थाइल्यान्डसँग पराजित हुँदा नेपाल एसिया कपमा छनोट हुन असफल
काठमाडौं : नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसिया कपमा छनोट हुन असफल भएको छ । एसिसी महिला प्रिमियर कप अन्तर्गत बुधबार मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा भएको क्वार्टर फाइनल खेलमा थाइल्यान्डसँग ५६ रनले पराजित भएको हो । यो खेलमा थाइल्याण्डसँग पराजित हुँदा नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १३० रन बनाएको थियो । थाइल्यान्डले दिएको १३१ रनको विजयी लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७४ रन मात्रै जोड्न सक्यो । नेपालको लागि ब्याटिङतर्फ रुबिना क्षेत्रीले २० रनको अविजित पारी खेलिन् । यो नै नेपालको लागि सर्वाधिक रन रहन पुग्यो ।
ओपनर ब्याटर सम्झना खड्काले १२ रन सोनी पाख्रिनले १५ रन बनाउँदा सीता रानामगर १२ रनमा अविजित रहिन् । थाइल्यान्डको लागि बलिङतर्फ थिपात्चा पुथावोङ, सुनिता चातुरोङराथाना र सुलीपोन लाओमीले२–२ विकेट लिए। पानिथा मायाले १ विकेट लिइन् । त्यसअघि, ब्याटिङ गरेको थाइल्यान्डको लागि नानपात कोनचारोएकैले सर्वाधिक ६२ रनको पारी खेलिन् । उनले ५१ बलमा ६ चौका प्रहार गरिन् ।
ओपनर ब्याटर पानिथा मायाले २६ रन बनाइन् । चानिदा सुथ्थिरुआङले १६ रन बनाइन् । नेपालका लागि बलिङतर्फ कविता कुँवर, रिया शर्मा र रुबिना क्षेत्रीले १–१ विकेट लिए । नेपाल समूह ‘डी’ मा रहेर उपविजेताको रूपमा क्वार्टर फाइनल खेलेको थियो । एसिया कप पुग्नको लागि सेमीफाइनलमा स्थान बनाउनु जरुरी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस !