अर्थमन्त्रीको दावी : करको दर सच्याइएको कुरा कर्मचारीबाट समावेश हुन छुटेछ
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर विवादमा कर्मचारीको कमजोरी औंल्याएका छन् । उनले कर्मचारीको कमजोरीका कारण केही छुट हुन पुगेको दावी गरेका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको विहीबारको बैठकमा बोल्दै उनले त्रुटि हुन पुगेको बताएका छन् । १५ गते संसदमा पेश गरेको आर्थिक विधेयकमा रहेकोमा एक ठाउँमा करका दर हेरफेर भएको र एक ठाउँमा शुल्क हेरफेर गरिएको पनि उनले स्वीकार गरे ।
अर्थमन्त्री वाग्लेले सांसदहरुले प्राप्त गरेको करसम्बन्धी प्रतिवेदनमा एक पाना आफूले सच्याएको बताउँदै सच्याएको कुरा आउनु पर्ने बताए । उनले जुन कुरा आफूले लेखेर दिएपछि मात्र दुनियाँले थाहा पाएको बताए । उनले कर्मचारीको कमजोरी औंल्याउँदै भने, ‘पिजन होलमा सच्याएको कुरा आउनु पथ्र्यो आएनछ ।’ उनले कर्मचारीले काम गर्ने क्रममा सच्याएको कुरा छुटाएको भए पनि आफू अर्थमन्त्री भएको हैसियतले कर्मचारीको कमजोरीको अपनत्व लिने समेत बताए ।
उनले भने, ‘१५ गते विहान धेरै कर्मचारी साथीहरु सुत्नु पनि भएको थिएन, विहान ४–५ बजेसम्म अर्थ विधेयक (पुस्तिका) को तयारीका लागि जुटिरहनु भएको थियो । १६ गते विदा भयो १७ गते हतार हतारमा काम गर्दा केहि सामान्य त्रुटीहरु भएको पत्ता लागेपछि उहाँहरु मकहाँ आउनु भयो, कर्मचारीहरुले आफैले पत्ता लगाएर मन्त्रीकहाँ आउनु भयो ।’ अर्थमन्त्री वाग्लेले भने, ‘मन्त्री ज्यू केहि त्रुटीहरु भएका रहेछन् यसलाई सच्याउ ।’
पहिला प्रचलन छ भनेर आफूले सोधेको र छ भन्ने उत्तर पाएको बताउँदै अर्थमन्त्री वाग्ले अघिल्लो वर्ष ७३ वटामा रेट नै परिवर्तन गरिएको बताए । यस पटकको प्रकृति भने रेट चाँहि एउटा मात्रै भए पनि तीन–चार विषय अलि अस्पष्ट भएको बताए । शिक्षामा गरिएको खर्चलाई करकट्टी गर्ने कुरा वहसमा आएको तर आर्थिक विधेयकको प्रतिवेदनमा नखाएको यो राखौं रामै कुरा हो भनेर केहि कुरा सच्याइएको उनले बताए । अन्त शुल्क तिरिसकेका तर, परिवर्तित स्वरुपमा फेरि कर लगाउने ? भन्ने विषय अलि अस्पष्टता होला यसलाई स्पष्ट गरौं भनेर सामान्य सच्याइएको बताए ।
बैठकमा अर्थमन्त्री वाग्लेले संसदमा आफूले जानकारी गराएका एक–दुई दिनपछि पत्रकारहरुले ‘अर्थमन्त्रीले कुटुकुटी करको दर फेरिरहेको, अपलोड गरिरहेको छ, डाउनलोड गरिरहेको छ भनेर’ अतिरञ्जना, अफवाह फैलाइएको आरोप लगाए । अर्थमन्त्री वाग्लेले रगत र भ्याक्सिन बोक्ने क्यारिअरको भन्सार दर परिमार्जन जुन सामान्य त्रुटी रहेको बताउँदै उनले शिक्षामा करकट्ट, भ्याट, अन्तशुल्क दोहोरिने यी सामान्य कुरा भएको बताए। १६ पाना गायव भन्ने कुरा हिजो आएको बताउँदै यसका बारेमा आफूले हिजै बताइसकेको पनि अर्थमन्त्री वाग्लेले बताएका छन् ।
करको विषयमा सांसदहरुले मुख्य गरी कन्टेन्ट परिवर्तन भएको छ कि छैन भन्ने हेर्नुपर्ने बताए । उनले प्रश्न गरे, ‘तपाईहरुको हातमा परेपछि यो पुस्तिका चेञ्ज भएको छ कि छैन ?’ उनले पुस्तिकामा एउटा थोप्लो, पूर्ण बिराम पनि परिवर्तन नभएको दावी गरेका छन् । उनले भाइरल हुने रहरले जथाभावी बोल्ने, जथाभावी लाञ्छना लगाउने सांसदको ओझ र संसदको गरिमा स्खलित हुने समेत बताए ।
रातारात बसेको छ, करको दर हेरफेर गरेको छ भन्ने कुरा विशुद्ध लाञ्छना भएको समेत अर्थमन्त्री वाग्लेले बताए । जेठ १३ र १४ मा गाडीहरु आएको र रेकर्ड भएको र कुन प्रकृतिको गाडीमा कति कर लगाउने भन्ने कुरा जेठ १५ गते फाइनल भएको समेत दावी गरे । उनले प्रश्न गरे, ‘अर्थमन्त्रीले खुसुखुसु टेलिफोन गरेर कर बढ्दै छ गाडी पास गर भन्या हो ?’ उनले भने, ‘भनेको भए त घाटा लाग्ने रहेछ त कर त घटेको थियो ।’
अर्थमन्त्री वाग्लेले ५० लाख भन्दा मुनिको इन्ट्रीमा कर घटाई दिएको भन्दै उनीहरु मारमा परेको बताए । प्रथम दृष्टिमै आरोप खण्डित हुने कुरालाई कति टाढा लान खोजेको भन्दै अर्थमन्त्रीले बैठकमा प्रश्न गरेका छन् । उनले भने, ‘दुई अर्ब होइन, मैले दुई रुपैंयाँ मात्र बदमासी गरेको रहेछ भने अर्थमन्त्री, सांसद मात्र होइन सार्वजनिक जीवन नै त्याग गर्न तयार छु, मेरो चुनौति भो ।’ उनले यो तहको नैतिक त्याग र नैतिक उचाई र आँट राख्न उनले सांसदहरुलाई समेत आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस !