा भने नहुँदा समस्या भोग्नु परेको सरावलका किसान रामकिशुन चौधरीले गुनासो गरे । जिल्लामा ३९ हजार ४०७ हेक्टर खेतीयोग्य जमिन छ । जसमा २० हजार ४८७ हेक्टरमा धान खेती हुँदै आएको ज्ञान केन्द्रका प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए।
जिल्लाका विभिन्न स्थानका किसानहरु रोपाइँको चटारोमा जुटिरहेका बेला कृषि सामग्री कम्पनी लिमिटेडले अब मल नआउने जनाएको छ । अहिलेसम्म आएको मल वितरण भएकाले अब कम्पनीको प्रदेश कार्यालयले मल नपठाउने जानकारी दिएको कृषि सामग्री कम्पनी परासी शाखाका प्रबन्धक ताराप्रसाद खनालले जानकारी दिए ।
कृषि सामग्री कम्पनीबाट आउने मलमध्ये ७५ प्रतिशतभन्दा बढी अपुग हुँदै आएको छ । जसका कारण किसानहरु गुणस्तरीय मल र कालोबजारीबाट खरिद गरेर बाध्यता टार्नुपर्ने अवस्था छ । कृषि सामग्री कम्पनीको तथ्याङ्कअनुसार जिल्लामा वार्षिक १८ हजार मेट्रिक टन युरिया, १२ हजार डीएपी र ५ हजार मेट्रिक टन पोटास आवश्यक छ । जसमा यस वर्षको साउनदेखि हालसम्म जम्मा ४ हजार ५ सय मेट्रिक टन युरिया, २ हजार ४ सय मेट्रिक टन डीएपी मल आएको छ । पोटास भने पर्याप्त छ । यो वर्षका लागि अब मल नआउने कम्पनीले जनाएको छ ।
स्टक मल समेत सकियो
कृषि सामग्री कम्पनी परासी शाखामा मौज्जाद (स्टक) रहेको मल समेत वितरण गरिसकिएको छ । प्रदेश कार्यालयले धानको समयका लागि भन्दै ५ सय ५० मेट्रिक टन युरिया र २ सय मेट्रिक टन डीएपी स्टक गर्न पठाएको थियो । उक्त मल वितरणका लागि सात वटै पालिकालाई कोटा निर्धारण गरेर पठाइसकेको शाखा प्रबन्धक खनालले जानकारी दिए । कोटाअनुसार जिल्लाका सबै सात वटै पालिकामा मल वितरणका लागि पठाइसकिएको उनले बताए । जिल्लामा ८२ वटा सहकारीमार्फत मल वितरण हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस !