नेतृत्व संकटले घेरिएको एमालेको अर्को अध्याय

नेतृत्व संकटले घेरिएको एमालेको अर्को अध्याय
सुन्नुहोस्

नेपालको राजनीतिमा लामो समयसम्म प्रभावशाली भूमिका निर्वाह गरेको नेकपा एमाले आज एउटा जटिल संक्रमणकालबाट गुज्रिरहेको देखिन्छ। संगठनात्मक रूपमा अझै बलियो संरचना, उल्लेखनीय जनाधार र विगतका उपलब्धिहरू भए पनि नेतृत्वको उत्तराधिकार, वैचारिक नवीकरण र समकालीन समाजसँगको अनुकूलनका प्रश्नहरू एमालेका सामु चुनौतीका रूपमा उभिएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली नेपालको राजनीतिमा प्रभावशाली र विवादास्पद दुवै रूपमा स्थापित नेता हुन्। राष्ट्रियताको प्रश्नमा उनले देखाएको अडान, विशेषतः कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्सा जारी गर्ने निर्णयले उनलाई राष्ट्रिय स्वाभिमानको पक्षधर नेताका रूपमा स्थापित गर्‍यो। त्यस्तै नागढुंगा सुरुङमार्ग लगायतका पूर्वाधार विकासका परियोजनाहरू अघि बढाउने प्रयासले विकासप्रेमी नेताको छवि निर्माण गर्न सहयोग पुर्‍यायो। तर, समयक्रमसँगै उनको नेतृत्वप्रति निर्माण भएको नकारात्मक भाष्यलाई चिर्न भने कठिन बन्दै गएको छ।

यद्यपि, अहिले पनि एमालेको सबैभन्दा ठूलो चुनौती ओलीको विकल्प खोज्नु नै बनेको छ। सम्भवतः स्वयं ओलीलाई पनि अनन्तकालसम्म नेतृत्वमा रहिरहनुपर्ने चाहना नहुन सक्छ। तर, पार्टीभित्र तत्कालै नेतृत्व सम्हाल्न सक्ने, व्यापक जनस्वीकृति प्राप्त र संगठनलाई एकताबद्ध राख्न सक्ने उत्तराधिकारी स्पष्ट रूपमा देखिएको छैन। यही कारणले नेतृत्व हस्तान्तरणको प्रक्रिया अपेक्षाकृत जटिल बनेको छ।

अध्यक्ष पदका सम्भावित आकांक्षीका रूपमा चर्चा हुने नेताहरू, विद्या भण्डारी, विष्णु पौडेल र शंकर पोखरेलमध्ये कसैले पनि अहिलेसम्म राष्ट्रिय स्तरमा ओलीको राजनीतिक प्रभावको बराबरी गर्न सकेका छैनन्। उनीहरूको प्रशासनिक अनुभव र संगठनात्मक योगदानलाई नकार्न नसकिए पनि बदलिँदो समाज, डिजिटल पुस्ता र नयाँ राजनीतिक चेतनासँग संवाद गर्न सक्ने क्षमता अझ स्पष्ट रूपमा स्थापित हुन बाँकी छ।

यसका बावजुद एमालेप्रतिको जनविश्वास पूर्णरूपमा समाप्त भएको छैन। सामाजिक सुरक्षाका क्षेत्रमा मनमोहन अधिकारी नेतृत्वको सरकारले शुरु गरेको ज्येष्ठ नागरिक भत्ता, एकल महिला तथा अपांगता भएका नागरिकका लागि ल्याइएका कार्यक्रमहरूले पार्टीको सामाजिक उत्तरदायित्वप्रतिको छवि निर्माण गरेका छन्। सामाजिक न्याय र कल्याणकारी राज्यको अवधारणाप्रति एमालेले देखाएको प्रतिबद्धताले अझै पनि एक ठूलो जनसमूहलाई आकर्षित गरिरहेको छ।

यही कारणले एमालेको भविष्य समाप्त भएको निष्कर्षमा पुग्न हतार गर्नु उपयुक्त हुँदैन। बरु, पार्टीले समयमै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सके, इमानदार, सक्षम र दूरदर्शी व्यक्तिहरूलाई अगाडि ल्याउन सके तथा संगठनभित्र अवसरवादभन्दा क्षमता र योगदानलाई प्राथमिकता दिन सके एमालेले पुनः नयाँ ऊर्जा प्राप्त गर्न सक्छ।

यद्यपि, अहिलेको अवस्थामा नेतृत्व परिवर्तन मात्र पर्याप्त छैन। एमालेको वैचारिक पुनःसमीक्षा पनि उत्तिकै आवश्यक देखिन्छ। मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज) आफ्नो समयको सन्दर्भमा अत्यन्त प्रभावशाली राजनीतिक अवधारणा थियो। यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक प्रतिस्पर्धाको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो। तर, आजको डिजिटल समाज, कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि र विश्वव्यापी अन्तरनिर्भरताको युगमा नयाँ पुस्ताका प्रश्नहरू फरक छन्। त्यसैले जबजको मूल मर्मलाई जोगाउँदै समकालीन यथार्थसँग मेल खाने नयाँ वैचारिक बहस र राजनीतिक दृष्टिकोण विकास गर्नु आवश्यक देखिन्छ।

नेकपा एमालेको समस्या केवल व्यक्ति परिवर्तनको होइन, राजनीतिक संस्कार परिवर्तनको पनि हो। कम्युनिष्ट आदर्शको कुरा गर्ने तर व्यवहारमा विशेषाधिकार र अवसरको संरक्षण गर्ने प्रवृत्तिबाट पार्टी मुक्त हुन सकेमात्र जनतामा नयाँ विश्वास निर्माण हुन सक्छ। आगामी दिनमा एमालेको सफलता नेतृत्वको उत्तराधिकार, वैचारिक नवीकरण र राजनीतिक संस्कृतिको रूपान्तरणमा निर्भर रहनेछ। यही चुनौती र सम्भावनाबीच एमालेको अर्को अध्याय लेखिँदै छ।

एमालेले आफ्नो भावी राजनीतिक यात्राको दिशा तय गर्दा नेपालको भूराजनीतिक यथार्थलाई पनि गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्ने आवश्यकता छ। नेपाल दुई उदाउँदा र प्रभावशाली शक्तिहरू, भारत र चीनको बीचमा अवस्थित छ। अर्कोतर्फ नेपाल विश्वव्यापी शक्ति प्रतिस्पर्धाको प्रभावबाट पनि अलग रहन सक्दैन। यस्तो संवेदनशील परिवेशमा कुनै एक ध्रुवप्रति अत्याधिक झुकावभन्दा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित, व्यावहारिक र दूरदर्शी परराष्ट्र नीति अवलम्बन गर्नु नै नेपालको हितमा हुन्छ। दुर्भाग्यवश, नेपाली राजनीतिक दलहरूमा यो विषयमा पर्याप्त वैचारिक स्पष्टता र दीर्घकालीन दृष्टिकोण विकसित हुन सकेको देखिँदैन। एमालेले पनि यस पक्षलाई अझ गम्भीरतापूर्वक बुझ्न र आत्मसात् गर्न आवश्यक छ।

त्यसैगरी, आजको विश्व व्यवस्था केवल सैन्य वा राजनीतिक शक्तिद्वारा मात्र सञ्चालित छैन; सूचना, प्रविधि, पूँजी र ज्ञानमाथिको नियन्त्रण पनि शक्ति सन्तुलनका महत्वपूर्ण आधार बनेका छ। विश्वका शक्तिशाली राष्ट्रहरू सूचना प्रवाह, प्रविधि विकास र आर्थिक संरचनामा प्रभावशाली स्थानमा छन्। तर, विकासोन्मुख र साना राष्ट्रहरू अझै पनि संरचनागत असमानताका चुनौतीसँग जुधिरहेका छन्। यस्तो अवस्थामा राष्ट्रिय हितको रक्षा केवल विरोध र आलोचनाले मात्र सम्भव हुँदैन। अन्तर्राष्ट्रिय सम्बन्धमा प्रतिस्पर्धासँगै सहकार्य, संवाद र साझेदारीको नीति पनि उत्तिकै आवश्यक हुन्छ। नेपालको हितका लागि सबैसँग मित्रता र कसैसँग वैरभाव नराख्ने नीति अझ सान्दर्भिक बन्दै गएको छ।

आन्तरिक राजनीतितर्फ हेर्दा पनि एमालेले आफ्नो भूमिकालाई केवल सत्ता प्राप्तिको प्रतिस्पर्धामा सीमित राख्नु हुँदैन। भ्रष्टाचार, कुशासन, प्रशासनिक अकर्मण्यता र राज्य संयन्त्रभित्र रहेका विकृतिहरू नेपाली जनताका प्रमुख चिन्ताका विषय हुन्। जुनसुकै सरकार सत्तामा भए पनि यी समस्याविरुद्ध गरिने सकारात्मक प्रयासलाई रचनात्मक समर्थन गर्दै, आफूले त्यसभन्दा उत्कृष्ट विकल्प प्रस्तुत गर्ने प्रतिस्पर्धा गर्न सक्नुपर्छ। लोकतान्त्रिक राजनीतिमा स्वस्थ प्रतिस्पर्धाको अर्थ केवल विरोध गर्नु होइन, जनताको हितमा भएका कामलाई समर्थन गर्दै अझ प्रभावकारी विकल्प दिन सक्नु पनि हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.