मस्क विश्वकै पहिलो ‘ट्रिलिनियर’
न्युयोर्क (एजेन्सी) : अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको ऐतिहासिक सेयर निष्कासनसँगै कम्पनीका संस्थापक एवं प्रमुख कार्यकारी अधिकृत एलन मस्क आधिकारिक रूपमा विश्वकै पहिलो ट्रिलिनियर बनेका छन्।
अमेरिकी सेयर बजार ‘नास्डाक’ मा शुक्रबार कम्पनीको सेयर कारोबार सुरु भएसँगै मस्कको कुल सम्पत्ति १ ट्रिलियन डलर (१,००० अर्ब डलर) पार भएको हो। प्रारम्भिक सूचीकृत मूल्य प्रतिसेयर १३५ डलर तय गरिएको भए पनि बजार खुल्नासाथ १८ प्रतिशतभन्दा बढीको वृद्धि दर्ता गर्दै प्रतिसेयर १५० डलर हुँदै १६० डलरभन्दा माथि पुगेर कारोबार भएसँगै मस्कले यो ऐतिहासिक सफलता चुमेका हुन्।
७५ अर्ब डलर संकलन गर्दै स्पेसएक्सले विश्व इतिहासकै सबैभन्दा ठूलो आईपीओको कीर्तिमान समेत बनाएको छ। यसअघि सन् २०१९ मा साउदी अरबको सरकारी तेल कम्पनी ‘साउदी अरामको’ ले कायम गरेको २५.६ अर्ब डलरको आईपीओ रेकर्डलाई स्पेसएक्सले निकै ठूलो अन्तरले पछि पारेको हो। ब्लुमबर्गको गणनाअनुसार बजारमा सेयरको मूल्य अकासिएपछि कम्पनीको कुल बजार मूल्यांकन करिब २.२ ट्रिलियन डलर पुगेको छ, जसका कारण मस्कको व्यक्तिगत सम्पत्ति इतिहासमै पहिलोपटक यो विन्दुमा पुगेको हो।
यद्यपि, यो सम्पत्ति मस्कको बैंक खाताको नगद नभएर स्पेशएक्स र इलेक्ट्रिक कार कम्पनी टेस्लामा रहेको उनको सेयर हिस्साको मूल्यांकन हो। कानुनी प्रावधानअनुसार मस्कले आगामी ३ सय ६६ दिनसम्म आफ्नो यो सेयर बिक्री गर्न पाउने छैनन्।
प्रतिक्रिया दिनुहोस !