कसले जित्ला विश्वकप ?
काठमाडौं : यस पटकको फिफा विश्वकप फुटबल कसले जित्ला ? अहिले विश्वभरका फुटबल समर्थकले चासोका साथ आफैलाई सबैभन्दा बढि सोध्ने प्रश्न हो, यो। किनकी प्रत्येक चार वर्षमा हुने विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता बिहीबार रातिबाट मेक्सिको, क्यानडा र अमेरिकामा एकसाथ सुरु भएको छ।
विगतको तुलनामा प्रतियोगिताको आकार डेढ गुणा बढेको छ। ३२ बाट सहभागी टोलीको संख्या ४८ पुग्दा कतिपय प्रतिस्पर्धीको विषयमा धेरै समर्थकलाई जानकारी पनि नहुन सक्छ। फेरि फुटबल त्यस्तो खेल हो, जहाँ जस्तोसुकै साना टिमले पनि ९० मिनेटको प्रतिस्पर्धामा ठूला महारथीलाई मात दिन सक्छ।
विश्वकपकै इतिहास राम्ररी नियाल्ने हो भने पनि त्यस्ता नतिजा थुप्रै पाइन्छन्। चार पटकको च्याम्पियन इटाली अन्तर्राष्ट्रिय फुटबलमा नियमित रुपमा उच्च प्रदर्शन गर्नाका बाबजुद लगातार तेस्रो पटक विश्वकपका लागि छनोट हुन सकेन।
सन् १९९८ को च्याम्पियन फ्रान्सको स्टार खेलाडीले भरिपूर्ण टिमलाई २००२ को उद्घाटन खेलमै अफ्रिकाको सानो टोली सेनेगलले स्तब्ध पारेको पनि धेरैको स्मरणबाट हराइसकेको छैन। चार वर्षअघि कतारमा फ्रान्सलाई सनसनीपूर्ण फाइनलमा टाइब्रेकरमा हराउँदै अर्जेन्टिनाले उपाधि जित्यो। तर, त्यही संस्करणको पहिलो खेलमा लियोनल मेसीको अर्जेन्टिना साउदी अरबसँग स्तब्ध भएको थियो। फुटबल अनुमान गर्न कठिन खेल हो भन्नका लागि यी केही उदाहरण मात्र हुन्। यस्ता उदाहरण विश्व फुटबलमा अरु पनि थुप्रै छन्।
यसो भनिरहँदा पनि खेलकुदमा इतिहास र तथ्यांकहरूका आधारमा पूर्वानुमान लगाइन्छ। संयोगहरूको लेखाजोखा गरिन्छ। त्यस्तै संयोग केलाएर अनुमान लगाउँदा यसपाली प्रतियोगिता सुरु हुनुभन्दा पहिला नै ३० वटा टिमले उपाधि जित्दैनन् भन्ने पूर्वानुमान अहिले नै लगाउन थालिएको छ।
धेरैको अनुमानमा पाँच पटकको पूर्वविजेता ब्राजिल सम्भावित विजेताको सूचिमा हुन सक्छ। व्यावसायिक फुटबलको राजधानी मानिने इङ्ल्यान्डले जित्नेमा पनि धेरै समर्थक ढुक्क होलान। अनि क्रिस्टियानो रोनाल्डोको पोर्चुगलको पक्षमा कसले अनुमान नगर्ला ?
तर, विश्वकपकै पुरानो इतिहास हेर्ने हो भने एउटा यस्तो संयोग देखिन्छ, जसले ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलजस्ता महारथीसँगै ३० टिमले विश्वकप जित्ने सम्भावनालाई सोझै नकार्छ। यसको मूल कारण र तथ्यहरूको संयोग हो, इतिहासमा अहिलेसम्म भएका विश्वकपका २२ संस्करणमा कहिल्यै पनि विदेशी प्रशिक्षकले उपाधि जित्न सकेका छैनन्। यसपटक ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलसहित ३० टोली विदेशी प्रशिक्षकको नेतृत्वमा उत्तर अमेरिकाको मैदानमा उत्रिँदै छन्।
इतिहासमा अहिलेसम्म ब्राजिलले सबभन्दा धेरै ५ पटक विश्वकप जितेको छ भने इटाली र जर्मनीको नाममा समान ४ उपाधि छन्। अर्जेन्टिनाले ३ पटक उपाधि जित्दा उरुग्वे र फ्रान्स समान २ पटक च्याम्पियन भएका छन्। यसैगरी इङ्ल्यान्ड र स्पेनले १÷१ पटक उपाधि जितेको इतिहास छ। विगतका २२ विश्वकपको इतिहासमा एउटा गज्जबको संयोग चाहिँ प्रत्येक टिमले उपाधि जित्दा आफ्नै देशका प्रशिक्षकको नेतृत्वमा मैदान उत्रिएका छन्। पहिलो विश्वकप जित्दा उरुग्वेले आफ्नै देशका अल्बर्टो सुपिचीको नेतृत्वमा खेलेको थियो भने दोस्रो पटक टोली १९५० मा च्याम्पियन हुँदा पनि उरुग्वेको टोली त्यही देशका हुँवा लोपेज फोन्टाको नेतृत्वमा थियो। ब्राजिलले ५ पटक उपाधि जित्दा ५ जना फरक प्रशिक्षक प्रयोग गरेको थियो। ब्राजिललाई १९५८ मा पहिलो उपाधि भिसेन्टे फिओलाले जिताएका थिए भने लगत्तै चार वर्षपछि आइमोरे मोरेइराले उपाधि रक्षा अभियानको सफल नेतृत्व गरेका थिए। तेस्रो पटक ब्राजिलले १९७० मा उपाधि जित्दा मारियो जागालो टचलाइनमा थिए। त्यस्तै सन् १९९४ मा चौथो पटक कार्लोस अल्बर्टो परेरा तथा २००२ मा लुइस फिलिप स्कोलारी विश्वकप च्याम्पियन ब्राजिली टिमको प्रशिक्षक थिए।
जर्मनीका लागि पनि चार फरक जर्मन प्रशिक्षकले विश्वकप जितेका छन्। सन् १९५४ मा पहिलो पटक उपाधि जित्दा टोलीको नेतृत्वमा सेप हेर्बेगर थिए भने १९७४ मा हेल्मुट स्कुन, १९९० मा फ्रान्ज बेकेनबाउर र पछिल्लो पटक सन् २०१४ मा जोचिम लोउले टोलीको बागडोर सम्हालेका थिए। इटालीलाई सन् १९३४ र १९३८ मा लगातार दुई पटक भिट्टोरी पोजोले उपाधि जिताए भने १९८२ मा तेस्रो पटक च्याम्पियन हुँदा पनि टोलीसँग आफ्नै देशका प्रशिक्षक इन्जो बियाजोर्टको नेतृत्व थियो। पछिल्लो पटक सन् २००६ मा च्याम्पियन हुँदा इटालीको टोली मार्सेलो लिप्पीको नेतृत्मा थियो। यसपाली इटालीको टिम नभए पनि तीन प्रशिक्षक अरु देशको टिमको नेतृत्व गरेर विश्वकपमा पुगेका छन्। साविक विजेता अर्जेन्टिनालाई चार वर्षअघि कतारमा लियोनेल स्कालोनीले उपाधि जिताएका थिए। टोलीले सन् १९७८ मा सिजर लुइस मोनोट्टी तथा १९८६ मा कार्लोस बिलार्डोको नेतृत्वमा उपाधि जितेको थियो। दुवै अर्जेन्टिनी प्रशिक्षक हुन्। अर्जेन्टिना यसपाली पनि चार वर्षअघि झै स्कालोनीकै नेतृत्वमा विश्वकपको मैदानमा प्रस्तुत हुने तयारीमा छ।
फ्रान्सले १९९८ मा पहिलो पटक एएम ज्याकेट तथा सन् २०१८ मा डिडियर डेसच्याम्पसको नेतृत्वमा उपाधि जितेको थियो। यसपाली पनि फ्रान्सेली टोली डेसच्याम्पसकै नेतृत्वमा अमेरिका पुगेको छ। इङ्ल्यान्ड १९६६ मा च्याम्पियन हुँदा इङ्ल्यान्डकै एइफ रामसे तथा स्पेनले २०१० मा बाजी मार्दा स्पेनकै भिसेन्टे डेल बोस्की प्रशिक्षकको जिम्मेवारीमा थिए।
प्रशिक्षकको ऐतिहासिक संयोग मान्ने हो भने ब्राजिल, इङ्ल्यान्ड र पोर्चुगलसँगै विदेशी प्रशिक्षक राखेका कारण विश्वकप जित्न नसक्ने टिमको संख्या ३० छ। ब्राजिलको टिम यसपाली इटालियन प्रशिक्षक कार्लो एन्सेलोट्टीको नेतृत्वमा मैदान उत्रिँदैछ भने इङ्ल्यान्डको टिमलाई जर्मन प्रशिक्षक थोमस टचेल र पोर्चुगललाई स्पेनिस प्रशिक्षक रोबर्टो मार्टिनेजले मैदान उतार्नेछन्।
यस्तै अल्जेरिया, ट्युनिसिया, पानामा, इराक, घाना, दक्षिण अफ्रिका, जोर्डन, कतार, साउदी अरेबिया, उज्वेकिस्तान र कंगोका पनि विदेश प्रशिक्षक छन्। यस्तै त्यो तथ्यांक अनुसार आइभोरी कोष्ट, मोरक्को, क्यानाडा, अमेरिका, कुराकाओ, हाइटी, कोलम्बिया, इक्वेडर, पराग्वे, उरुग्वे, न्युजिल्यान्ड, अस्ट्रिया, बेल्जियम, क्रोएसिया, टर्की र स्विडेन कसैले पनि उपाधि जित्ने छैनन्। विदेशी प्रशिक्षक राख्ने ३० टिमले नजिते बाँकी रहेका १८ मध्ये कसैले विश्वकप जित्न सक्नेछन्। यसपाली आफ्नै देशका प्रशिक्षकसहित प्रतिस्पर्धामा उत्रिने तयारीमा रहेका स्पेन, जर्मनी, अर्जेन्टिना, फ्रान्स, नेदरल्यान्ड्स र स्विट्जरल्यान्ड्स विश्वकपका सम्भावित दाबेदार हुन्। यसैगरी दक्षिण कोरिया, जापान, इरान, अस्ट्रेलिया, सेनेगल, केप भेर्डे, इजिप्ट, मेक्सिको, बोस्निया हर्जगोभिना, चेक गणतन्त्र, नर्वे र स्क्टल्यान्ड पनि आफ्नै देशका प्रशिक्षकका साथ विश्वकप खेल्दैछन्।
प्रतिक्रिया दिनुहोस !