पुँजी निर्माण गर्न र लगानी बढाउन निजी क्षेत्रको मनोबल बढ्ने छ : हान
बजेटप्रति निजी क्षेत्र सकारात्मक
काठमाडौं : सार्वजनिक भएको २०८३/०८४ को राष्ट्रिय बजेटमा प्रस्तुत गरिएको पर्यटन विकासका अवधारणा, कार्यक्रम र बजेटप्रति होटल संघ नेपाल (हान)ले सन्तोष व्यक्त गर्दै यी घोषित कार्यक्रमहरूको कार्यान्वयनमा विशेष जोड दिन सरकारलाई आह्वान गरेको छ।
संघले निजी क्षेत्रलाई प्रमुख विकास साझेदारका रूपमा सहकार्य गर्ने बजेटको घोषणाले वर्तमान शिथिल व्यावसायिक गतिविधि बढाउन पुँजी निर्माण र लगानीमा निजी क्षेत्रको अग्रसरता बढ्ने जनाइएको छ। नयाँ बजेटले घोषणा गरेको २०८५ नेपाल भ्रमण वर्ष, आरोग्यलाई ब्रान्डिङ गरी मनाइने ०२७ आरोग्य वर्ष, पर्यटकीय गन्तव्य विकास गर्न निर्वाणपथ, कोशी कोरिडोर, पर्यटकीय चतुर्दिक क्षेत्र विकासलगायत डाँफे, सालिग्राम, मध्यपहाडीजस्ता नयाँ गन्तव्य क्षेत्रहरू, हिलस्टेसन विकास, ग्रेट हिमालयन ट्रेल, मनाङ र मुस्ताङका गुम्बा संरक्षण, प्रादेशिक पर्यटकीय कोरिडोर विकास गर्ने लगायतका उल्लिखित कार्यक्रमहरू तथा गतिविधिजस्ता बजेटको नवीन अवधारणाबाट पर्यटकहरूको संख्या, बसाइ र खर्च बढाउन सघाउ पुग्ने संघले जनाएको छ।
देशका स्तरीय होटल तथा रिसोर्टहरूको वर्तमान क्षमताको झन्डै एकतिहाइ मात्र उपयोग (अकुपेन्सी) रहेको वर्तमान कठिन अवस्थामा वर्षौंदेखि सञ्चालनमा ल्याउन नसकिएको भैरहवा, पोखराका क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा निजी क्षेत्रसँगको सहकार्य, नेपाल एयरलाइन्सलाई कम्पनी मोडेलमा सञ्चालन, युरोपियन युनियनको कालोसूचीबाट हट्ने प्रयास, पर्यटकहरूलाई सीमा नाका प्रवेश सहजीकरण जस्ता क्रियाकलापबाट पर्यटकहरूको संख्या बढ्ने संघले विश्वास लिएको छ।
जनकपुरलाई विवाह गन्तव्यका रूपमा विकास गरी थप नयाँ पर्यटकीय गन्तव्य तथा गतिविधि बढाउने बजेटमा उल्लिखित समस्त कार्यक्रमहरूका साथै बृहत्तर लुम्बिनीलगायत धेरै क्षेत्रहरू विकास, गण्डकी माउन्टेन वाइक, हिमालको बजारीकरण जस्ता बजेटको घोषणा सराहनीय रहेको संघले जनाएको छ।
निश्चित कार्यक्रम नै तोकेर गरिने पर्यटन प्रवर्धनमा गैरआवासीय नेपालीसँगको सहकार्य गर्ने बजेटको अवधारणाको स्वागत गर्दै होटल संघ नेपालले प्रविधि, एआई, नवप्रवर्तनलगायत पर्यटन क्षेत्रमा स्थिर बैंक ब्याजदर, दक्ष जनशक्ति आपूर्तिका अतिरिक्त सुशासन तथा भ्रष्टाचार निर्मूलीकरणतर्फ दिएको जोडले पर्यटन व्यवसाय सञ्चालन र लागत खर्च घटाउन सहयोग हुने जनाएको छ।
कृषि, वन, स्वास्थ्य, शिक्षा, खेलकुद, पर्यावरण, सामाजिक विकासलगायत राष्ट्रिय कार्यक्रमहरूमा समेत पर्यटन विकासको गतिविधिहरू जोड्ने प्रयास बजेटको सकारात्मक पक्ष रहेको र यसबाट प्रदेश, स्थानीय निकाय तथा जनस्तरसम्म पर्यटन विकासका गतिविधि बढाई आर्थिक समृद्धि गाउँस्तरसम्म पुराउन बजेटको अवधारणा सकारात्मक रहेको होटल संघ नेपालले जनाएको छ।
होटलहरूको भान्छामा खाना बनाउने प्रक्रिया क्रमशः ग्यासबाट बिजुलीमा रूपान्तरण हुँदै गरेको भए तापनि विद्युत् उपभोगमा हालसम्म पनि उद्योगले पाउने कुनै छुट नपाइएको अवस्थामा बजेटले घोषणा गरेको बिजुलीमा भ्याट लागेमा नेपाली होटल उद्योगको सञ्चालन खर्च बढेर अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आउने हुँदा यो विषयमा सरकारबाट पुनर्विचार गर्न होटल संघ नेपालले माग गरेको छ।
निजामती कर्मचारीको बढेको बेतनमान र हप्ताको दुई दिने बिदाले आन्तरिक पर्यटन तथा पहिले घोषित निजामती देश दर्शन कार्यक्रम सुचारु गर्न तथा सरकारी सभा सम्मेलनलगायत कार्यक्रमहरू होटल रिसोर्टमा गर्न लगाइएको बन्देज खुला गर्न पनि होटल संघ नेपालले माग गरेको छ।
स्थानीय कृषि उपज तथा साना घरेलु उत्पादनहरूको खपत बढाउन करका दर र दायरा घटाउँदा आतिथ्य उद्योगबाटै उल्लेखनीय रूपमा खपत बढ्ने पनि संघले जनाएको छ। बजेटमा घोषणा हुने कार्यक्रम तथा बजेटको कुन हदसम्म कार्यान्वयन भयो भन्ने समयाबद्ध लेखाजोखा गर्ने परिपाटी सत्तारूढ शक्तिशाली सरकारको पहिलो बजेटबाटै प्रारम्भ हुन पनि होटल संघ नेपालले आह्वान गरेको छ।
प्रतिक्रिया दिनुहोस !