यसरी सुरु भयो फुटबलको महाकुम्भ
विश्वकै सर्वाधिक लोकप्रिय खेल हो, फुटबल। यो खेलको वर्तमान जति गौरवशाली छ, यसको इतिहास त्यति नै विवादित र संघर्षपूर्ण पनि छ। आजको अवस्थासम्म आइपुग्न फुटबल खेलले आफ्ना सुरुवाती दिनहरूमा निकै ठूलो संघर्ष गर्नुपरेको इतिहास छ। यो खेल प्राचीन ग्रिकमा पनि खेल्ने गरिन्थ्यो। त्यतिबेला बाँस, फाइबर र विभिन्न किसिमका घाँसपात प्रयोग गरेर बल बनाएर फुटबल खेल्ने गरिएको इतिहास पाइन्छ।
प्राचीन समयमा युद्धमा पराजित हुने शत्रुहरूको टाउको काटेर सिपाहीहरूले त्यसलाई बलका रूपमा प्रयोग गर्ने गरेको इतिहास पनि छ। यसरी पराजित शत्रुको टाउकाको फुटबल खेलेर सिपाहीहरू युद्धका क्रममा आफूले भोग्नु परेको दुःख र आक्रोशलाई कम गर्ने प्रयास गर्थे। तर, कालान्तरमा यो निकै क्रूर र अमानवीय शैली भएकाले यसमा प्रतिबन्ध लगाइएको थियो।
इङ्ल्यान्डका तत्कालीन राजा हेनरी द्वितीय र हेनरी छैटौंले त आफ्ना सैनिकहरूमाझ बढ्दो फुटबलको लोकप्रियता देखेर यो खेलमाथि प्रतिबन्ध नै लगाएका थिए। फुटबल खेलप्रतिको बढ्दो आशक्तिका कारण सैनिकहरूले युद्धमा आवश्यक पर्ने धुनषवाण कलालाई नै बेवास्ता गर्न थालेपछि यो खेलमाथि प्रतिबन्ध लगाइएको थियो। यद्यपि प्रतिबन्ध लगाउने निर्णयलेसमेत फुटबल खेलको लोकप्रियता र विकासलाई रोक्न भने सकेन।
फुटबलको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भने सन् १८७२ मा इङ्ल्यान्ड र स्कटल्यान्डबीच आयोजना भएको थियो। त्यसअघि सन् १८६३ मै इङ्ल्यान्ड फुटबल संघ गठन भइसकेको थियो। विश्वकप फुटबल सुरु हुनुभन्दा निकै अघिदेखि ओलम्पिक खेलकुदमा समेत फुटबल खेल समावेश गरिँदै आएको थियो। विश्व फुटबल महासंघ (फिफा)को आयोजनामा पहिलो विश्वकप भने सन् १९३० को जुलाई १३ देखि ३० सम्म उरुग्वेमा आयोजना भएको थियो।
फिफाको स्थापन भने सन् १९०४ को मे २२ मै भएको थियो। त्यतिबेला उरुग्वेले स्वतन्त्रताको एक सय वर्षको विशेष कार्यक्रम मनाइरहेकाले पनि फिफाले पहिलो विश्वकप आयोजनाको अधिकार उरुग्वेलाई नै दिएको थियो। यसैगरी सन् १९२८ को गृष्मकालीन ओलम्पिक खेलकुदमा फुटबलको उपाधि जोगाएकाले पनि उरुग्वे पहिलो विश्वकप आयोजनाको हकदार बनेको थियो।
विश्वकप फुटबल आयोजना गर्न फिफाका तत्कालीन अध्यक्ष जुल्स रिमेटको महत्वपूर्ण भूमिका छ। उनकै विशेष पहलमा सन् १९३० देखि यो प्रतियोगिता सुरु भएको हो। विश्वकपको पहिलो संस्करणमा १३ राष्ट्रको मात्र सहभागिता थियो। पहिलो संस्करणका सहभागी टोलीले छनोट चरणमा पार नगरी सिधै प्रतियोगितामा सहभागिता जनाएका थिए।
पहिलो विश्वकपका सम्पूर्ण खेल मोन्टेभिडियोमा निर्माण गरिएका तीन वटा रंगशालामा खेलाइएको थियो। प्रतियोगितामा सहभागी १३ मध्ये सातवटा दक्षिण अमेरिका, चारवटा युरोप र दुईवटा उत्तर अमेरिकाका थिए। प्रतियोगिता सुरु हुनुभन्दा दुई महिना अघिसम्म पनि युरोपेली राष्ट्रले आफ्नो सहभागिता पक्का गरेका थिएनन्। दक्षिण अमेरिकी राष्ट्र उरुग्वे पुग्न अप्ठ्यारो रहेकाले पनि युरोपेली राष्ट्रले उदासिनता देखाएका थिए।
पहिलो संस्करणमा आयोजक उरुग्वेसँगै अर्जेन्टिना, ब्राजिल, बोलिभिया, चिली, पराग्वे, पेरु, अमेरिका, मेक्सिको, बेल्जियम, फ्रान्स, रोमानिया र युगोस्लाभियाले सहभागिता जनाएका थिए। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको थियो। पहिलो समूहमा चार र अन्य तीन समूहमा तीन/तीन टोली सहभागी थिए। राउन्ड रोविन लिग चरणको समाप्तिपछि चारवटै समूहका विजेता सेमिफाइनलमा पुग्ने प्रावधान राखिएको थियो। त्यतिबेला लिग चरणमा प्रत्येक जितको दुई र बराबरीको एक÷एक अंक प्रदान गरिन्थ्यो।
प्रतियोगितामा उरुग्वे, अर्जेन्टिना, ब्राजिल र अमेरिकालाई वरीयता प्रदान गरेर छुट्टाछुट्टै समूहमा राखिएको थियो। सेमिफाइनलमा अर्जेन्टिनाले अमेरिकालाई ६—१ र उरुग्वेले युगोस्लाभियालाई पनि ६—१ गोलले नै हराउँदै फाइनलमा स्थान बनाएका थिए। प्रतियोगिताको फाइनलमा भने आयोजक उरुग्वेले अर्जेन्टिनालाई ४—२ गोलले हराउँदै पहिलो संस्करणको उपाधि चुमेको थियो। प्रतियोगिताको फाइनल खेल ६८ हजारभन्दा बढी दर्शकमाझ खेलिएको थियो। प्रतियोगितामा तेस्रो स्थानका लागि खेल नखेलाइए पनि पुरस्कार वितरण समारोहमा भने अमेरिकाका कप्तान टम फ्लोरी र युगोस्लाभियाका कप्तान मिलुतिन इभकोभिचलाई कांस्य पदक प्रदान गरिएको थियो।
लाउरेन्टको त्यो गोल
विश्वकप फुटबलको इतिहासमा पहिलो गोल गर्ने खेलाडी हुन्, फ्रान्सका लुसियन लाउरेन्ट। सन् १९०७ को डिसेम्बर १० मा जन्मिएका लाउरेन्टले सन् १९३० मा भएको पहिलो विश्वकपको मेक्सिकोविरुद्घको पहिलो खेलको १९औं मिनेटमै गोल गर्दै कीर्तिमान रचेका थिए। यद्यपि उक्त विश्वकपमा एउटै समयमा फ्रान्स र मेक्सिको तथा अमेरिका र बेल्जियमबीच उद्घाटन खेल खेलाइएको थियो।
अर्को खेलमा अमेरिकाका बार्ट म्याकघीले २३औं मिनेटमा मात्र गोल गर्न सकेकाले उनी विश्वकपको इतिहासमा गोल गर्ने दोस्रो खेलाडी बन्न पुगे। विश्वकप फुटबलको इतिहासमा एउटै खेलमा दुई गोल गर्ने पहिलो खेलाडी पनि फ्रान्सकै आन्द्रे मास्चिनट हुन्। उनले मेक्सिकोविरुद्घको खेलको ४३औं र ८७औं मिनेटमा गोल गरेका थिए। विश्वकपमा पहिलो गोल गर्ने खेलाडी लाउरेन्टको सन् २००५ को अप्रिल ११ मा ९७ वर्षको उमेरमा निधन भएको थियो।
पहिलो विश्वकपको पहिलो र दोस्रो खेल खेले पनि घाइते भएका कारण उनले तेस्रो खेल भने खेल्न सकेका थिएनन्। घाइते भएकै कारण उनले सन् १९३४ को विश्वकप पनि खेल्न सकेनन्। अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्न्यास लिनुअघि उनले फ्रान्सका लागि केवल १० खेल खेलेर दुई गोल गरेका थिए। उनले विभिन्न क्लबबाट व्यावसायिक फुटबल पनि खेलेका थिए। दोस्रो विश्वयुद्धको समयमा उनी सेनामा पनि भर्ना भए। विश्वयुद्धका क्रममा जर्मन सेनाले उनलाई तीन वर्ष बन्दी बनाएका थिए।
जसको पहलमा सुरु भयो विश्वकप
विश्व फुटबल महासंघ (फिफा)का तेस्रो अध्यक्ष हुन्, जुल्स रिमेट। उनी सबैभन्दा लामो समयसम्म फिफाका अध्यक्ष बनेका व्यक्ति पनि हुन्। उनले सन् १९२१ देखि सन् १९५४ सम्म फिफामा बिताएका थिए। सन् १८७३ को अक्टोबर १४ मा जन्मिएका फ्रान्सेली नागरिक रिमेट सन् १९१९ देखि सन् १९४२ सम्म फ्रान्सेली फुटबल संघको अध्यक्षको जिम्मेवारीमा पनि रहेका थिए।
विश्वकप फुटबल सुरु गर्नुमा रिमेटको महत्वपूर्ण भूमिका छ। सन् १९३० मा आफू अध्यक्ष हुँदा रिमेटले नै विश्वकप फुटबल सुरु गरेका थिए। त्यसैले पनि विश्वकप विजेतालाई दिइने ट्रफीको नाम नै ‘जुल्स रिमेट ट्रफी’ राखिएको थियो। उनले सन् १९२८ मा विश्वकप फुटबलको अवधारणा अगाडि सारेका थिए। सन् १९३० मा पहिलो विश्वकप आयोजनाको अधिकार उरुग्वेलाई दिइएपछि युरोपेली राष्ट्रहरूले असन्तुष्टिसमेत जनाएका थिए।
त्यसैले विश्वकप सुरु हुनुभन्दा दुई महिना अघिसम्म पनि युरोपेली राष्ट्रहरूले विश्वकपमा सहभागिता पक्का गरेका थिएनन्। तर, रिमेटकै अग्रसरतामा फ्रान्स, बेल्जियम, रोमानिया र युगोस्लाभियाले प्रतियोगितामा भाग लिने निर्णय गरेका थिए। फुटबलको माध्यमबाट विश्व भाइचारा र आपसी सद्भाव बढाउन महत्वपूर्ण योगदान पुर्याएका कारण रिमेटको नाम सन् १९५६ को नोबल शान्ति पुरस्कारका लागि मनोयनमा समेत परेको थियो।
सन् १९५६ को अक्टोबर १६ मा आफ्नो ८३औं जन्मदिन मनाएको दुई दिनपछि उनको निधन भएको थियो। उनलाई मरणोपरान्त सन् २००४ मा फिफाले ‘फिफा अर्डर अफ मेरिट’समेत प्रदान गरेको थियो।
प्रतिक्रिया दिनुहोस !